शहर सुरक्षित बनाउन सीसी क्यामेराको सहारा



नेपाल समाचारपत्र, सिन्धुली। बजारको शान्ति सुरक्षालाई सुदृढ बनाउने उद्देश्यले सिन्धुलीमाढी बजार क्षेत्रमा सीसी क्यामेरा जडान गरिएको छ।

सिन्धुली जिल्ला सदरमुकामका मुख्य बजार क्षेत्र, मुुख्य सडक तथा संवेदनशील स्थान, बसपार्कका साथै सरकारी कार्यालयअगाडि सीसी क्यामेरा जडान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताउनुभयो।

सडक दुर्घटना तथा अपराधलाई न्यूनीकरण गर्न सदरमुकाम सिन्धुलीमाढी बजार क्षेत्रलाई सोमबारदेखि सीसी क्यामेराको निगरानीमा राखिएको हो। कमलामाई नगरपालिकाको १ करोड १६ लाख सहयोगमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सीसी क्यामेरा जडान गरेको हो।

कमलामाई नगरपालिकाको प्रविधियुक्त शहर निर्माण गर्ने अभियानअन्तर्गत सडकमा सोलार बत्ती तथा सीसी क्यामेरा जडान गरिएको नगरपालिकाले जनाएको छ।

‘सदरमुकामको शान्ति सुरक्षालाई मजबुद बनाउन सीसी क्यामेराको जडान गरेका छौं। सदरमुकामभित्रका विभिन्न स्थानमा २८ वटा सीसी क्यामेरा राखेर चौबीसै घन्टा निगरानीमा राखिने छ’, सिन्धुलीका प्रहरी प्रमुख सिंहले भन्नुभयो।

सीसी क्यामेराको उद्घाटन गर्दै कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले सीसी क्यामेरामार्फत आधुनिक तरिकाले अपराध अनुसन्धान गर्न प्रहरीलाई सहज हुने बताउनुभयो।

नगरप्रमुख खत्रीले सुरक्षित समाज निर्माणमा सीसी क्यामेराले मदत गर्ने भएकाले यसको जडानमा नगरपालिकाले जोड दिएको बताउनुभयो।

‘पहिलो चरणमा केही सीसी क्यामेरा राखेका छौं। प्रहरीसँग सहकार्य गरेर अन्य संवेदनशील क्षेत्रको अध्ययन गरी थप सीसी क्यामेरा जडान गर्नेछौं।’ उहाँले भन्नुभयो।

 

प्रतिक्रिया दिनुहोस्