शान्ति सुरक्षाको सवालमा सरकार पूर्ण रुपमा असफल: उपसभापति निधी



यमलाल भुसाल, बुटवल ।
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधीले शान्ति सुरक्षाको सवालमा सरकार पूर्ण रुपमा असफल भएको बताउनु भयो ।

उपसभापति नीधिले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार तथा हत्या भएको यतिका समय भईसक्दा पनि सरकार मुकदर्शक बनेको उल्लेख गर्दै त्यसयता पनि बलात्कार तथा हत्या हिंसा बढिरहेकाले शान्ति सुरक्षाको सवालमा सरकार पूर्ण रुपमा असफल भएको अरोप लगाउनु भयो ।

उहाँले संघीय प्रणालीलाई कमजोर बनाउने र संविधानलाई धाराशाही बनाउने काम सरकारले गरेको आरोप लगाउनु भएको छ । उहाँले सरकारले संघीय शासन प्रणालीलाई स्वीकार गर्न नसकेकै कारण यसको कार्यान्वयनमा कन्जुस्याईँ गरेको जिकिर गर्नुभयो ।

रिपोटर्स क्लव प्रदेश ५ ले मंगलबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका काँग्रेस नेता निधीले सरकारले संवैधानिक व्यबस्थाहरु कार्यान्वयन नगरेर प्रदेशहरुलाई निरिह बनाएको समेत उल्लेख गर्नुभयो । ‘प्रधानमन्त्री ओलीले हालै संसदमा संघीय शासन प्रणालीलाई सफल हुन नदिन षड्यन्त्र छ भन्नुभएको छ ।’ उहाँले भन्नुभयो–‘संघीयतालाई कार्यान्वयन हुन नदिन कतैबाट षड्यन्त्र छ भने त्यो सरकारबाटै छ, होईन भने त्यो षड्यन्त्र गर्ने को हो जनतालाई प्रष्ट भन्नु पर्छ ।’

उहाँले निर्वाचन भएको यतिका समय भइसक्दा पनि मुलुक अझै संघीय व्यवस्था अनुसार चल्न नसकेको भन्दै त्यसको जिम्मेवारी सरकारले लिनु पर्ने बताउनु भयो ।

उहाँले बुटवलका पत्रकार डायलसन अधिकारीको सवारी दुर्घटनामा निधन भएकोमा शोक व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गर्नुभयो । रिपोटर्स क्लव प्रदेश ५का संयोजक राम कुमार क्षेत्रीको सभापतित्वमा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्