दश करोडको अफर स्विकारिनन् शिल्पाले



केही वर्षयता फिल्मबाट टाढा रहे पनि बलिउड नायिका शिल्पा शेट्ठीको फिटनेसको चर्चा भने सधैं भइरहन्छ। आफ्नो वेलनेस एप्स तथा हेल्थ क्याफेको माध्यमबाट वेलनेस क्षेत्रमा उनी ठूलो नाम पनि बनिसकेकी छिन्। हाल उनी स्वास्थ्य उत्पदनहरूको ब्रान्ड एम्बेसडरका लागि पनि पहिलो नम्बरमा छिन्।

बलिउड अनलाइन वेब दुनियाँका अनुुसार शिल्पाले हालै एक आयुर्वेदिक कम्पनीले उत्पादन गरेको स्लिमिङ पिल्सको विज्ञापनमा अभिनयको अफर अस्वीकार गरेकी छिन्, जसको पारिश्रमिक १० करोड भारतीय थियो। तर शिल्पाले त्यत्रो रकमको अफरमा समेत विज्ञापन खेल्न किन अस्वीकार गरेकी छिन्?

खबरअनुसार शिल्पा सधैं फिट रहनका लागि प्राकृतिक सामग्रीको प्रयोगको वकालत गर्छिन्। त्यसैले यस प्रकारको विज्ञापनमा काम गर्न अस्वीकार गरेकी हुन्। उनी नयाँ पुस्तालाई पनि यस्ता चिजहरूको प्रयोग नगर्न सल्लाह दिन्छिन्।

उनले भनेकी छिन्– ‘म यस्तो चिजहरू बेच्न सक्दिनँ, जसमाथि म आफै यकिन छैन। स्लिमिङ पिल्सले मानिसहरूलाई दुब्लो त देखाउँछ, तर यसले शरीरलाई असर पनि पुर्याएको हुन्छ।’

प्रतिक्रिया दिनुहोस्