मोरङमा युवालाई बन्धक बनाई यातना दिएको भिडियो सार्वजनिक



सरोज यादव, मोरङ ।
मोरङको बूढीगंगा गाउँपालिका एक युवा बन्धक बनाएर पाशविक ढंगले निर्घात कुटिएका छन् । घटनामा संलग्न पीडक युवाहरुले यातना दिने क्रममा बनाएको भिडियो लिक भएपछि घटना सार्वजनिक भएको हो । बूढीगंगा–४ पोठियाका १७ वर्षीय युवा मोहम्मद नौशादलाई छिमेकमै बस्ने आपराधिक प्रवृत्तिका युवाहरुको समूहले बन्धक बनाएर कुटपिट गरेका हुन् ।

कुटपिट गर्नेक्रममा ती यूवाहरुले नौशादलाई दिएको यातनाको भिडियोसमेत बनाएको खुलेको छ । स्थानीय २२ वर्षीय सादिर मियाँ,२० वर्षीय अन्सद मियाँ, २१ वर्षीय आकिप मियाँ र १८ वर्षीय अफजल मियाँले पीडित युवा नौशादलाई घर नजिकैको बाँस झ्याँङमा लगेर बेल्ट र बुटले निर्घात कुटपिट गरेको पीडित पक्षले जनाएका छन् ।

भिडियोः

कुटपिट गर्ने मध्येकै अफजल मियाँले बनाएको भिडियो लिक भएपछि भएपछि घटना सार्वजनिक भएको हो । साउन ३० गते बिहीबार घरमै लुगा धोएर बसिरहेका बेला पीडकहरुमध्येका अफजलले घरबाटै बोलाएर लगेर बन्धक बनाएर कुटपिट गरेको जानकारी दिए । साँझ ५ बजे घरबाट बोलाएर लगेका उनीहरुले ७ बजेसम्म कुटपिट गरेको र पछि त्यहीं छाडेर भागेर गएको पीडित युवाले बताएका छन् ।

नहरको बाटो भएर केही मानिसहरु आउन लागेको देखेपछि उनीहरुले आफूलाई कुटपिटपछि छाडेर भागेको र भाग्ने क्रममा घरका परिवारजन वा कसैलाई भने मारेर फ्यालिदिने धम्की दिएको नौशादले बताएका छन् । ज्यान मारिदिने धम्कीका कारण छोराले घटना लुकाएको तर भिडियो लिक भएर आफूसँग आएपछि न्याय खोज्न प्रहरी कहाँ आएको पीडितका बाबु अलिम मियाँले बताउनुभयो ।

पीडितका जेठा बाबु कलिम मियाँले प्रहरीलाई जानकारी दिएकै कारण पीडकपक्षका मानिसहरुले आफ्नो छोरालाई ज्यान मारिदिने धम्की दिएको दाबी गरेका छन् । घटनामा संलग्न पीडक युवाहरु लागूऔषध दुब्र्यसनी रहेको स्थानीयले जानकारी दिएका छन् । सार्वजनिक भएको यातनाको भिडियोमा समेत पीडकहरुले नौशादलाई गाँजालगायतका लागूऔषध सेवन गर्न दबाब दिएको देखिएको छ ।

कुटपिटको कारण नखुले पनि स्थानीय अजय रायको मोबाइल चोरी भएको र सो मोबाइल नौशादले चोरेको आशंकामा उनलाई बन्धक बनाएर कुटपिट गरिएको हुनसक्ने स्थानियले आशंका गरेका छन् । पीडित पक्षले सोमबार जिल्ला प्रहरी कार्यालयमा घाउ जाँचको निवेदन दिएका छन् । उनीहरुले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराउनेसमेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्