सरकार सत्तापक्षको, सदन प्रतिपक्षको



संसदीय प्रणालीमा सभामुखविरुद्ध नाराबाजी हुनु दुर्लभ र अत्यन्तै आपत्तिजनक मानिन्छ। सभामुखविरुद्ध सदनमै नाराबाजी गरिएको नेपालको संसदीय इतिहासमा शायद विरलै होला। विश्वमा पनि विरलै यस्ता घटना भएका छन्।

तर अहिलेका सभामुख कृष्णबहादुरको पालामा यस्तो भएको छ। विदेशको कुरा गर्ने हो भने सभामुख चर्को बोली भएका अग्ला र स्मार्ट हुनुपर्ने हुन्छ। तर प्रविधिको विकासले अहिले त्यस्तो कमै देशमा भएको पाइन्छ। त्यसैले आजका सभामुखले उच्च आवाजमा बोल्न पर्दैन, ध्वनियन्त्रले आवाज उच्च बनाएर सबैले सुन्न सक्ने बनाइदिन्छ।

आजका सभामुख निष्पक्ष, तटस्थ र विवेकी हुनुपर्छ। ऊ कुनै पनि राजनीतिक दलमा लागेको हुनुहुँदैन। प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महारा तत्कालीन नेकपा माओवादीबाट निर्वाचित सांसद हुन्। सभामुख बनेपछि उनले पार्टीबाट राजीनामा दिएका छन्। अहिले उनी कुनै पनि पार्टीका सदस्य होइनन्।

यस्तै २०४८ सालमा सभामुख बनेका दमननाथ ढुंगाना। नेपालमा संसदीय परिपाटी तथा संस्कार निर्माणमा उनको कार्यकाल उल्लेखनीय मानिन्छ। उनले सदनमा भनेका थिए, ‘सरकार सत्तापक्षको, सदन प्रतिपक्षको।’ अर्थात् सदनमा प्रतिपक्षले खुलेर बोल्न पाउनुपर्छ, सरकार सत्तापक्षले चलाउनुपर्छ।

सदन सञ्चालनका लागि उनको त्यो वाक्य अझै पनि सैद्धान्तिक मार्गदर्शनका रुपमा लिने गरिन्छ। उनले भन्ने गर्थे, ‘सदन चलाउने, सदनमा बोल्ने काममा प्रतिपक्ष लाग्नुपर्छ, सदन अवरुद्ध गर्ने काममा प्रतिपक्ष लाग्न हुँदैन। उनको यस्तो भनाइलाई ‘कांग्रेस बोलेको’ अर्थमा लिइयो तर तत्कालीन प्रतिपक्षले गम्भीरताका साथ लिएन।

दमननाथ कांग्रेसबाट निर्वाचित सांसद थिए। नेपालमा संसदीय अवरोधले सबैभन्दा पीडित पार्टी कुनै छ भने त्यो कांग्रेस नै हो। अहिले कांग्रेस नै सदन अवरुद्ध गर्ने काममा लागिपर्नु भनेको संसदीय प्रणालीका लागि शुभ संकेत होइन। सदन अवरुद्ध गर्ने मात्र नभएर सभामुखविरुद्ध नाराबाजी गर्ने काममा समेत कांग्रेस लाग्यो। कांग्रेसको सैद्धान्तिक, वैचारिक तथा संगठनात्मक पतन कुन हदसम्म भइसकेको छ भन्ने यो उदेक लाग्दो नमुना हो।

सदनमा अवरोध गर्ने विभिन्न शैली छ। शून्य समय, विशेष समय सकिएपछि सदन व्यवस्थापन कार्यमा प्रवेश गर्छ। व्यवस्थापन कार्यमा मात्र सदन अवरोध गर्ने परम्परा लगभग स्थापित भइसकेको थियो। त्यस विपरीत कांग्रेसले बैठकको शुरूमै अवरोध गर्यो। शुरूमै बैठक अवरुद्ध गर्दा कांग्रेसका आफ्नै सांसदहरूले पनि जनसाधारणका समस्याबारे सदनमा बोल्न पाउँदैनन्। सबैको बोल्ने बाटो बन्द गरेर सदन अवरुद्ध गर्नु कांग्रेसका लागि सुहाउँदो काम होइन। शून्य समय र विशेष समयमा सांसदहरूले बोल्न पाउनुपर्छ। कांग्रेसले संसद्भित्रको आवाज थुन्न हुँदैन।

विगतमा रामचन्द्र पौडेलविरुद्ध तत्कालीन एमालेले महाभियोग प्रस्ताव राख्यो। तर सदनमै नाराबाजी भने गरेको थिएन। विगतका सभामुखहरूको पनि विरोध भएकै हो। तर यसरी सदनमै नाराबाजी गरेर हुर्मत लिने काम गरिएको थिएन। सभामुख पदमा कुनै व्यक्ति बसेका हुन्छन्, उनको हुर्मत लिने नाममा सभामुख पदकै अपमान गर्नु, अवज्ञा गर्नु स्वीकार्य हुन सक्दैन।

नेपालको पहिलो सभामुख कृष्णप्रसाद थिए, अहिले कृष्णबहादुर छन्। कृष्णप्रसाददेखि कृष्णबहादुरसम्मको यात्रामा मुलुकले ७ जना सभामुख पाइसकेको छ, ६ दशक बिताइसकेको छ। यो ६ दशकमा संसदीय अभ्यास झन् उन्नत हुनुपर्ने थियो। तर संसदीय प्रणालीप्रति अत्यन्त प्रतिबद्ध मानिएको कांग्रेस नै मुलुकले गुमाएको छ। कांग्रेस पार्टी जीवित छ तर उसको सैद्धान्तिक आदर्शबाट ‘संसदीय प्रणालीप्रति प्रतिबद्ध’ भन्ने वाक्य झिकेर मिल्काइएको छ।

– खेमराज पौडेल, पोखरा।

प्रतिक्रिया दिनुहोस्