काउटिन्हो बार्सिलोनाबाट म्युनिकमा



बर्लिन, (एजेन्सी)।  बायर्न म्युनिकले आक्रमक मिडफिल्डर फिलिप काउटिन्होलाई बार्सिलोनाबाट ऋणमा सम्झौता गरेर क्लबमा भित्र्याएको छ। सोमबार भएको द्वीपक्षीय सम्झौतापत्रमा किन्ने विकल्प पनि उल्लेख गरिएको जर्मन क्लबले जनायो। बायर्नले ऋणमा काउटिन्होका लागि ८.५ मिलियन युरो तिरेको छ र किन्नुपरेमा १ सय २० मिलियन मूल्य लाग्ने पनि उल्लेख गरिएको छ।

बायर्नको जर्सीमा फोटो खिचाएपछि ब्राजिलीयन खेलाडीले खुसी जनाए। उनले भने– ‘मैले युरोपको उत्कृष्टमध्ये एक टोली र नयाँ देशमा नयाँ चुनौती पाएको छु। मसँग ठूला लक्ष्यहरु छन्। जस्तै बायर्न पनि हो। मलाई विश्वास छ कि नयाँ टोलीका साथीसँग राम्रो साथ पाउनेछु।

२७ वर्षीय काउटिन्हो जनवरी २०१८ मा १ सय ४२ मिलियन पाउन्डमा लिभरपुलबाट बार्सिलोनामा आवद्ध भएका थिए। स्पेनी महारथी टोलीका लागि उनले ७६ खेलबाट २१ गोल गरे। उनी बार्सिलोनाको अपेक्षामा खरो नउत्रेपछि क्लबले उनलाई बायर्न जान अनुमति दिएको हो।

नेयमार फर्काउने बाटो
काउटिन्होको बहिर्गमनले नेयमारलाई बार्सिलोना पुनः फर्काउन बाटो तयार गरेको विश्वास लिएको छ।

पेरिस सेन्ट जर्मेनको यस सिजनको पहिलो दुई खेलमा नेयमारलाई टोलीमा सहभागिता गराएको छैन। ब्राजिली स्ट्राइकरले अभ्यासमा पनि भाग लिएका छैनन्।

 

प्रतिक्रिया दिनुहोस्