आरोप–प्रत्यारोपबीचका आत्महत्या प्रकरण



बालकृष्ण मैनाली

आत्महत्या भनेको आफ्नो जीवनलीला आफै ले समाप्त पार्नु हो। यो विषयमा जनमत लिने हो भने धेरै जनमतले आत्महत्या प्रकरणलाई उचित कदम मान्न तयार हुँदैनन्। तैपनि मानवले समाजका विविध विषयलाई आफ्नो प्रतिष्ठाको विषय वा लाजको विषय अथवा आफू प्रतिकूल भएको विषयलाई आधार मानेर आफ्नो जीवन आफैंले त्याग्ने कार्य गर्दछन्।

देशमा एकातिर जीवन जिउने आधार नभएर वा पारिवारिक वितृष्णाले मनको जरैसम्म घर गरेर अरूको समेत जीवन हरण गरी आफ्नो जीवन त्यागेका समाचारहरू पनि प्रवाहित भैरहेका छन्। अर्कोतिर केही समयदेखि आफूले गरेको कार्यगत पश्चात्तापको आधारमा आत्महत्या गरेका समाचारहरू पनि प्रवाहित हुँदै आएका छन्।

वास्तवमा जस–जसले जुनै कारणबाट आत्महत्याको बाटो रोजेको भए पनि त्यस कार्यलाई उचित रोजाइ भन्न किमार्थ सकिँदैन भन्ने आमधारणाको सबै पक्षबाट उचित कदर हुनुपर्ने सवालमा विमति छैन। वर्तमान समयमा देशमा चार विभिन्न व्यक्तिको आत्महत्याको समाचारले सञ्चारमाध्यममा शीर्षस्थान प्राप्त गर्यो।

जसमध्ये अख्तियारद्वारा आरोपित तीन जना र व्यक्तिगत अभिप्रेरितबाट एक जना गरी चार जनाको आत्महत्या प्रकरणले जनजनमा विभिन्न धारणा र संशयहरू पैदा गराउन भूमिका खेल्यो। अख्तियारले त्रिवि सेवा आयोगको परीक्षामा अनियमितता गरेको आरोपमा अध्यक्षसहित दश जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेपश्चात् त्यसमध्ये एक आरोपी रामबहादुर पाण्डेले आत्महत्याको बाटो रोज्न पुगेका छन्।

सरकारी जग्गा व्यक्तिका नाउँमा गराउने विषयमा आरोपित मालपोत कार्यालयका दुई जना पूर्वकर्मचारी युक्तप्रसाद श्रेष्ठ र हरिप्रसाद आचार्यले पनि आत्महत्याको बाटो रोजेका छन्। यी आत्महत्याका विषयमा हालसम्म प्रहरी अनुसन्धानको अन्तिम निचोड प्राप्त भएको छैन। तथापि मृत्युको अवस्थालाई दृष्टिगोचर गर्दा आत्महत्या गरेको कुरालाई नै बल पुर्याउँछ।

चौथो आत्महत्या प्रकरणले चाहिँ देशमा जनता र सरकारबीच मुठभेडको स्थिति उत्पन्न गराइदिएको छ। पत्रकार शालिकराम पुडासेनी आत्महत्या प्रकरणमा पत्रकार रवि लामिछाने अनुसन्धानको लागि प्रहरी हिरासतमा छन्। उनलाई चितवन जिल्ला अदालतले थप अनुसन्धानको लागि पाँच दिनको म्याद थप गरी प्रहरी हिरासतमै रही अनुसन्धानमा सहयोग गर्न आदेश जारी गरेको छ।

मनोविश्लेषकहरूको विश्लेषणमा मूलतः मनावलाई पाँच अवस्थाहरूले आत्महत्या गर्न अभिपे्ररित गर्दछ। पहिलो– अभावग्रस्त र पारिवारिक, आर्थिक समस्याले मानवलाई आत्महत्या गर्न अभिपे्ररित गर्दछ। आफूले जन्माएको छोराछोरीलाई आवश्यक भरणपोषण गर्न नसक्दा तिनीहरूलाई मारी आफूले समेत आत्महत्या गर्न पुग्नु अभावग्रस्त प्रेरित आत्महत्या हो। दोस्रो– आफूले भनेको कुनै चिज वा वस्तु तत्काल भन्नासाथ प्राप्त नभएको अवस्थामा आफ्नो आत्मनियन्त्रण गुमाउन पुग्दा तत्काल आवेशप्रेरित आत्महत्याको मार्ग रोज्न पुग्छन् कोही–कोही।

कुनै युवाले आफ्नो अभिभावकलाई तीन–चार लाख पर्ने बाइक किनिदिन अनुरोध गरेको अवस्थामा तत्काल पैसा नभएकोले किनिदिन नसक्ने अथवा आफ्नो आर्थिक हैसियत त्यत्रो रकम बराबरको बाइक किन्न नसक्ने भएको अभिभावकहरूबाट प्रतिक्रिया प्राप्त हुनासाथ आफ्नो नियन्त्रण गुमाई तत्काल आत्महत्या गर्न पुग्नु तत्काल आवेशपे्ररित आत्महत्याको कोटीभित्र पर्दछ भन्छन् विश्लेषकहरू।

तेस्रोचाहिँ समाज र परिवारमा रहेको आफ्नो प्रतिष्ठालाई निरन्तरता प्रदान गर्न नसक्दा अथवा आफ्नो प्रतिष्ठामाथि समाज र परिवारले प्रश्न उठाउन थालेपछि व्यक्तिमा असहज पीडा उत्पन्न हुन जान्छ र उसले आफू बाँच्नुको कुनै अर्थबोध गर्दैन अनि आत्महत्याको मार्ग समाउन पुग्छ।

चौथो– पश्चात्तापपे्ररित आत्महत्या हो। यस्ता किसिमका आत्महत्या आफ्नो जीवनकालमा गरेका कुकृत्य र गलत कामले अरूमा पर्न गएको असरका बारेमा जब बोध हुन थाल्छ र व्यक्तिले आफू बाँचेर पश्चात्ताप गर्ने अवसर देख्दैन, तब त्यो व्यक्तिले आत्महत्याको बाटो रोज्न बाध्य हुन पुग्छ।

पाँचाँैचाहिँ व्यक्तिमार्पmत प्राप्त अनावश्यक र अनाहक पीडाप्रेरित आत्महत्या पर्न अउँछ। यस्ता खाले आत्महत्यामा अरूले दिएको अनाहक र अनावश्यक पीडालाई सहन गर्न नसकेर त्यसको कानुनी र समाजिकरुपमा प्रतिकार गर्नुको साटो आत्महत्याको बाटो रोज्न पुग्छन्।

मालपोतका पूर्वकर्मचारी हरिप्रसाद आचार्य र शालिकराम पुडासैनी आत्महत्या प्रकरणले आफूलाई परेको पीडालाई कानुनी र सामाजिकरुपमा प्रतिकार गर्नुको साटो आत्मनियन्त्रणलाई गुमाउन पुगी आत्महत्याको बाटो अँगाल्न पुगेको हो कि भन्ने जनजनमा संशय पैदा गराएको छ।

मालपोतका पूर्वकर्मचारी हरिप्रसाद आचार्यले आफ्नो स्वेच्छिक आत्महत्या टिपोटमा वर्तमान अख्तियार प्रमुखको नाम उल्लेख गरेरै दुई सय वर्षको आयु होस् भनी उल्लेख गरेका छन्। उनले आफ्नो स्वेच्छिक आत्महत्या टिपोटमा ‘सतीले सरापेको देश रहेछ, मैले दुई पैसा खाएको छैन तर म देशको ठूलो भ्रष्टाचारी भएँ, मजस्ता निर्दोषलाई मुद्दा चलाएकोमा अख्तियार प्रमुखको आयु दुई सय वर्ष होस्’ भन्दै अरू पारिवारिक सन्देश पनि टिपोटमा उल्लेख गरेका छन्।

शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टिभी पत्रकार रवि लामिछाने अनुसन्धानको लागि प्रहरी हिरासतमा रहन पुगेका छन्। यो विषयमा रवि लामिछाने निर्दोष छन् र उनलाई हत्या अभियोगमा फसाउन खोजिएको भन्दै जनता सडकमा ओर्लिएका छन्। अदालतले उनलाई पाँच दिनको हिरासतमा राख्न म्याद थपिदिएको छ। रविको पक्षमा उठेको जनसमर्थनको विषयलाई लिएर जनमत विभिन्न पक्ष र विपक्षमा विभाजित भएका छन्। पक्षविपक्षमा उठेका तर्कहरू सञ्चारमाध्यमलगायत सामाजिक सञ्जालहरूमा भरिभराउ हुन पुगेका छन्। रवि गिरफ्तारीको विरोधमा उत्रेका जनहरूका आवाजलाई प्रहरी प्रशासन र सरकारलाई थेग्न गाह्रो परेको छ।

प्रदर्शनकारीहरूमाथि लाठी प्रहार भएको छ। सरकारले यसबारेमा चित्त बुझ्दो जवाफ दिन सकेको छैन। आरोप लागेपछि अनुसन्धानको दायराभित्र आउनु कानुनी शासनको मूल मर्म त हो तर कानुनी शासनको नाउँमा कानुनको दुरुपयोग हुन पुग्यो भने त्यसले निम्त्याउने परिणाम भयावह हुन सक्छ भन्ने कुरालाई कानुन कार्यान्वयन गर्न पाउने अधिकारप्राप्त सरोकारवाला पक्षहरूले सदैव पदमा रहुन्जेल आत्मसात् गर्नुपर्ने महत्वपूर्ण कुरालाई कतै बिर्सनुहुँदैन। कानुनको असल तथा मूल मर्ममा आधारित रही कानुन कार्यान्वयन गरिनुभन्दा पनि कानुनी छिद्रको प्रयोगलाई आत्मसात् गर्दै जाने प्रवृत्ति हाबी हुँदै गएको वर्तमान अवस्थामा जनजनले यस्ता विषयमा आवाज उठाउनु र खबरदारी गर्नुलाई किमार्थ अन्यथा भन्न मिल्दैन।

आरोप लागेपछि अनुसन्धानको दायराभित्र आउनु कानुनी शासनको मूल मर्म त हो तर कानुनी शासनको नाउँमा कानुनको दुरुपयोग हुन पुग्यो भने त्यसले निम्त्याउने परिणाम भयावह हुन सक्छ भन्ने कुरालाई कानुन कार्यान्वयन गर्न पाउने अधिकारप्राप्त सरोकारवाला पक्षहरूले सदैव पदमा रहुन्जेल आत्मसात् गर्नुपर्ने महत्वपूर्ण कुरालाई कतै बिर्सनुहुँदैन।

मुलुकी अपराध (संहिता) ऐन २०७४ लागू हुनुपूर्व आत्महत्या गर्न प्रेरित गर्ने खालको कुनै पनि काम–कारबाही जान–अन्जानमा गर्न नहुने सम्बन्धमा कुनै कानुन थिएन। २०७५ भाद्र १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १८५ ले आत्महत्या गर्न दुरुत्साहन दिन नहुने सम्बन्धी व्यवस्था गरेको छ।

उक्त ऐनको दफा १८५ को (१) मा कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन भन्दै १८५(२) मा उपदफा (१) बमोजिमको कसुर गर्नेलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपियाँसम्म जरिबाना हुनेछ भन्ने व्यवस्था गरिएको पाइन्छ।

सो सँगसँगै दफा १८६ ले पीडित व्यक्तिलाई पीडकबाट मनासिव माफिकको क्षतिपूर्ति भराइदिनुपर्ने व्यवस्था पनि गरिएको छ र दफा १८७ (२) मा यसबारेमा उजुरी गर्ने हदम्यादको व्यवस्था गरिएको छ, जसअनुसार यो विषयमा कसुर भएको कुरा थाहा पाएको मितिले छ महिनाभित्र उजुर गरिसक्नुपर्नेछ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ लागू हुनुपूर्व र लागू भैसकेपछि त्यसमा रहेका केही अस्पष्टतालाई स्पष्ट पार्नुपर्ने आवाज समय–समयमा उठिरहेको भए तापनि यो मामिलामा सम्बन्धित निकायको ध्यान त्यति आकर्षित हुन सकिरहेको छैन भन्ने कुराको कानुनका विद्यार्थीलगायत अन्य सरोकारवालाहरूको मनमा घर गर्दै गइरहेको छ।
देश र समाजमा हुन सक्ने कुनै पनि अपराधलाई निस्तेज पार्न र रोकथामको लागि समय परिस्थितिअनुसार कानुनको निर्माण हुनुलाई सराहनीय नै मानिन्छ।

साथसाथै कुनै पनि लागू भइसकेका कानुनहरूमा भएका व्यवस्थाहरूको स्पष्टता अर्थात् सर्वसाधारणले सरलरुपमा बुझ्न र बुझाउन सक्ने खालको हुनुपर्दछ भन्ने मान्यता पनि राखिन्छ। यदि त्यसो हुन सकेन भने कानुनको नाम भजाएर आफ्नो दुनो सोझ्याउन खोज्नेले मौका पाउँछन् र अनाहकमा नागरिकले दुःख व्यहोर्नुपर्ने अवस्था सिर्जना हुन जान्छ।

हो, त्यस्तै अस्पष्टता देखिएको छ मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १८५ को व्यवस्थामा। अर्थात् के–के कार्य गरेको पाइएमा आत्महत्या गर्न दुरुत्साहन दिएको ठहर्ने हो ? त्यस विषयमा कहीँ–कतै स्पष्ट परिभाषित भएको पाइँदैन। मानवले गर्ने आत्महत्या प्रायः आवेशप्रेरित नै हुन्छन्। कसैले गरेको सामान्य गल्तीलाई पनि बारम्बार दोहोर्याएर अनाहक दबाब दिइरहने हो भने दबाब झेल्न नसकेर मानव डिप्रेसनमा जाने सम्भावना बढी हुन्छ।

त्यस्ता मानवले कुनै पनि बेला आफ्नो ज्यानलाई आपैmंले हत्या गर्न सक्छन्। ऐनको वर्तमान व्यवस्थालाई हेर्दा यससम्बन्धी मुद्दामा कुनै शब्द, बोली या व्यवहारले कसैलाई आत्महत्या गर्न दुरुत्साहन बन्यो कि बनेन भन्ने कुराको निचोड निकाल्ने कामचाहिँ सम्बन्धित अनुसन्धानकर्ता वा अदालती निर्णयकर्ताको जिम्मा छोडेको हो भनी मान्नुपर्ने हुन्छ। यस किसिमको अस्पष्टताले न्यायिक विचलनमा टेवा पुर्याउने सम्भावना बढी रहन्छ भन्नमा अत्युक्ति हुनेछैन।

सम्भवतः उक्त ऐनको दफा लागू भएपछि यस किसिमको पहिलो मुद्दाको अनुसन्धान पत्रकार रवि लामिछानेमाथि भएको छ र सर्वाधिक चासोको विषय पनि बन्न पुगेको छ। आरोपित रवि लामिछानेले अनुसन्धानमा जुन किसिमको सहयोगी र सरल भूमिका खेल्नुभयो, त्यसले उहाँलाई जनजनबाट थप सहानुभूति र धन्यवादको पात्र बनाइदिएको छ। साथै जसरी एउटा पत्रकारले जनतामार्पmत अगाध माया प्राप्त गर्न सफल भएको छ, त्यसै गरी निर्दोष साबित भई पुनः जनताको सेवामा समर्पित हुनुहुनेछ भन्ने कुरामा जनजन आशावादी रहेका छन्। अनुसन्धानको क्रममा रहेकाले यस विषयमा अहिलेलाई यत्ति नै।
(लेखक मैनाली अधिवक्ता हुनुुहुन्छ।)

 

प्रतिक्रिया दिनुहोस्