छुवाछुतको अवशेष : सामाजिक कार्यकर्ता नै भए छुवाछुतको शिकार



सरोज यादव, विराटनगर । दलितसँग सहभोज गरेको निहुँमा सामाजिक बहिष्कारमा परेको भन्दै खोटाङ दिक्तेलका टंकप्रसाद आचार्य न्यायको याचना गर्दै विराटनगर आइपुग्नुभएको छ। सहभोजमा सहभागी भएकै कारण देखाउँदै छिमेकी दाजुभाइले आफूलाई बहिष्कार गरेको उहाँको दुखेसो छ।

गत जेठ १८ गते जिल्ला समन्वय समितिको आयोजनामा दिक्तेल नगरपालिका–१, डाँडाखर्कमा आयोजना गरिएको सहभोजमा दलित बालिकाले दिएको दही खाएको दिनदेखि टंकप्रसाद आचार्यलाई आफ्नै दाजुभाइ र समाजले अघोषित बहिष्कार गरेको बताइएको छ। त्यसपछि उहाँ खोटाङबाट बिस्थापित भई हाल मोरङको बेलबारीमा आफन्तको शरणमा बस्दै आउनुभएको छ। दुई छोरा र तीन छोरीका बाबु आचार्य गाउँका सामाजिक कार्यकर्ता समेत हुनुहुन्छ।

दलितले छोएको दही खाएको निहँुमा बहिष्कारमा परेपछि न्याय माग्दै प्रदेश १का मुख्यमन्त्री शेरधन राईको शरणमा आइपुग्नुभएका आचार्यले मुख्यमन्त्री राईसँग न्यायको याचना गर्नुभएको छ। आफूले कुनै पनि धर्मग्रन्थमा जातजातिबीच भेदभाव गर्नुपर्छ भन्ने नभेटाएको र शास्त्रले त्यस्तो पनि नभनेको बताउँदै आचार्यले समाजले बहिष्कार गरेपछि आफ्नो बाँच्ने आधार सकिएको दुखेसो पोख्नुभएको छ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मंगलबारको भेटपछि मुख्यमन्त्री राईले आर्चायलाई एक साताभित्र पुनस्र्थापित गरी न्याय दिलाउने आश्वासन दिनुभएको छ। मुख्यमन्त्री राईले खोटाङका प्रमुख जिल्ला अधिकारी बिष्णुहरि उपाध्यायलाई टेलिफोन सम्पर्क गरी सामाजिक बहिष्कारमा परेका आचार्यलाई न्याय दिलाउन आवश्यक पहल गर्न निर्देशन दिनुभएको छ।

आफन्तबाट नै अघोषितरूपमा बहिष्कारमा परेका आर्चायले सामाजिक बहिष्कार गर्नेमाथि कारबाहीको माग गदै मुख्यमन्त्री समक्ष निवेदन दिनुभएको थियो। यसअघि पनि न्यायको खोजीमा आर्चाय १ नं प्रदेश सचिवालयमा पुग्नुभएको थियो। यो विषयले प्रदेशसभामा समेत प्रवेश पाइसकेको छ। छुवाछुत विरुद्धको ऐन, २०६८ लागू भइसके पनि समाजमा यस खालका घटना भने अझै रोकिएका छैनन्। यसको पछिल्लो उदाहरण खोटाङका आचार्य बन्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्