पार्किङ पोखरी विवाद टुङ्गियो



नेपाल समाचारपत्र, ललितपुर। पुल्चोकस्थित ललितपुर महानगरपालिका कार्यालयको दक्षिणपट्टी रहेको खुला मैदानमा १८ महिनापछि पोखरी निर्माण शुरू गर्ने सहमतिसँगै एक महिनादेखिको विवाद टुङ्गिएको छ।

महानगरका प्रमुख चिरीबाबु महर्जनको अध्यक्षतामा मंगलबार बसेको बैठकपछि दुवै पक्षले सहमतिपत्रमा हस्ताक्षर गरेसँगै यो विवाद टुङ्गिएको हो। सहमतिपत्रमा महानगरको तर्फबाट वडा नं ३का अध्यक्ष श्रीगोपाल महर्जन र वडा नं २०का अध्यक्ष चन्द्रलाल महर्जनले हस्ताक्षर गरेका हुन्।

उक्त स्थानमा पोखरी नै निर्माण गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएकाको तर्फबाट नः त्वाः मंकाखलःका अध्यक्ष कदमलाल महर्जन र सदस्य बाबुराजा महर्जनले हस्ताक्षर गरेका छन्। सहमतिपत्रमा सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० सकिएपछि अर्थात सन् २०२१ जनवरी तेस्रो साताबाट उक्त पुखुको निर्माण शुरू गर्ने उल्लेख गरिएको छ।

महानगरका प्रमुख महर्जनले पर्यटक भ्रमण वर्ष २०२०लाई लक्षित गरेर यस स्थानमा केही समय पार्किङ नै सञ्चालन गर्न लागेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘पाटन दरबार क्षेत्र प्रवेश गर्ने मुख्य मार्ग पुल्चोक हो, महानगरको अन्यत्र यस्तो खुल्ला ठाउँ छैन, त्यसैले त्यो समयसम्म पार्किङ नै संचालन गर्न लागेका हौं।’ नगरप्रमुख महर्जनले महानगरले पोखरीको ठाउँमा चीरकाल पर्यन्त पार्किङ सञ्चालन गर्ने योजना नबनाएको प्रष्ट पार्नुभयो ।

बैठकमा महानगरका उपप्रमुख गीता सत्याल, प्रहरी उपरीक्षक दुर्गा सिंह ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, ज्यापू समाजका चन्द्र महर्जनलगायतको सहभागिता थियो।

सहमतिपत्र पलेस्वाँ पुखु निर्माणका लागि आवश्यक बजेट महानगरले व्यवस्था गर्ने, पोखरीको निर्माणपछि नियमअनुसार पोखरीको हेरचाह नः त्वाः मंका खलले गर्ने उल्लेख छ। यसैगरी पार्किड सञ्चालन गरी ठेकेदारले महानगरपालिकासँग समन्वय गरेर सम्पदाको प्रारूप कायम गर्न सानो पोखरी निर्र्माण गर्ने उल्लेख छ।

सहमतिपत्रमा पोखरी निर्माणको लागि डीपीर तयार गर्न प्रतिनिधि मण्डलमा महानगर, न ः त्वा मंकाः खल र ज्यापू समाजको प्रतिनिधि रहने ,सहमतिपपत्रमा हस्ताक्षर भएको एक सातापछि डीपीआर कार्य प्रारम्भ गर्ने, डीपीआरको जानकारी सर्वसाधारणलाई गराउन पार्किड स्थलमा फ्लेक्स बोर्ड राख्नेछ।

 

प्रतिक्रिया दिनुहोस्