योग विज्ञान र प्राकृतिक चिकित्सा विज्ञानको पाठ्यपुस्तक तयार



काठमाडौं, (नेस)। योग विज्ञान, प्राकृतिक चिकित्सा विज्ञान, आयुर्वेद र जडिबुटीका विषयमा पाठ्यक्रम तयार भएको छ। योग प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी कार्यक्रमको आवश्यकता पहिचान, पाठ्यक्रम निर्माण परिमार्जन तथा कार्यक्रम सञ्चालन सम्बन्धमा सुझाब दिन गठित समितिले पाठ्यक्रम तयार गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई आफ्नो प्रतिवेदन बुझाएको छ।

योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटीको क्षेत्रमा प्राविधिक शिक्षा तथा विद्यालय शिक्षामा आवश्यकता, सम्भाव्यता, औंचित्यता र सान्दर्भिकताको आधारमा सञ्चालन गर्न सकिने सम्भावित कार्यक्रमको पहिचान गर्न नेपाल संस्कृत विश्वविद्यालयका योग एवं प्राकृतिक विषय समितिका अध्यक्ष डा. हरिप्रसाद पोखरेलको संयोजकत्वमा गठित समितिले मन्त्री पोखरेललाई प्रतिवेदन बुझाएको हो।

समितिको प्रतिवेदन बुझ्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आवश्यक तयारी र छलफलपछि समितिले बुझाएको सुझाब कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले यो विषय आफ्नो प्राथामिकतामा रहेको उल्लेख गर्दै तत्कालै कार्यान्वयनमा लैजान आवश्यक कदम चाल्ने पनि बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्