नगदेशमा महाकाली नाच शुरू



नेपाल समाचारपत्र, भक्तपुर। मध्यपुरठिमीको नगदेशमा गाईजात्राको भोलिपल्ट साँझबाट सञ्चालन हुने महाकाली नाच शनिबार रातिदेखि शुरू भएको छ।
चार दिनसम्म रातिराति चल्ने यो नाचलाई नगदेशको चोक–चोकमा प्रदर्शन गरिन्छ।आर्थिक अभावका कारण ७ वर्ष प्रदर्शनमा ल्याउन नसकेर वि.सं. २०६६ सालदेखि बन्द यो नाच स्थानीय युवाहरूको सक्रियतामा वि.सं. २०७३ सालदेखि पुनः सञ्चालनमा आएको स्थानीय बुद्धिजीवी कृष्णबहादुर घजूले बताउनुभयो।
महाकाली नाच प्रदर्शनका लागि करिब १२ लाख रुपियाँ खर्च हुने महाकाली नाच संरक्षण समितिले बताएको छ। नाच प्रदर्शनका क्रममा चारैदिन सहभागी हुनेलाई भोज खुवाउनु पर्ने भएकाले खर्च बढी लाग्ने स्थानीय बताउँछन्।
महाकाली नाचमा महाकाली, महालक्ष्मी, कुमारी, सिंह, बेता, भूत भैरव, कवं, ख्याक, माकः (बाँदर), म्ह्यखा र मयूर गरी १७ देवगणको स्वरूपमा नाच सञ्चालन गरिन्छ। महाकाली नाच प्रदर्शनका कारण यस क्षेत्रमा भूत, प्रेत, पिशाच, जल, अग्नी, वायु, भूकम्प, चट्याङ् र चोरको भय नहुने जनविश्वास रहेको छ।

नाचका नर्तकले लगाउने पोशाक, मुकन्डो र नृत्य गर्ने शैलीले गर्दा यो नाच तन्त्रमा आधारित देखिन्छ। महाकाली नाचमा विभिन्न २१ वटा ताल रहेको र विभिन्न फरक–फरक समूह फरक–फरक तालमा नचाइने परम्परा रहेको छ। मुख्य भूमिकामा रहेका देवीको एकल नाच पनि प्रदर्शन गरिन्छ। नाचमा ८ वर्षका बालकदेखि ३५ वर्षका युवासमेतको सहभागिता रहने गरेको छ। यो नाचको सुरुआत र समापनमा देवदेवीको विशेष पूजाआजा गरिन्छ
नगदेश सांस्कृतिक पुचःका विनोद कोजूले अरू नाचको तुलनामा महाकाली नाच सिकाउन कठिन रहेको र धेरै खर्च लाग्ने बताउनुभयो। नाचका क्रममा ८ वटा कुखुरा, २ वटा बोकाको बली चढाउनुपर्ने परम्परा रहेको छ। महाकाली नाचमा मुख्य भूमिकामा रहेका देवीको एकल नाच पनि प्रदर्शन हुन्छ।
नातमो एकताल, दुताल, चौताल, परताल, ब्रम्हताल, अष्ट्राताल, बौतय्गु ताल, दैत्यसम्हार तालमा पूरै कलाकार सहभागी गराएर मृडङ, मूहाली, ताः, बौ, धा, भूस्या, नायखी, छुस्याय्लगायतका बाजा बजाएर नचाइने कोजूले जानकारी दिनुभयो।
महाकालीको एकल नाचमा महाकालीका वहानका रूपमा रहेका चारजना बेता, महालक्ष्मीको एकल नाचमा बहानका रूपमा रहेका सिंह र चारजना बेता तथा कौमारीको एकल नाचमा म्ह्यखा (मयुर) र चार जना बेता सहभागी भएर नचाइन्छ। यो नाच नगदेशका विभिन्न भागमा मात्र नभएर आमन्त्रण गरिए मध्यपुरठिमीका अन्य भागमा पनि प्रदर्शन गर्ने गरिन्छ।

महाकाली नाचमा रातो जामा लगाइएका महाकाली एक, पहलो जामा लगाइएका महालक्ष्मी एक, रातो जामा लगाएको कौमारी एक, कालोमा विभिन्न रंगको कपडा मुठा जोडेका सिंह एक, रातो कछाड लगाएका बेता चार, कालो कपडा लगाएका भूत भैरव दुई, सेतो घोती वा कछाड लगाएका कवं दुई, नालु गाँसेको खैरो पुटुलं र सुरुवाल लगाएका ख्याक दुई, खैरो कटु र सर्ट लगाएका माकः (बाँदर) दुई, मयूरको भेषमा म्ह्यखा एक र कालो कपडाको जामा लगाइएको मैसासुर दैत्य एक गरी १८ नर्तकसम्म रहने गर्दछन्। यो बर्ष नगदेशमा अनिश वैद्य महाकाली,सुशन घजू महालक्ष्मी,सन्जयतको कुमारीलगायत विभिन्न भेषमा नाच्दैछन्।
त्यस्तै मध्यपुर ठिमीकै बालकुमारीमा पनि ऐतिहासिक भैरव नाच प्रदर्शन शुरू गरिएको छ भने, बोडेमा नीलवाराही नाचसमेत देखाउने गरिन्छ।

प्रतिक्रिया दिनुहोस्