भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउँदै



न्युज अफ नेपाल, काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर बुधबार नेपाल आउने भएका छन् । उनी नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठकमा सहभागी हुन नेपाल आउन लागेका हुन् ।

भारतीय विदेशमन्त्री बनेपछि उनी पहिलोपटक नेपाल आउन लागेका हुन् ।

काठमाडौंमा ४–५ गते हुने नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठकमा भाग लिन जयशंकर नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आयोग बैठकको परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र जयशंकरले सहअध्यक्षता गर्नेछन्।

बैठकमा दुई पक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार तथा पारवहन, उर्जा र जलस्रोत, संस्कृति, शिक्षालगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

संयुक्त बैठकमा दुई देशबीचका समग्र सम्बन्ध, साझेदारीका क्षेत्र र व्यापार तथा पारवहन लगायतका विषयमा छलफल हुनेछ । सन् १९८७ मा स्थापना भएको संयुक्त आयोगको चौथो बैठक तीन वर्षअघि नयाँदिल्लीमा भएको थियो ।

दुवै देशमा पालैपालो हुने आयोगको बैठकले आपसी हितका सम्बन्धमा जोडिएका विषयहरूलाई आगामी दिनमा कसरी अघि बढाउने भन्ने नीति तय गर्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्