पर्यटक पार्किङस्थलको ताल्चा खुल्यो



 नन्दगोपाल क्षत्री, ललितपुर । ललितपुर महानगरपालिकाले १८ महिनापछि पलेस्वाः पुखु निर्माण शुरू गर्ने निर्णय सार्वजनिक गर्दै पर्यटक सवारी साधन पार्किङ स्थलको ढोकामा लगाएको ताल्चा आइतबार खोलेको छ।

ललितपुर महानगरपालिका कार्यालय भवनको दक्षिणमा  रहेको करिब ५ रोपनी उक्त जग्गामा नःत्वा ः सुधार समितिले साउनको १ गतेबाट ताल्चा लगाएको थियो।

असार ३१ गतेसम्म समितिले नै त्यस स्थानमा पार्र्किङ सञ्चालन गरेको थियो। महानगरले टेन्डर प्रक्रियामार्फत आएको समूहलाई पार्किङ संचालनको स्वीकृति दिएपछि उक्त समितिले पार्किङ स्थलमा पोखरी नै निर्माण गर्नुपर्ने माग अघि सारेको थियो।

महानगरले आइतबार सार्वजनिक गरेको कार्यक्रमअनुसार आउँदो मंगलबार डीपीआर र ईआईए कार्य शुरू गर्ने उल्लेख गरिएको छ। महानगरका प्रमुख चिरीबाबु महर्जनले पर्यटक भ्रमण वर्ष २०२०लाई लक्षित गरेर सो स्थानमा केही समय पार्किङ नै सञ्चालन गर्न लागेको बताउनुभयो।
उहाँले भन्नुभयो– ‘पाटन दरबार क्षेत्र प्रवेश गर्ने मुख्य मार्ग पुल्चोक हो, महानगरको अन्यत्र यस्तो खुल्ला ठाउँ छैन, त्यसैले त्यो समयसम्म पार्किङ नै सञ्चालन गर्न लागेका हौं।’ नगरप्रमुख महर्जनले महानगरले पोखरीको ठाउँमा चिरकाल पर्यन्त पार्किङ सञ्चालन गर्ने योजना नबनाएको प्रस्ट पार्नुभयो।
महानगरले यो विवादलाई संवाद र सहमतिबाट नै टुंगोमा पुर्याउन वडा नं ३का वडा अध्यक्ष श्रीगोपाल महर्जनको संयोजकत्वमा दुई सदस्यीय वार्ता समिति गठन गरेको थियो। वार्ताको मध्यस्तता ज्यापू समाजले गरेको थियो।
महानगरलाई मासिक ४० हजार रुपियाँ तिर्ने गरी टेन्डर सम्झौता गरेर समितिले पार्किङ शुरू गरेको थियो।सो अवधिमा भएको टेन्डर सम्झौताअनुसार प्रत्येक वर्ष निश्चित प्रतिशत बढ्दै जाँदा यो गत असार मसान्तसम्म ५७ हजार पुगेको थियो। जुन अहिलेको समयमा अत्यन्तै न्यून हो। उक्त पार्किङ स्थलका लागि १ लाख ६१ हजारको टेन्डर परेको छ।
नःत्वाः सुधार समितिको पार्किङ सञ्चालन गर्ने समय अवधि असार मसान्तमा सकिने भएकाले महानगरपालिकाले जेठ १० गते नै राष्ट्रिय दैनिक पत्रिकामा टेन्डरको सूचना प्रकाशित गरेको थियो। टेन्डर आह्वान गर्दा उक्त समिति टेन्डरमा सहभागी भएको थिएन।

प्रतिक्रिया दिनुहोस्