भक्तपुर नगरपालिकाको हस्तक्षेपपछि क्यान्सर अस्पतालमा थप बिवाद चर्कंदै

भक्तपुर नपाको हस्तक्षेप अवैधानिक छ ,हामी अदालत जान्छौं: अध्यक्ष श्रेष्ठ



पुष्कर बुढाथोकी, भक्तपुर । दातृ निकाय र व्यक्ति व्यक्तिको सहयोगमा संचालन हुदै आएको भक्तपुर क्यान्सर अस्पतालमा व्यापक अनियमितता भएको गुनासो बढेकोे भन्दै भक्तपुर नगरपालिकाले भक्तपुर क्यान्सर अस्पताल व्यबस्थापन समिति खारेज गर्दै एक पक्षीय रुपमा नयाँ समिति गठन गरे पछि थप बिवाद सिर्जना भएको छ ।

नयाँ बिवादसँगै दुई खाले अतिवादले अस्पतालको भबिष्यसमेत संकटमा पर्न थालेको भन्दै सरोकारवालाले चिन्ता ब्यक्त गरेका छन् ।उनीहरुले पहिलो समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ ईश्वर र महासचिव विमल कुमार होडाको मिलेमतोमा भएको कदमले र अहिले भनपा प्रमुख सुनिल प्रजापति नेतृत्वको हस्तक्षेपले अस्पतालको भबिष्य संकटमा पर्न थालेको भन्दै चिन्ता प्रकट गरेका छन् ।

प्रमुख प्रजापतिले एका दुई संचारमाध्यममा अनियमितताको समाचार आएको निहुँमा अस्पतालमा हस्तक्षेप गर्नु अतिवाद भएको भन्दै अस्पतालको भबिष्यका लागि सर्वपक्षीय र सर्वपक्षीय समिति गठन गरि अनियमितता बारे छानवीन गर्नुपर्ने र दोषी देखिए जो सुकै होस् कारवाही गर्नु पर्ने माग गरेका छन् ।

भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिले अस्पतालमा भक्तपुर नगरपालिकाले गरेको हस्तक्षेप अवैधानिक भएको दावी गरेको छ । ‘भक्तपुर क्यान्सर अस्पताल गैरसरकारी, गैरनाफामूलक सामुदायिक अस्पताल हो’, व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ ईश्वरले भन्नुभयो, ‘अस्पताल स्वायत्त संस्था हो । त्यसैले भक्तपुर नपाको हस्तक्षेप अवैधानिक छ । उक्त अवैधानिक कदमविरुद्ध हामी अदालत जान्छौं ।’उहाँले भ्रष्टचार प्रमाणित गर्नलाई भनपा अख्तियार दुरुपयोग अनुसन्धान केन्द्र र सतर्कता केन्द्र नभएको बताउनुभयो ।समितिले अदालत जानका लागि कानुन बिद्हरुसँग राय समेत लिईरहेको छ ।

उनीहरुले अस्पतालमा भएको हस्तक्षेपबारे संसदमा बोलीदिन सांसद प्रकाशमान सिंह,गगन थापा र महेश बस्नेत लगायतका नेतासँग समेत छलफल गरेका छन्।अस्पतालमा रेडियोथेरापीको अत्याधुनिक लिनायक मेसिन सञ्चालनमा आएलगत्तै हस्तक्षेप गरिएबाट भक्तपुर नपा मेडिकल माफियाको पक्षमा लागेको पुष्टि हुने उहाँको भनाइ थियो । अध्यक्ष श्रेष्ठले अब केही महिनाभित्रै आफूले नेतृत्व हस्तान्तरण गर्ने तयारी पनि गरिरहेको बताउनुभयो ।
नगरपालिकाले नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर जिल्ला क्षेत्र नं. १ का संघीय साँसद प्रेम सुवाल र प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई सल्लाहाकार, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, वडाध्यक्षहरु रविन्द्र ज्याख्व, उकेश कवां र श्यामकृष्ण खत्री सदस्य रहेको समिति गठन गरेको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर सदस्य सचिव रहने गरि गठन गरिएको समितिमा नेपाल अर्वुद रोग निवारण संस्था, भक्तपुर शाखाका अध्यक्ष, भक्तपुर क्यान्सर अस्पताल सहयोग समितिका अध्यक्ष र सोही समितिका महिला सदस्य र कर्मचारी कल्याणकारी समितिका प्रतिनिधि पनि सदस्य रहेका छन् । समितिमा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरिक्षक सबिन प्रधानलाई आमन्त्रित सदस्यको रुपमा चयन गरिएको नगर प्रमुख प्रजापतिले जानकारी दिनुभयो ।

तर प्रमुख जिल्ला अधिकारी भट्टले भक्तपुर नगरपालिका प्रमुख प्रजापतिलाई आफूहरु समितिमा बस्न नमिल्ने जवाफ दिएको र प्रजापति नेतृत्वको सोमबार अस्पतालमै बसेको पहिलो बैठकमा समेत सहभागी नभएको बताउनुभयो ।स्वघोषित नयाँ अध्यक्ष नगर प्रमुख प्रजापतिले पुराना अध्यक्ष श्रेष्ठको कुर्सीमा बसेर पहिलो बैठक राखी केही निर्णय समेत गरेको अस्पतालका कर्मचारीले बताएका छन् ।

अस्पतालको नयाँ व्यवस्थापन समितिको आइतबार बसेको पहिलो बैठकले तत्कालीन व्यवस्थापन समितिले गरेको अनियमितताबारे छानबिन गर्न भक्तपुर–९ का वडाध्यक्ष तथा व्यवस्थापन समितिका सदस्य रवीन्द्र ज्याख्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिले अस्पतालका कागजातको अध्ययन, कर्मचारी र सरोकारवालासँग परामर्श गरी एक महिनाभित्र व्यवस्थापनलाई प्रतिवेदन दिनेछ । बैठकले अस्पतालको बैंक खाता परिवर्तन गर्ने निर्णय गरेको वडाध्यक्ष ज्याख्वले बताउनुभयो । बैठकले बैंक खाता परिवर्तन र कर्मचारी व्यवस्थापनसम्मका निर्णय गरेको छ । अस्पतालको सरसफाइका लागि भरोसा सर्भिसेस प्रालिसँग भएको सम्झौता खारेज गरेको छ । सो कम्पनीले सरसफाइमा काम गर्ने कर्मचारीलाई तलबसमेत नदिने गरेको भन्ने गुनासो आएपछि सम्झौता रद्द गरी कार्यरत ३७ जनालाई अस्पतालले नै मासिक पारिश्रमिक भुक्तानी गर्ने निर्णय गरेको छ ।

प्रहरी उपरिक्षक सबिन प्रधानले समितिमा आफूलाई राखिएको बारे थाहा नभएको बताउँदै यसबारे औपचारिक रुपमा नगरपालिकाले आफूसँग छलफल नगरेको बतानुभयो ।भक्तपुर क्यान्सर अस्पताल ब्यबस्थापनमा अनियमितता भएको समाचार आउने बित्तिकै नपाले गरेको हस्तक्षेप अस्वीकार्य भएको स्थानीय ,बुद्धिजीवी,नेपाल कम्युनिष्ट पार्टी र कांग्रेसका नेताहरुले समेत बताएका छन् ।

नेकपाका युवा नेता तथा संघीय संघीय साँसद महेश बस्नेतले अस्पतालको भबिष्यका लागि एकल रुपमा कसैले पाईला चाल्नुभन्दा सर्वपक्षीय र सर्वदलीय समिति गठन गरि अनियमितता भएको भन्ने बारे छानवीन गर्नुपर्ने र दोषी देखिए जो सुकै होस् कारवाही गर्नु पर्ने बताउनुभयो ।
नेपाल अबुद्र्ध रोग निवारण संस्था भक्तपुर जिल्ला कोषाध्यक्ष पूर्णकृष्ण श्रेष्ठले एका दुई संचारमाध्यममा अनियमितताको समाचार आएको निहुँमा अस्पतालमा हस्तक्षेप गर्नु अतिवाद भएको भन्दै अस्पतालको भबिष्यका लागि सर्वपक्षीय र सर्वपक्षीय समिति गठन गरि अनियमितता बारे छानवीन गर्नुपर्ने र दोषी देखिए जो सुकै होस् कारवाही गर्नु पर्ने बताउनुभयो ।

नेपाली कांग्रेसका नेता बिष्णुराज कार्कीले भक्तपुर क्यान्सर अस्पताल हडप्ने प्रपन्चले नेपाल मजदुर किसान पार्टीले जसरी एक लौटी ढङ्ग्मा अस्पतालमा समानान्तर कमिटी गठन गरेको छ यो खेदजनक भएको बताउनुभयो ।उहाँले भक्तपुर नगरपालिकाको हस्तक्षेपपछि क्यान्सर अस्पतालमा थप बिवाद चर्कंदै गएको बताउनुभयो ।

लोकेन्द्र बहादुर श्रेष्ठ अध्यक्ष रहेको व्यवस्थापन समितिका पदाधिकारीहरुबाट नै आर्थिक अनियमितता र भ्रष्टाचार भएको संचार माध्यम, कर्मचारी र स्थानीयबासिन्दाबाट व्यापक गुनासो आएको र त्यसविरुद्ध स्थानीय जनता तथा अस्पतालका चिकित्सक एवं कर्मचारीहरुबाट संघर्ष भइरहेको जानकारी पाएपछि अस्पताललाई जोगाउन नयाँ समिति गठन गरिएको नगर प्रमुख प्रजापतिले जानकारी दिनुभयो ।

स्थानीय जनताप्रति उत्तरदायी रही विरामीलाई कम शुल्कमा स्तरीय उपचार गर्नुपर्नेमा व्यवस्थापन समितिमा रही केही व्यक्तिहरुले व्यक्तिगत स्वार्थ पूरा गर्न भ्रष्टाचार गरेको र यस विषयमा नगरपालिकाका जनप्रतिनिधिहरुले पटक पटक व्यवस्थापन समितिका पदाधिकारीहरुसंग सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा नआएपछि अस्पतालको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखी नगर कार्यपालिकाले नयाँ व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको उहाँको भनाई छ ।

अस्पतालका अध्यक्ष श्रेष्ठ र महासचिव होडाले फार्मेसीदेखि ल्याबसम्म भाडामा दिएर कमिसन लिदै आएको, बिभिन्न सामान खरिदमा घोटाला गरेको, दाताले दिएको रकमको दुरुपयोग गरेको, अध्यक्षले अस्पतालको गाडी दुरुपयोग गरि बागबजारमा रहेको आफ्नो होटलमा समेत प्रयोग गरेको, अस्पताल भित्र व्यापक भ्रष्टाचार गरेको आरोप लाग्दै आएको छ ।

अस्पताललाई व्यवस्थित ढंगबाट संचालन तथा विरामीहरुलाई स्तरीय उपचार सेवा प्रदान गर्न पुरानो समिति भंग गरि नयाँ समिति गठन गर्ने निर्णय गरिएको प्रमुख प्रजातिले बताउनुभयो । क्यान्सर अस्पताल निर्माणका लागि नगरपालिकाको तर्फबाट ११ रोपनी जग्गा प्रदान गरिएको थियो । २०५३ सालमा तत्कालिन नगर प्रमुख प्रेम सुवाल समेत रहेको समिति र त्यसपछि पनि नगरपालिकालाई समितिमा राखे पनि कुनै पनि बैठकमा नबोलाउने गरेको नगरपालिकाको भनाई छ ।

‘अस्पतालले अरु निजी अस्पतालको भन्दा आधा शुल्कमा लिनायकबाट सेवा दिन सुरु गरेको मात्रै थियौं’ अध्यक्ष श्रेष्ठले भन्नुभयो ‘यसबाट निजी अस्पतालको आम्दानी गुम्ने भयो । यसैबाट डराएर उनीहरुले अस्पतालकै केही चिकित्सक र कर्मचारीहरुलाई हातमा लिएर नपालाई हस्तक्षेप गर्न उक्साए ।’तैपनि आफूहरु वार्ता, संवाद र सहकार्यबाट अस्पतालको नियमित सञ्चालनको लागि तयार रहेको उहँले जानकारी दिनुभयो ।कुनै कमजोरी गरेको पुष्टि भए आफूहरु सजाय भाग्न तयार रहेको भंग गरिएको भनिएका अस्पताल समितिका अध्यक्ष श्रेष्ठ र महासचिव होडाले बताउनुभएको छ ।

अध्यक्ष श्रेष्ठले समस्या समाधान गर्न भक्तपुर नगरपालिका र भक्तपुर नगरपालिकामा सत प्रतिशत प्रतिनिधित्व गर्ने नेपाल मजदुर किसान पार्टीको नेतृत्वसँग छलफल गर्ने प्रक्रिया अघि बढाइएको बताउनुभयो । अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ ९ वर्षदेखि अस्पताल व्यवस्थापन समितिको अध्यक्ष छन् ।

त्यस्तै समितिका महासचिब विमलकुमार होडाले अहिले आफूहरु अहिले अस्पताल जान सकिने अवस्था नरहेकोबताउनुभयो ।‘अहिले हामी व्यवस्थापन समितिका सदस्यहरु अस्पताल जान सकिने अवस्था छैन’, उहाले भन्नुभयो, ‘भक्तपुर नगरपालिका अस्पताल नै बन्द गर्ने गरी अघि आइरहेको छ ।’व्यवस्थापन समितिका पदाधिकारीहरुले आफूहरुको मौजुदा व्यवस्थापन समिति नै आधिकारिक भएको र भक्तपुर नपाले गठन गरेको भनिएको व्यवस्थापन समितिसम्बन्धी समाचारको भ्रममा नपर्न आग्रह गरेका छन् ।पुरानो समितिले पनि अस्पतालमै बैठक राख्ने तैयारी गरेको छ भने यससँगै अस्पातलमा दुई समितिको टक्करले तनाव हुने अबस्था सिर्जना भएको छ ।

अस्पतालका कर्मचारी भने बिवादका कारण अस्पतालको भबिष्यसँगै आफूरुहरुको पनि भबिष्य पनि संकटमा पर्ने हो कि भन्दै नयाँ समितिबाट समयमा तलब पाउने नपाउने चिन्ताले सताएको बताउँछन् ।भंग गरिएको भनिएका अस्पताल समितिका कोषाध्यक्ष केपी ताम्राकारले भक्तपुर नगरपालिकाले सबैसँग छलफल गरी सर्वपक्षीय सहमतिमा निकास खोजेको भए उचित हुन्थ्यो भन्दै अस्पतालको भबिष्य बचाउनका लागि सर्वपक्षीय र सर्वपक्षीय समिति गठन गरि अनियमितता बारे छानवीन गर्नुपर्ने र दोषी देखिए जो सुकै होस् कारवाही गर्नु पर्ने र नयाँ निकास खोज्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्