राजतन्त्रको भूत



राजतन्त्र फेरि फर्किन सक्तैन भन्दै प्रधानमन्त्रीदेखि राजनीतिक दलका नेताहरू कस्सिएर प्रतिवाद गर्न थालेपछि आम नागरिक ‘कसले आउँछ भनेछ’ भनेर एक–आपसमा सोधासोध गर्न थालेका छन्। नेपालमा संविधानले नै मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक हुनेछ भनेर भनिसकेको छ। राजतन्त्रको बिदाइ भएको एक दशकभन्दा बढी समय बितिसकेको छ।

पूर्वराजा ज्ञानेन्द्र शाहले आम नागरिकको जीवन बिताइरहेको देखिन्छ। यस्तो अवस्थामा पूर्वराजा शाहले बोल्नेबित्तिकै वा कहीं–कतै भेटघाट गर्नेबित्तिकै मुलुकका प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीदेखि लिएर अधिकांश दलका नेताहरूले एकाएक उत्तेजित्त हुने गरेका छन्। एक पटक मात्र नभई बारम्बार यसलाई लिएर गालीगलौजमा समेत उत्रिने गरेको पाइएको छ।

२ सय ४० वर्षसम्म मुलुकमा अस्तित्वमा रहेको राजसंस्था वा राजाप्रति कसैको आस्था र श्रद्धा होला, यसमा अनौठो मान्नुपर्दैन। विश्वमै कुनै समय प्रायः सबैतिर राजा थिए, तर सीमित मुलुकबाहेक सबैतिर मासिए।

नेपालमा पनि त्यही इतिहास निर्माण भएको हो, जो उल्टिने सम्भावना छैन। मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय एकताका लागि राजसंस्था अपरिहार्य छ भन्ने एक–दुई राजनीतिक दल भए तापनि उनीहरूको हैसियत जनताले देखाइसकेका छन्। पूर्वराजा शाहले पनि मुलुकको अवस्थालाई लिएर एक नागरिकसरह आफ्नो विचार पोख्नुभएको छ।

मुलुकमा भ्रष्टाचार हुनुहुँदैन, इमानदारीका साथ नेताहरूले काम गर्नुपर्छ र राष्ट्रिय एकता प्रदर्शन गरिनुपर्छ भन्नु स्वाभाविक छ। तर, यस्ता अभिव्यक्तिलाई नेताहरूको स्तरबाट प्रतिक्रिया दिनु र पूर्वराजालाई हप्काउनु आवश्यक देखिन्न। हालै पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजालाई नागार्जुनबाट बाहिर निकाल्नुपर्ने अभिव्यक्ति दिनुभएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली बारम्बार राजसंस्था फर्कंदैन भनिरहनुभएको छ। के नेताहरूले राजसंस्था फेरि फर्किनसक्ने भयकै कारण यस्तो अभिव्यक्ति दिएका हुन् त ? पूर्वराजालाई देशको असफलताको सबैभन्दा ठूलो शत्रु करार गरेर आफू सबैभन्दा बढी क्रान्तिकारी देखिने दशकौंदेखिको खेलमा नेताहरूको अझै मोह भ· भइनसकेको अवस्था हो त ? वा अहिलेको शासनको असफलताको दोष लुकाउन यस्तो खेल रचिएको हो ? आम नागरिकहरू यस्ता प्रश्नमा रुमलिएका देखिन्छन्।

स्वतन्त्ररूपमा हिँडडुल गर्न पाउने, शान्तिपूर्णरूपमा भेला हुने, विचार तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रका शाश्वत मान्यता हुन्। पूर्वराजा शाहले बोल्दैैमा लोकतन्त्रलाई खतरा हुँदैन। जनताको बलिदानीबाट स्थापित लोकतन्त्र यति कमजोर छैन।

आफूभन्दा भिन्न विचार राख्नेप्रति सम्मान वा भिन्न विचार सुन्ने र त्यसप्रति सहमति–असहमति प्रकट गर्ने राजनीतिक संस्कारको विषय हो। पूर्वराजाप्रतिको उत्तेजनाले नेताहरूमा राजनीतिक संस्कारको सर्वथा अभाव रहेको प्रस्ट्याउँछ।

अर्कोतर्फ दलहरूले देश र जनताको सर्वोत्तम हितलाई केन्द्रबिन्दुमा राखेर काम अघि बढाउने हो भने व्यवस्थाको विकल्प खोज्नु त टाढाको कुरा नागरिकले वर्तमान सरकारकै विकल्प पनि खोज्दैनन्। बरु, पूर्वराजा र राजतन्त्रप्रति आक्रामक भाषा र प्रतिवादपूर्ण अभिव्यक्ति कम्तीमा ठूला दलका नेतालाई सुहाउने विषय होइन।

यसले राजतन्त्र फर्काउने असफल सपना देख्ने समूहलाई भने ‘मायलेज’ प्राप्त हुनेछ। ‘बुद्धिमान्हरू मूर्ख प्रश्नको पछि लाग्दैनन्’ भन्ने उक्तिलाई सम्झेर नेताहरूले यस्ता विषयलाई बेवास्ता गर्नुपर्छ।

 

प्रतिक्रिया दिनुहोस्