गर्भवतीका घरमा अण्डा र झण्डा



सर्लाही, (नेस)।सर्लाहीको वरहथवा नगरपालिका–२ हजरियामा गर्भवती पहिचानको लागि घरमा हरियो झन्डा र अन्डा उपहार कार्यक्रम शुरू गरिएको छ।

बरहथवा नगरपालिका–२ को वडास्तरीय योजनाबाट गर्भवतीलाई प्रोत्साहनस्वरुप अन्डा र गर्भवती भएको घर पहिचान गर्न हरियो झन्डा राख्न शुरू गरिएको वडाध्यक्ष यज्ञबहादुर खड्काले जानकारी दिनुभयो।

बरहथवा नगरपालिका,–२ ले कार्यक्रम शुरू गरेको पहिलो दिनमै ३० जना गर्भवती महिलालाई नगरपालिकाका उप–प्रमुख सीतादेवी माझीले झन्डासँगै अन्डा हस्तान्तरण गर्नुभएको छ। स्वास्थ्य संस्थाबाट गर्भवती भएको र नियमित गर्भपरिक्षण गराएको कार्ड लिएर वडा कार्यालयमा आएपछि सुत्केरी नहुन्जेल अन्डा उपलब्ध गराउँदै जाने वडा कार्यालयले जनाएको छ।

नगर प्रमुख देवानन्द महतोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुरेश राउत, स्वास्थ्य शाखा प्रमुख रामएकवाल रायलगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्