निकिताले दिएको उजुरी काठमाडौं प्रहरीले लिन मानेन



काठमाडौं । रवि लामिछानेकी पत्नी निकिता पौडेलले दिएको जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता गर्न अस्वीकार गरेको छ ।

लामिछानेलाई फसाउँने नियतले भिडियो तथा विद्युतीय सामग्री किर्ते गर्ने विरुद्ध जाहेरी दिन गएकी पौडेललाई प्रहरीले जाहेरीका लागि चितवन जान सुझाव दिएको हो ।

किर्तेको उजुरी लिएर पुगेकी पौडेलसहितको टोलीले धैरै समय प्रहरीलाई जाहेरी लिन आग्रह गरेको थियो । तर घटना, भिडियो, आरोपीहरूमाथि चितवन प्रहरीले नै छानबिन गरिरहेकाले निकिताको जाहेरी काठमाडौंबाट हेर्न नमिल्ने भएकाले उतै जान सुझाव दिएको प्रहरीले जनाएको छ ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा सार्वजनिक भएको भिडियो किर्ते गरेको आरोपमा तीन जनाविरूद्ध प्रहरीमा जाहेरी लिएर उनी काठमाडौं परिसर गएकी थिइन् ।

पौडेलले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरूद्ध जाहेरी दिएकी थिइन् ।

काठमाडौं प्रहरीले जाहेरी लिन नमानेपछि लामिछाने पत्नी पौडेलसहितको टोली त्यसै फर्किएको छ ।

पुडासैनी आत्महत्या प्रकरणमा लामिछानेसहित तीन जनाविरुद्ध चितवन प्रहरीले आत्महत्या दुरूत्साहन मुद्दामा अनुसन्धान गरिरहेको छ ।

पुडासैनीले गत साउन २० गते भरतपुरस्थित एक होटलमा आत्महत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्