राजधानीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह



नयाँ दिल्ली । भारतको केन्द्रीय राजधानी दिल्लीमा बाढीको जोखिम बढेको भन्दै सतर्क रहन आह्वान गरिएको छ ।

यमुना नदिको पानीको बहाब लगातार बढ्दै गएकाले बाढीको खतरा बढेको अधिकारीहरुले सोमबार बताएका छन् ।

बाढीको जोखिम र नदीको बहाबको व्यवस्थापनका बारेमा अप्नाउने रणनीतिका बारेमा छलफल गर्न नयाँ दिल्ली प्रदेश सरकारले सोमबार आपत्कालीन बैठक पनि बोलाएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ, “बर्तमान चुनौतीपूर्ण अवस्थाका बारेमा छलफल गर्न मैले संवन्धीत विभागका अधिकारीहरुसँगको बैठक बोलाएको छु ।”

छिमेकी हरियाना प्रदेशसँग जोडिएको हाथीनी कुण्ड पुल क्षेत्रबाट यमुना नदीको पानी बढ्दै आएको देखिएकाले सतर्कता अप्नाउनु पर्ने भएको अधिकारीहरुको भनाई छ ।

स्थानीय अधिकारीहरुले तल्लो भूभागमा रहेका बासिन्दालाई सुरक्षित र माथिल्लो क्षेत्रमा सर्न आह्वान गरेका छन् ।

“बाढीको जोखिम नरहेको उच्च भूभाग तिर मात्रै बस्न र पालको व्यवस्था गर्न म सवैलाई आग्रह गर्दछु,” केजरीवालले ट्वीट गर्नुभएको छ ।

उहाँले २ हजार १२० ओटा पालहरु व्यवस्था गरिसकिएको पनि बताउनु भएको छ ।
रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्