नेपाल–भारत आयोग बैठक आर्थिक सहकार्यमा नेपालले जोड दिने



काठमाडौं, (नेस)। नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक कनेक्टीभिटी, आर्थिक सहकार्य, व्यापार तथा पारवहन, उर्जा र जलस्रोत जस्ता विषयमा केन्द्रित हुने भएको छ। शिक्षा र द्धिपक्षीय सांस्कृतिक सहकार्य पनि बैठकका मुख्य एजेण्डा रहनेछ।

दुईदिने बैठक भोलिदेखि काठमाडौंमा सुरु हुँदै छ। बैठकका एजेन्डा बारे सोमबार सञ्चारकर्मीलाई जानकारी दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भन्नुभयो– ‘विगतका बैठकले गरेको निर्णय र निर्णय कार्यान्वयनका बारेमा भइरहेको प्रगति र कमिकमजोरीको समीक्षा पनि हुनेछ।’

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतीय पक्षले सीमावर्ती क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणसँगै सुरक्षाबारे चासो लिएको छ। यो बैठकमा नेपाल–भारत प्रवुद्ध समूहले तयार गरेको प्रतिवेदन हस्तान्तरण गर्न भइरहेको ढिलाइबारे छलफल हुने बताइएको छ।

प्रवुद्ध समूहले गत वर्षको असारमा प्रतिवेदन तयार गरे पनि दुवैतर्फका सरकारलाई प्रतिवेदन हस्तान्तरण गरेको छैन। आयोगको पाँचौं बैठकको नेतृत्व परराष्ट्रमन्त्री ज्ञवाली र उहाँका भारतीय समकक्षी सुब्रमण्यम् जयशंकरले गर्नुहुनेछ।

भारतीय विदेशमन्त्री जयशंकरसहित भारतीय विदेश सचिव विजय केशव गोखले र विभिन्न मन्त्रालयका अधिकारी, नेपालका लागि भारतीय राजदूत मञ्जिमसिंह पुरी, भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य सहभागी हुने बताइएको छ।

बैठकमा नेपालको तर्फबाट परराष्ट्र सचिव शंकरदाश बैरागीसहित अर्थ, उर्जा, सिंचाइ, भौतिक पूर्वाधार, पर्यटन मन्त्रालयका अधिकारी सहभागी हुँदै छन्। नेपाल भ्रमणका क्रममा भारतीय विदेशमन्त्री जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्