प्रदेश- ५ का ११ जिल्लामा १०५ सिसिटीभी जडान



बुटवल ।
प्रदेश ५ को ११ जिल्लामा १०५ वटा सिसिटिभी जडान गरिएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा प्रदेश ५को रोल्पा जिल्ला बाहेक ११ जिल्लामा सिसिटिभी जडान गरिएको हो ।

उक्त सिसिटिभीको कन्ट्रोलरुमको सोमबार एक कार्यक्रमका बीच प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले ५ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलमा उदघाटन गर्नुभयो । मन्त्रालयले विनियोजित गरेको तीन करोडमध्ये दुई करोड ६० लाख सिसिटिभी जडानका लागि खर्च भएको र बाँकी ४० लाख रुपैया मन्त्रालयमा नै फिर्ता पठाइएको हो ।

११ जिल्लामा १ सय ४० वटा सिसिटिभी जडान गर्नुपर्नेमा हालसम्म १ सय ५ वटामात्र जडान भएको ५ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरिक्षक मधुसुदन लुईटेलले बताउनु भयो । प्रदेशका अझै ४५ स्थान सम्वेदनशील क्षेत्र मानिएकाले यसैवर्ष ती स्थानमा सिसिटिभी जडान गर्नुपर्ने समेत प्रहरी उपरिक्षक लुईटेलले बताउनु भयो ।

कार्यक्रममा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले ट्राफिक व्यवस्थापनसंगै सुरक्षाका दृष्टिले समेत सिसिटिभी उपलव्धिमूलक भएको बताउनु हुँदै सो को अनुगमन र मर्मतसम्भारमा ध्यान दिन जरुरी रहेको बताउनु भयो । मुख्यमन्त्री पोखरेलले ट्राफिक व्यवस्थापन गर्न असहज हुने स्थान र सवारी चेकजाँच गर्ने प्वाईन्टमा सिसिटिभी जडान गर्नुपर्ने बताउँदै सो गर्न सकेमा प्रहरीमाथि लाग्ने आरोपहरुको अन्त्य हुने विश्वास ब्यक्त गर्नुभयो ।

ट्राफिक व्यवस्थापन, दुर्घटनाको जानकारी, हिट एण्ड रनको निगरानी र अपराधी पत्ता लगाउन सिसिटिभी सहयोगी हुने भन्दै उहाँले सम्वेदनशील क्षेत्र भनी ट्राफिक प्रहरीले छनौट गरेको बाँकी ४५ स्थानमा सिसिटिभी जडानका लागि आवश्यक बजेट व्यवस्था गर्न आन्तरिक तथा कानुन मन्त्रालयलाई निर्देशन दिनुभयो ।  प्रदेश ५ का प्रहरी नायव महानिरिक्षक सुरेशविक्रम शाहले प्रदेशको शान्ति सुरक्षा र दुर्घटना नियन्त्रणका लागि प्रहरी प्रशासन २४ सै घण्टा संवेदनशील रहेको बताउनु भयो ।

५ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक रामप्रकास शाहले प्रदेशमा जोडिएका सिसिटिभीको रेकर्डिङ क्षमता ९० दिनको रहने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्