पुडासैनीको मृत्यु र रविको गिरफ्तारी प्रकरण ः निष्पक्ष छानबिन र जीवनरक्षाको सवाल



-बद्री तिवारी

नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु तथा निजको मृत्युको घटना ‘आत्महत्या’बाट भएको र त्यस घटनामा शंकास्पद ठानिएका टीभी प्रस्तोता रवि लामिछानेसहित तीनजनाको गिरफ्तारीपछि चितवनको भरतपुर बजार त तातेकै छ, यस घटनाले मुलुकका प्रायः सबैजसो ठाउँमा एक किसिमको हलचल नै ल्याइदिएको छ।

त्यो मृत्यु हत्या वा आत्महत्यामध्ये कुन कारणबाट भएको रहेछ भनी छानबिन भइरहेकै बेला सार्वजनिक भएको मृतकले खिचेको भनिएको भिडियोमा निजले आफूलाई ‘आत्महत्या’ गर्न बाध्य पार्ने भनी आरोप लगाइएका न्युज २४ का सीधा कुरा जनतासँग कार्यक्रमका सञ्चालक पत्रकार रवि लामिछाने, सोही बिटका अर्का पत्रकार युवराज कँडेल र ओखलढुंगा घर भई काठमाडौंको बसुन्धरास्थित बीपी स्मृति अस्पतालमा कार्यरत नर्स रुकु भनिने अस्मिता कार्कीको गिरफ्तारीपछि चितवन तनावग्रस्त भएको छ भने सुरक्षाकर्मीका लागि वास्तविक दोषी पत्ता लगाउने क्रममा गरिरहेको अनुसन्धान चुनौतीपूर्ण छ।

घटना विवरणअनुसार यही २०७६ साउन २० गते चितवन, नारायणघाटस्थित बसपार्कनजिकैको होटल कंगारुको कोठाभित्र झुन्डिएको तथा मृत अवस्थामा भेटिएका पत्रकार पुडासैनीको मृत्युको कारण अझै खुलिसकेको छैन। झुन्डिएको अवस्थामा भेटिएकाले निजले आत्महत्या नै गरेको अड्कलबाजी गर्नेहरूको संख्या कम छैन, तर निजलाई हत्या गरेपछि झुन्ड्याइएको हुन सक्ने आवाज पनि उठिरहेको छ।

प्रहरीले घटनाबारे लगातार अनुसन्धान गरिरहेकै बेला आत्महत्या गर्नुभन्दा पहिला आफैंले खिचेको भिडियोमार्फत पुडासैनीले आफूलाई आत्महत्या गर्न बाध्य पार्ने परिस्थिति सिर्जना गरेको भन्दै रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीको नाम लिएको फेला परेपछि प्रहरीले तीनैजनालाई गत साउन ३० गते पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, चितवनको हिरासतमा राखेर घटनाबारे अनुसन्धान गरिरहेको छ।

घटनाबारे त प्रहरीले अनुसन्धान गर्ला, दोषी र निर्दोष छुट्याउने काम अदालतले गर्ला तर सोही घटनाका कारण उत्पन्न परिस्थितिलाई समयमै काबुमा राख्न र सर्वसाधारणमा सुरक्षाको अनुभूति गराउने काम सरकारले गर्नुपर्ने टड्कारो खाँचो देखिएको छ।

मृतक पुडासैनीले न्याय पाउनुपर्ने माग गर्दै निस्कने जुलुस र रवि लामिछानेको रिहाईको माग गर्दै दिनदिनैजसो निस्कने जुलुसका कारण अनुसन्धान प्रभावित हुने हो कि भन्ने आशंका पनि गरिँदै छ।

निश्चय नै यस घटनाको निष्पक्ष छानबिन हुनुपर्छ र दोषीमाथि प्रचलित कानुनबमोजिम कारबाही हुनुपर्दछ भन्नेमा कुनै द्विविधा छैन तर यही घटनालाई निहुँ बनाएर भइरहेको गतिविधिबाट सर्वसाधारण नागरिकको जीउधनको सुरक्षा भने चिन्ताको विषय बन्दै गएकोले स्थानीय सुरक्षा निकाय, नागरिक समाज र सम्बद्ध परिवार तथा पेसा व्यवसायसँग सम्बन्धित व्यक्तिहरूले संयम अपनाउनुपर्ने भइसकेको छ।

घटनालाई राजनीतीकरण गर्ने, आ–आफ्नो गुट तथा समूहगत स्वार्थ पूरा गर्ने ध्येयका साथ इबी साँध्न खोज्नेहरूबाट समाजमा अराजकता र उच्छृङ्खलतासिबाय अरू केही आशा गर्न सकिँदैन। रविको रिहाईको माग गर्नेहरूले उनको जीवनरक्षाको आवाज उठाइरहेका र मृतक पुडासैनीले न्याय पाउनुपर्दछ भन्नेहरूले अस्वाभाविक लाग्ने दोषारोपण गर्ने क्रमले व्यापकता पाएपछि अनावश्यक द्वन्द्व उत्पन्न भएको छ, जसबाट समाजमा त्रास, असुरक्षा र अस्वस्थ गतिधिहरूको क्रम बढिरहेको देखा पर्दछ। त्यसैले त्यसतर्फ सरोकारवालाहरू सजग हुनु आवश्यक छ।

प्रसंग निष्पक्ष छानबिन हुनुपर्ने विषयसँग जोडौं। मृतक पुडासैनीले मर्नुअघि रेकर्ड गरेको भिडियोमार्फत निजको आत्महत्या गर्न दुरुत्साह गर्ने काममा आफूसहितका तीनजनाको नाम सार्वजनिक भएपछि रविले गत साउन २९ गते बुधबार आफ्नो फेसबुक स्टाटसमा यस्तो लेखेका थिए, ‘आरोप लगाउने मरेर गए पनि आरोप खेप्ने म जिउँदै छु। मर्नेले लगाएको एउटा मात्रै आरोप प्रमाणित होस् र हदैसम्मको सजाय होस्।

थप जानकारी केही समयमा गराउनेछु। सारा आरोप सुन्दा लाग्यो शालिकरामलाई ठूलो भ्रम परेछ।’ यो स्टाटस राखेको भोलिपल्ट साउन ३० गते बिहीबार रविसहित निजका पत्रकार साथी युवराज कँडेल र अर्की एक युवती अस्मिता कार्की पक्राउ परे।

मृतक पुडासैनीले रवि र युवराजमाथि आत्महत्या गर्ने स्थितिमा पुर्याएको तथा अस्मितामाथि आफूलाई डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया पठाइदिने, र तिनै युवतीसँग संगतमा पारेर ठूलै काण्ड मच्चाउने प्रपञ्च रच्ने पनि रवि र युवराज नै भएको लगायतका आरोप लगाएको भिडियोमार्फत जानकारी हुन्छ।

अब यस्तो स्थितिमा वास्तवमै निष्पक्ष छानबिनको लागि वातावरण सहज रहोस् भन्ने मनसायका साथ सबैतर्फबाट आवाज उठिरहेको छ, त्यसलाई सम्मान गर्नु सरोकारवालाहरूको पनि दायित्व हो। त्यसैले दुवै पक्षले जुलुस तथा नाराबाजी बन्द गरेर अनुसन्धानलाई सघाउनु नै बुद्धिमता ठहर्नेछ।

दोषी ठहरिएमा सजायको भागीदार हुनेसम्मको अभिव्यक्ति दिइसकेपछि अब आफ्नो पक्षमा उर्लिएको समर्थकहरूको जमातलाई संयम हुन, छानबिनको निष्कर्ष पर्खन तथा शान्तिसुरक्षाको वातावरण कायम राख्नका लागि आह्वान गर्नुपर्ने दायित्व निर्वाह गर्दा रविको छवि धूमिल हुनबाट बचाउन सहयोग मिल्नेछ।

दोषी ठहरिएमा सजायको भागीदार हुनेसम्मको अभिव्यक्ति दिइसकेपछि अब आफ्नो पक्षमा उर्लिएको समर्थकहरुको जमातलाई संयम हुन, छानबिनको निष्कर्ष पर्खन तथा शान्तिसुरक्षाको वातावरण कायम राख्नका लागि आह्वान गर्नुपर्ने दायित्व निर्वाह गर्दा रविको छवि धूमिल हुनबाट बचाउन सहयोग मिल्नेछ। त्यस्तै पुडासैनी पक्षधरले पनि यस विषयलाई राजनीतीकरण गर्नुभन्दा स्वतन्त्ररुपमा छानबिन गर्न दिएर वास्तविकता पत्ता लगाउन, दोषी पत्ता लगाएर हदैसम्मको कारबाही गराउनका लागि संयम बन्नुपर्दछ।

त्यस्तै पुडासैनी पक्षधरले पनि यस विषयलाई राजनीतीकरण गर्नुभन्दा स्वतन्त्ररुपमा छानबिन गर्न दिएर वास्तविकता पत्ता लगाउन, दोषी पत्ता लगाएर हदैसम्मको कारबाही गराउनका लागि संयम बन्नुपर्दछ। दुवै पक्षबाट भइरहेका गतिविधि यथावत् रहने हो भने यही मौका छोपेर धमिलो पानीमा माछा मार्नेहरूका कारण सर्वसाधारण जनताले अनावश्यकरुपमा दुःख पाउनेछन्।

हुन पनि यतिखेर चितवनमा रविको समर्थनमा जुलुस तथा प्रदर्शनहरू भइरहेका, प्रहरीमाथि ढुंगामुढा र प्रहरी भ्यानमा प्रहारजस्ता गतिविधि भएका तथा प्रहरीका तर्फबाट अश्रुग्यास र लाठीचार्जका कारबाही भएकाले सर्वसाधारण नागरिकहरू अनावश्यकरुपमा प्रभावित बन्नुपरेको छ। यसै विषयलाई लिएर संघीय संसद्मा पनि सभासदहरूले आवाज उठाइरहेका छन्। जताततैबाट निष्पक्ष छानबिनको माग भइरहेकोले वास्तवमै छानबिनका लागि सहयोग सबैबाट हुनुपर्दछ भन्नेमा कसैको विमति रहँदैन।

यसै बीच नेपाल कम्युनिस्ट पार्टी, जिल्ला कार्यालय, चितवनले सोमबार एक विज्ञप्ति जारी गर्दै अदालतको आदेशमा न्यायिक हिरासतमा रहेका व्यक्तिहरूको समर्थनमा निस्किएका जुलुस तथा भीडले हुलहुज्जत गरेको तथा नेकपाका शीर्ष नेतृत्वको नाम नै किटेर नाराबाजी गरेकोप्रति आपत्ति जनाएको छ।

जिल्ला अध्यक्ष यमबहादुर परियार इन्द्रजीत र सचिव कृष्णभक्त पोखरेलद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा निष्पक्ष छानबिनको माग गर्दै निर्दोष नपरुन्, दोषी नउम्किऊन् भन्ने चाहना सो पार्टीको रहेको उल्लेख छ। निश्चय नै सबैले शान्तिसुरक्षाको पक्षमा नै आवाज उठाउनुलाई सकारात्मक नै मान्नुपर्दछ तर यस्ता आपराधिक घटनालाई एकाएक राजनीतीकरण गर्दा त्यसबाट निम्तिने परिणाम सुखद नहुने कुरामा भने सबै सचेत बन्नै पर्दछ। अन्यथा अकल्पनीय दुर्घटनाहरू नहोलान् भन्ने कुनै प्रत्याभूति हुँदैन। अतः यस विषम परिस्थितिलाई साम्य पार्नका लागि स्वतन्त्र नागरिक समाज तथा संघसंस्थाहरूले शान्तिका लागि संयुक्त अपिल गर्नुपर्दछ। अनि मात्र अनियन्त्रित भीडको सम्भावना घट्नेछ।

यतिखेर रवि लामिछाने अरूभन्दा बढी नै चर्चित पात्र यसकारण पनि बनेका छन् कि उनले धेरैको उद्धार गरेका थिए। निजी क्षेत्रको टेलिभिजन च्यानल न्यूज ट्वेन्टी फोर (२४) बाट नियमितरुपमा प्रसारण हुँदै आएको सीधा कुरा जनतासँग मार्फत समस्यामा परेका स्वदेशमा रहेका तथा वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका नेपालीहरूको उद्धार गर्दै आएका थिए। र, त्यो कार्यक्रम एउटा अभियानकै रुपमा सञ्चालन गर्दै आएका थिए। अझ भ्रष्टाचारीको दोहोलो काढ्न होस् वा अनियमितता गर्ने, उपभोक्ता तथा सेवाग्राही जनतालाई दुःख दिने र ठगी गर्नेहरूविरुद्ध उनी खरो उत्रेर लागेकै हुन्।

त्यसै भएर उनको समर्थनमा धेरै व्यक्तिहरू जुटेका हुन् भन्दा फरक नपर्ला। यद्यपि उनका कुनै कमजोरी नै छैनन्, उनी गाईको दूधले धोएका पवित्र छन् भन्न खोजिएको पनि होइन। निश्चय नै सबैका व्यक्तिगत कमी–कमजोरी हुन्छन्, हुन सक्छन्, उनका पनि होलान् तर पुडासैनीको मृत्युको घटनालाई लिएर यसको विरोध गर्ने मौका यही नै हो जसरी खेदो खन्न लाग्नु पनि जायज हुँदैन।

त्यसो त रविको गिरफ्तारीलाई लिएर मौका यही हो, फलाम तातेकै बेला बङ्ग्याउनुपर्छ भन्दै हात धोएर लाग्नेहरू पनि होलान्। कतिले उनी पक्राउ परेपछि तिघ्रा ठटाएर आनन्द पनि लिँदै होलान्।

सबैभन्दा बढी त रविसँग साक्षात्कार गर्न नसक्ने, निजकै कार्यक्रमका कारण आफ्ना उद्योग व्यवसाय बन्द भएका र भविष्यमा पनि उनको छाया देखेर तर्सिनुपर्नेहरूले निजलाई फसाउन प्रपञ्च नरच्लान् भन्ने छैन। नेपालमा यस्ता खालका घटना यसभन्दा पहिले देखिएकै हुन्। अर्को कुरा मृतक पुडासैनीले उनीमाथि बालुवा–गिटीदेखि विभिन्न व्यवसायीबाट रकम असुलेको तथा विज्ञापन एजेन्सीमार्फत बार्गेनिङ गरेर कमाएको आरोपबारे पनि छानबिन गर्नै पर्दछ र दोषी देखिएमा कारबाही पनि गर्नुपर्दछ तर आरोप निराधार भएमा स्वतः सफाइ पाइहालिन्छ।

अन्त्यमा दोषी नउम्किऊन्, निर्दोष नपरुन् भन्ने नै हो। त्यसका लागि छानबिन निष्पक्ष, स्वतन्त्र र न्यायका सिद्धान्त तथा प्राप्त प्रमाणका आधारमा हुनुपर्दछ। साथै सार्वजनिकरुपमा माग गरिँदै आएको हिरासतमा राखिएकाहरूको जीवनरक्षा पनि सरकारले गर्नुपर्दछ।

प्रतिक्रिया दिनुहोस्