सुरक्षा खतरा देखाउँदै सिम्रिक एयरको जहाज उडानमा रोक



नेपाल समाचारपत्र, काठमाडौ।  नागरिक उड्डययन प्राधिकरणले सिम्रिक एयरलाइन्सका जहाज उडानमा रोक लगाएको छ। जहाजमा प्रयोग गरिएका पार्टपूर्जाहरूमा खतरा देखिएपछि मंगलबारबाट नै उडानमा रोक लगाउने निर्णय गरिएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिनुभयो।

‘प्राधिकरणले नियमित रुपमा विभिन्न कम्पनीहरूको विमानको चेकजाँच गर्छ। सोही अनुरुप आइतबार र सोमबार सिम्रिक एयरलाइन्सका जहाजहरूको पार्टपूर्जा चेकजाँच गरेको थियो।’ महानिर्देशक पोखरेलले भन्नुभयो–‘चेकजाँचका क्रममा पार्टपूर्जा हवाई सुरक्षाका दृष्टिकोणले खतरापूर्ण पाइएको छ, जसका कारण सुरक्षा खतरा देखिन पुगेको छ।’

‘प्राधिकरणले स्वीकृत गरेको पार्टपूर्जा कम्पनीले प्रयोग नगरेको भेटिएकाले हामीले उडानमा रोक लगाएका हौं,’ उहाँले भन्नुभयो।  केही वर्ष अघि पनि प्राधिकरणले सिम्रिक एयरलाइन्सलाई कारबाही गरेको थियोे। पटक–पटक कारबाही गर्दा पनि सिम्रिकले जहाजहरूको गुणस्तरमा सुधार नगरेको प्राधिकरणको निश्कर्ष छ।

प्राधिकरणका महानिर्देशक पोखरेलले पटक–पटक कारबाही गरे पनि गुणस्तरमा सुधार नदेखिएपछि अहिले भने उडान नै रोक गरिएको स्पष्ट पार्नुभयो। प्राधिकरणका महानिर्देशक पोखरेलका अनुसार सिम्रिकलाई मंगलबार नै स्पष्टिकरण सोधेको छ। ‘अब के गर्ने भन्ने विषय स्पष्टिकरणको जवाफ आएपछि हुन्छ।’ उहाँले भन्नुभयो।

 

 

प्रतिक्रिया दिनुहोस्