च च हुईमा आर्यन र मिरुनाको जमेको जोडी



रिलिजमा रहेको फिल्म हजार जुनीसम्मबाट प्रशंसा पाइरहेका नायक आर्यन सिग्देल आगामी फिल्म च च हुईमा फेरि चकलेटी अवतारमै देखिएका छन्। हजार जुनीसम्ममा २ गेटअपमा देखिएका सिग्देल च च हुईमा फेरि आप्mनै पुरानो छवि चक्लेटी रूपमा देखिन लागेका हुन्।

आगामी मंसिर ६ गते अल नेपाल रिलिज हुने फिल्मको सार्वजनिक तस्वीरमा चक्लेटी आर्यनसँगै उनको कोस्टार मिरुना मगर र भोलाराज सापकोटा देखिएका छन्। फिल्ममा आर्यन र मिरुना जोडीका रूपमा देखिनेछन्। सार्वजनिक गरिएको तस्वीर सिल्की सिल्की बाल बोलको गीत छायांकनको समयको हो।

मुस्ताङको चुसाङमा छायांकन गरिएको गीतको सार्वजनिक तस्वीरमा आर्यन र मिरुनाको केमेस्ट्री जमेको देखिन्छ। झन्डै एक साता लगाएर छायांकन गरिएको गीतको कोरियोग्राफी शिशिर खातीले गरेका छन्। गीतमा राजनराज शिवाकोटी र मेलिना राईको स्वर रहेको छ भने यसलाई राजनले नै कम्पोज गरेका हुन्।

गीतमा राजनसँगै अमृत घोले लामा र श्याम लामिछानेको शब्द रहेको छ। फिल्म रोमान्टिक कमेडी जनरमा तयार भएको हो भने यसलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन्।

यसमा आर्यन र मिरुनासँगै भोलाराज सापकोटा, माओत्से गुरुङ, पुष्कर गुरुङ, बबिता मल्ललगायतले पनि अभिनय गरेका छन्। फिल्म साम्तेन भुटियाले निर्देशन तथा सम्पादन गरेका हुन् भने यसमा सुशन प्रजापतिको छायांकन रहेको छ। फिल्मको पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका छन्।

फिल्मका गीतमा राजनराज शिवाकोटी, सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ भने श्री श्रेष्ठको द्वन्द्व, शिशिर खातीको कोरियोग्राफी, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड स्कोर रहेको छ।

‘गीत राम्रो बनेको छ। हामीले अडियोको मर्मलाई दृश्यमा देखाउने कोसिस गरेका छौं। म छुट्टै क्षेत्रबाट नेपाली फिल्ममा पनि व्यावसायिकरूपमा केही गरौं भन्ने हेतुले आएको हुँ।

गीतमा आर्यनको रोमान्टिक छवि र मिरुनाको सुन्दरतालाई टिपिकल अवतारमा प्रस्तुत गरेका छौं’, निर्माता घलेले भने– ‘यसले नेपाल भिजिट २०२० लाई पनि सहयोग पुग्छ भन्ने विश्वास लिएको छु। नेपालको प्राकृतिक सुन्दरतालाई सकेसम्म देखाउने कोसिस गरेका छौं।’

प्रतिक्रिया दिनुहोस्