सुदूरपश्चिममा गौरा पर्व शुरू



नेपाल समाचारपत्र, बैतडी। सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौरा मंगलबारदेखि शुरु भएको छ। पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरागौरी देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरी शिव प्राप्त भएको विश्वास गरिन्छ।

त्यहि बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनास्वरुप यो पर्व मनाउने परम्परा चल्दै आएको पण्डित दयाकृष्ण पन्तले बताउनुभएको छ। सुदूरपश्चिममा मात्रै नभएर छिमेकी देश भारतको उत्तराखण्डको कुमाउँ प्रदेशमा पनि यो पर्व धुमधामका साथ मनाउने गरिन्छ।

गौरा पर्वको पहिलो दिन महिलाहरूले निराहार रही आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा पाँचथरीका गेडागुडी भिजाई पर्वको थालनी गर्दछन्। यहाँका महिलाले गहँु, केराउ, गहत, मास र गुरुस मिसाएर तामाको भाँडामा भिजाउँछन्। यी पाँच अन्नलाई बिरुडा भनिन्छ।

गौरापर्व भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ। महिलाहरूले दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभमुर्हतमा सामूहिक रुपमा बिरुडा धुन्छन्। बिरुडा भिजाएपछि महिलाहरूले सामूहिक रूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा (मूर्ति) बनाई गौराघरमा भित्र्याउँछन्।

धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्ने गरिएको पण्डित दयाकृष्ण पन्तले बताउनुभयो। गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन्

गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःख सुख बाँड्नुका साथै माया प्रेम बाड्ने गरिन्छ। अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक आस्था, आपसी सद्भाव बढाउन मद्दत पुरेयाउने मात्र नभई यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त

हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जन–विश्वास रहिआएको छ। गौरामा एकै छिन भए पनि देउडामा रमाउन परदेशिएकाहरू पनि घरपरिवार सम्झिएर फर्किने गर्छन्।

सदा झैँ यस वर्ष पनि छिमेकी भारतका विभिन्न शहरमा मजदुरी गर्ने हजारौं सुदूरपश्चिमेली सीमावर्ती नाकाहरूबाट गौराका लागि घर फर्किएका छन्। गौरामा विवाहित चेलीहरू पनि माइत आउने चलन छ।

 

प्रतिक्रिया दिनुहोस्