बालबालिकाको शिक्षामा ध्यान दिऔं



बालबालिकाको पहिलो पाठशाला भनेको घर हो। जबसम्म घर शिक्षामैत्री हुँदैन, शैक्षिक सामग्री खरिदका लागि निम्नवर्गीय परिवार सक्षम हुँदैन, तबसम्म बालबालिकालाई विद्यालयमा डोर्याउन सकिँदैन। बालबालिकालाई विद्यालय भर्ना गरिए पनि उनीहरू टिकाउनको लागि हम्मे पर्दै आएको छ।

शिक्षाको महत्वबारे चेतनाको कमी हुँदा अभिभावकले पनि त्यति चासो नदेखाउँदा बालबालिका विद्यालयप्रति आकर्षित भएको पाइँदैन।

विशेष गरी कडा मजदुरी गरी बिहान–बेलुकी हातमुख जोर्दै आएको श्रमजीवी वर्गका बालबालिका विद्यालयबाहिर रहेको सरकारी तथ्यांकले देखाउँछ।

विभिन्न अक्षयकोष स्थापना गरेर बालबालिकालाई पुरस्कारको व्यवस्था गरेमा, आफ्नो ठाउँको विद्यालय सुधारका लागि आईटी कक्षासहित कम्प्युटर तथा ई–पार्टीमार्फत विद्यार्थीलाई नवीनतम प्रविधिको ज्ञान दिने व्यवस्था गरेमा पनि अलि आकर्षण बढाउन सकिन्छ।

सरकारी विद्यालय पछाडि पर्नुको अर्को कारण भनेकै पुरातनवादी सोच भएका शिक्षक ठूलै रहेको छ। विभिन्न सूचना प्रविधिसँग अपडेट नहुने शिक्षकले पुरानै ढर्राबाट शिक्षण गर्दा विद्यार्थी आकर्षित हुँदैनन्। विद्यालयले सिकाइ सामग्रीको पर्याप्त व्यवस्था गर्नु जरुरी देखिन्छ।

– सपना बराल, पर्वत।

प्रतिक्रिया दिनुहोस्