दाइको धाक देखाउँदै भाइ रकम असुल्दै



नेपाल समाचारपत्र, बिरगंज। भारतबाट नेपाल छिरेका सवारी साधनसँग अवैधरूपमा रकम असुल्ने जिल्लाको वीरगन्ज–१७ अलौ निवासी विजय यादव, प्रदीप गुप्ता र मजमिल मियाँलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

वीरगन्ज–१७ अलौमा रहेको एकीकृत चेकजाँच चौकी (आईसीपी) बाट जाँचपास भई निस्केका भारतीय गाडीलाई रोकेर अवैधरूपमा रकम असुलेको आरोपमा प्रहरी टोलीले यादव, गुप्ता र मियाँलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो।

पक्राउ परेका तीनै जनाले आईसीपी भन्सारबाट जाँचपास भई निस्केका भारतीय नम्बरका गाडी चालकलाई आफू गार्ड रहेको बताउँदै चालकहरूसँग प्रति गाडी ५ सय रुपियाँदेखि १ हजार रुपियाँसम्म असुल गरेको प्रहरीले बताएको छ।

प्रहरी उपरीक्षक राठौरले एकीकृत चौकी आईसीपीबाट छुटेका भारतीय सवारी साधनलाई बीच सडकमा रोकेर परवानिपुर, जितपुर, सिमरा र पथलैयासम्म पुरेयाइदिने भन्दै जबरजस्ती रकम असुल्दै गरेको अवस्थामा पक्राउ गरेको जानकारी दिनुभयो।

जिल्ला अदालत पर्साबाट सात दिनको म्याद थप गराइ पक्राउ परेका तीनै जनालाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले बताएको छ।

पक्राउ परेका विजय यादव वीरगन्ज–१७ का वडाध्यक्ष सुखरानीदेवी यादवका देवर रहेको एक स्थानीयले बताएका छन्। वडाध्यक्ष सुखरानी रहे पनि उनका श्रीमान् वीरेन्द्र यादवले वडा समितिको कार्यालय चलाउँदै आएकोले दाजुको धाक देखाउँदै भारतीय गाडीसँग अवैध रकम असुली गर्दै आएको स्रोतले जनाएको छ। यसैबीच पर्सा प्रहरीले केही घरेलु मदिरा पनि यात्रु बाहस बसबाट बरामद गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्