अमेरिकाद्वारा क्रुज क्षेप्यास्त्र प्रक्षेपण



वासिंगटन, (एजेन्सी)। रसियासँग आणविक क्षमताको हतियारमाथि प्रतिबन्ध लागाइएको ऐतिहासिक समझौताबाट केही साताअघि मात्र अलगिएको संयुक्त राज्य अमेरिकाले मध्यम दूरीको क्रुज क्षेप्यास्त्र परीक्षण गरेको छ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आइतबार क्यालिफोर्नियाको समुद्रीतटबाट सफलतापूर्वक सो क्षेप्यास्त्र प्रक्षेपण गरिएको जनाएको छ। यस कदमलाई लिएर मस्कोले भने अमेरिकाले सैनिक तनाव चर्काउन खोजेको आरोप लगाएको छ।

रसियाले मध्यम दुरीको आणविक फौज (आईएनएफ) सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै गत २ अगस्टमा अमेरिकाले सो सम्झौता त्यागेको घोषणा गरेको थियो तर रसियाले भने अमेरिकाको आरोप अस्विकार गर्दै आएको छ।

अन्तर्राष्ट्रिय राजनीतिक विशलेषकले आईएनएफ धरासायी भएकाले अब विश्वमा पुन हातहतियार प्रतिस्पर्धा हुन सक्ने आशंका व्यक्त गरेका छन्। उक्त शित युद्धकालीन सम्झौताले ५ सयदेखि ५ हजार ५ सय किमि दुरीका क्षेप्यास्त्रमाथि प्रतिबन्ध लगाएको थियो तर पेन्टागनले अमेरिकी नौसैनिकको नियन्त्रणमा रहेको लस एन्जेल्सको सान निकोलस टापुबाट प्रक्षेपण गरिएको यो क्षेप्यास्त्र आणविक जडित नभएको स्पष्ट पारेको छ।

अमेरिकी रक्षा विभागले ग्राउन्ड मोबाइल लन्चरबाट प्रक्षेपण गरिएको यो क्षेप्यास्त्रले ५ सय किमि भन्दा लामो दुरी तय गरेर सही लक्ष्य भेदन गरेको जनाएको छ। रसियाले यस घटनाप्रति दुःख व्यक्त गरेको छ।

रुसी उप विदेशमन्त्री सर्गेइ फवकोभको भनाइलाई हवाला दिँदै रुसी सरकारी समाचार निकाय तासले अमेरिकाले स्पष्टरूपमा सैनिक नताव चर्काउन खोजेको छ। तर हामीले यसप्रति त्यसरी नै जवाफ फर्काउँदैनांै। अमेरिकाले आईएनएफ छोडेको केही समयपछि नै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त सम्झौताप्रति रसियाको जिम्मेवारी निलम्वित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्