ठेकेदार फेरेपछि पुल निर्माण सम्पन्न



नेपाल समाचारपत्र, खोटाङ। निरन्तरको ताकेता र खबरदारीपछि खोटाङस्थित साप्सुखोला पक्की पुल निर्माण सम्पन्न भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र साकेला गाउँपालिका–५ मात्तिमको सिमानामा पर्ने साप्सुखोला पुल म्याद ठेक्काको म्याद गुज्रिएको २१ महिनापछि निर्माण सम्पन्न भएको हो।

१८ महिनाभित्र पूरा गर्नेगरि २०७३ वैशाखमा ठेक्का सम्झौता भएको साप्सुखोला पुल निर्माणको काम हालै मात्र सम्पन्न भएको हो। निर्माण कार्यको जिम्मा लिएको गजुरमुखी हरिहरि निर्माण सेवा जेभीका प्रतिनिधिले चरम ढिलासुस्ती गरेपछि निर्माण कम्पनी परिवर्तन गरिएको थियो।

सम्पन्न गर्नुपर्ने म्याद नाघेको १५ महिना बित्दासमेत उक्त कम्पनीले पुल निर्माणलाई गति नदिएपछि २०७५ चैतमा ठेक्का रद्द गरी दोभान निर्माण सेवालाई कामको जिम्मा दिइएको साकेला गाउँपालिकाका अध्यक्ष अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताउनुभयो।

निर्माणाधीन पुल अलपत्र भएपछि प्रतिनिधिसभा सदस्य विशाल भट्टराई तथा जिल्ला प्रशासन कार्यालयले निर्माण कम्पनीलाई कारबाही गर्न सिफारिस गर्नुभएको थियो।
नेपाल सरकार स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको २ करोड ३० लाख ३६ हजार लागतमा सो पुल निर्माणको काम सम्पन्न गरिएको निर्माण कम्पनीले जनाएको छ।

वर्षामा बाढीले सवारी आवागमन ठप्प हुँदा जिल्लाका दक्षिणी क्षेत्रका स्थानीयवासी नाकाबन्दीमा पर्दै आएका थिए। साप्सुखोला पुल सञ्चालनमा आएपछि दिक्तेल बजारदेखि साकेला गाउँपालिकासम्म नियमित यातायात शुरू गरिएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्