प्रहरीको इमानमा दाग नलगाउँ ः महानिरीक्षक खनाल



????????????????????????????????????
कर्ण प्रधान, काठमाडौं। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कर्मचारीलाई प्रशिक्षणका क्रममा प्रदान गरिने व्यवहारिक एवम् सैद्धान्तिक ज्ञान, सीप आगामी कार्यक्षेत्रमा अत्यन्तै उपयोगी हुने भएकोले त्यस्ता ज्ञान, सीप पूर्णरूपमा ग्रहण गर्न प्रशिक्षार्थीलाई सकारात्मक सोचकासाथ दृढ संकल्पित हुँदै प्रहरीको इमानमा कुनै दाग नलगाउन आग्रह गर्नु भएको छ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सोमबार आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित पोस्ट ग्य्राजुयट डिप्लोमा इन पुलिस साइन्स कार्यक्रम समावेश भएको १८०औं समूहको प्रहरी निरीक्षक आधारभूत तालिमको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताउनुभएको हो।

प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीलाई दिएको जिम्मेवारी दृढता पूर्वक सम्पन्न गर्न सक्छु र हरेक दिएका जिम्मेवारी पूर्ण निष्ठाकासाथ पूरा गर्छु भन्ने भावनाको विकास प्रशिक्षार्थीले गर्नुपर्ने बताउँदै संगठनको गरिमा, प्रतिष्ठालाई थप उच्च बनाउनका लागि तालिममा अत्यन्तै निपूर्णताका साथ उत्कृष्टता हासिल गर्नुपर्ने बताउनुभयो।
नेपाल प्रहरीको मेरुदण्डको रूपमा रहेको प्रहरी निरीक्षक दर्जामा सेवा प्रवेश गरी राष्ट्रको सेवा गर्न पाउनु ठूलो अवसर रहेको उल्लेख गर्दै यसको गरिमा र महत्त्वलाई आत्मसाथ गरी आगामी दिनमा दत्तचित्त एवम् उच्च अनुशासित भएर तालिममा निपूर्णता हासिल गर्न प्रहरी महानिरीक्षक खनालले प्रशिक्षार्थीलाई निर्देशन दिनुभयो।

सो अवसरमा सोही प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले प्रहरी संगठनले सञ्चालन गर्ने तालिममध्ये प्रहरी निरीक्षक आधारभूत तालिमलाई प्रतिष्ठानले विशेष महŒवकासाथ सञ्चालन गर्नुका साथै गुणस्तरीय प्रहरी जनशक्ति उत्पादन गर्न सदैव कटिवद्ध रहेको बताउनुभयो।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका निमित्त डिन प्रा.डा. ध्रुबकुमार गौतमले नेपाल प्रहरी देश सेवाको गरिमा बोकेको संगठन भएको उल्लेख गर्दै देशको सेवा गर्ने प्रण र अठोट बोकी संगठनमा प्रवेश गरेका प्रशिक्षार्थीको भविष्य उज्जवल रहेको बताउनुभयो।

तालिम संयोजक प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले खुल्ला प्रतिस्पर्धाबाट उत्तीर्ण विभागीयतर्फका प्रहरी निरीक्षक ९३ जना र खुल्लातर्फ नवनियुक्त प्रहरी निरीक्षक १५ जना गरी कुल १०८ जना प्रशिक्षार्थी प्रहरी निरीक्षकको सहभागिता रहेको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्