सामाजिक सञ्जाल र बालविवाह



बालविवाह सामाजिक कलंकका रूपमा रहेको छ । बालविवाह र दाइजो प्रथा न्यूनीकरणका लागि राज्यले विभिन्न निकायमार्फत जनचेतनाका कार्यक्रम सञ्चालन गरेको भए पनि यसको प्रभावकारितामा भने प्रश्नचिह्न उठेको छ ।

राज्यले यस्ता सामाजिक कुसंस्कार रोक्नका लागि चालिएका कदममा सामाजिक सञ्जाल र मोबाइल फोन बाधकका रुपमा देखिएको छ । उमेर नै नपुगेका बालबालिका मोबाइल फोन र सामाजिक सञ्जालको पहुँचमा सजिलै पुग्ने गरेको कारण बालबालिकाले बालविवाह गर्न पुगेको निष्कर्ष सरोकारवालाहरूले निकालेका छन् ।

सरोकारवालाहरूले सामाजिक सञ्जाल र मोबाइलका कारण बालविवाह मौलाउँदो अवस्थामा रहेको भन्दै चिन्ता व्यक्त गरेका हुन् । शहरमा मात्र होइन, ग्रामीण क्षेत्रमा समेत मोबाइल फोन र सामाजिक सञ्जालको पहुँचको कारण बालविवाह न्यूनीकरणमा बाधा पुगेकाले कम्तीमा पनि १८ वर्ष नपुगेका बालबालिकालाई यी प्रविधिबाट टाढा राख्नुपर्ने सुझाव सरोकारवालाले दिएका छन् ।

पर्वतको मोदी गाउँपालिकाले बालविवाहको दर घट्नुको सट्टा दिन–प्रतिदिन बढ्नुको कारण खोज्दै जाँदा मोबाइल फोन र सामाजिक सञ्जालको प्रयोगमा बालबालिकाको सहज पहुँच रहनु नै प्रमुख कारण रहेको निष्कर्षका साथ अभिभावकलाई सचेत गराएको छ । प्रविधिको विकासलाई सही सदुपयोग गर्न नसक्दा ग्रामीण क्षेत्रमा यस्ता समस्या देखापरेकाले प्रविधिलाई नियमन गर्न गाउँपालिकाले समेत ध्यान दिनुपर्ने आवाज उठेको छ ।

उमेर नै नपुगेका बालबालिकाले आफूखुशी विवाह गर्ने क्रमलाई नियन्त्रण गर्न अभिभावकहरूले अब मोबाइल फोन प्रयोग र सामाजिक सञ्जालको पहुँचमा रहेका आफ्ना बालबालिकालाई आफैंले निगरानी गर्ने एवम् गाउँभरिका बालबालिकाले बालविवाह गर्नेतर्फ उत्साहित भएको पाए अभिभावकलाई खबर गर्ने सहमति भेलामा सहभागीले गरेका छन् । आफूलाई आपत् परेपछि मात्रै सचेत रहने नेपालीको बानीमा सुधार आउनुपर्ने देखिन्छ ।

मोदी गाउँपालिकामा देखिएको समस्या देशभर नै रहेको छ । जसरी मोदी गाउँपालिकाले सामाजिक सञ्जाल र मोबाइल फोन प्रयोगका कारण बालविवाह बढेको निष्कर्ष निकालेर सचेत गरायो, त्यसै गरी देशभरका अन्य गाउँपालिका तथा नगरपालिकाले पनि यसतर्फ ध्यान दिन जरुरी छ ।

मोबाइल फोन र सामाजिक सञ्जालको प्रयोग देशभर नै रहेकाले यो समस्या मुलुकभर नै नहोला भन्न सकिन्न । उमेर नै नपुगेका बालबालिकालाई मोबाइल र सामाजिक सञ्जालले गलत दिशानिर्देश नगरोस् भन्ने कुरामा अभिभावक सचेत हुनुपर्छ, तर विज्ञानका यी उपलब्धिबाट उनीहरूलाई वञ्चित गराउनु भने ठीक हुन्न ।

उमेर नपुगेका आफ्ना सन्ततीलाई व्यवस्थापन गर्न नसकिने गरी मोबाइल फोन किनिदिने, सामाजिक सञ्जाल खोल्न उत्प्रेरित गर्ने कामलाई निरुत्साहित गर्नुपर्छ । छिमेकीका छोराछोरीले त यी चिज पाएका छन् भने मेरा छोराछोरीलाई किन नदिने भन्ने भावनाबाट जबसम्म समाज टाढा हुँदैन तबसम्म यस्ता विकृतिले प्रश्रय पाइरहन्छ । त्यसैले पर्वतको मोदी गाउँपालिकाले चलाएको अभियान देशभर चलाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्