विदेश मोह



नेपालबाट आर्थिक वर्ष २०७५–२०७६ मा नो अब्जेक्सन लेटर(एनओसी) लिने विद्यार्थीको संख्या ६३ हजार २ सय ५९ पुगको छ। सरकारले विदेश अध्ययन गर्न जाने विद्यार्थीको संख्या घट्दै गएको दाबी गरेतापनि आर्थिक वर्ष २०७४–२०७५ को तुलानमा गत वर्ष ५ हजार विद्यार्थीको संख्या बढेको हो।

शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाले दिएको तथ्यांकअनुसार गत वर्ष अस्ट्रेलियामा नो अब्जेक्सन लिने विद्यार्थीको संख्या ह्वात्तै बढेको छ। असार मशान्तसम्म अस्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीको संख्या ३६ हजार ३ सय २४ रहेको छ। अन्य देशको तुलनामा अस्ट्रेलिया जाने विद्यार्थीको संख्या करिब ७० प्रतिशत बढी रहेको छ। नो अब्जेक्सन लेटर लिने विद्यार्थी मध्ये करिब ९० प्रतिशत विद्यार्थी विदेश जाने गरेका छन्।

अस्ट्रेलियामा सजिलै भिसा पाउने भएपछि अस्ट्रेलिया जानेको संख्या बढ्न थालेको शाखा प्रमुख महेश्वर शर्माले बताउनुभयो। शर्माका अनुसार गएको आर्थिक वर्ष अर्थात असार मशान्तसम्म करिब ६३ मुलुक अध्ययन गर्न जान विद्यार्थीले एनओसी लिएका छन्। उहाँका अनुसार विदेश अध्ययन गर्नएनओसी लिने दोस्रो मुलुक जापान हो।

गएको आर्थिक वर्षमा ८ हजार ५ सय २३ जना विद्यार्थीले जापानका लागि एनओसी लिएका छन्। कोरिया, अमेरिका, क्यानडा, बेलायत, स्वीजरल्याण्ड, इटाली, चीन, थाइल्याण्ड, जर्मन, फ्रान्सलगायत तीन दर्जन भन्दा बढी मुलुकमा अध्ययन गर्न एनओसी लिने गरेका छन्। पछिल्लो समय अमेरिका र बेलायतले भिसा प्रणालीमा कडाइ गरेपछि दुई मुलुकमा विद्यार्थीको जाने क्रम घट्दै गएको छ।

भारतका विश्वविद्यालयमा अध्ययन गर्न जाने अधिकांश विद्यार्थीले एनओसी नलिने भएकोले भारत जाने विद्यार्थीको संख्या एकिन गर्न नसकिएको शर्माले बताउनुभयो। उहाँले भन्नुभयो–‘मेडिकल, इन्जिनियरिङ र पीएचडी गर्न जाने केही विद्यार्थीले मात्र एनओसी लिने गरेका छन्। अन्य विषयमा अध्ययन गर्न जाने विद्यार्थीको संख्या यकिन गर्न नसकिएको हो।

पछिल्लो तथ्यांकअनुसार गत आवमा अमेरिका लागि १ हजार ४ सय ९१ र बेलायतका लागि ३ सय ५० जना विद्यार्थीले एनओसी लिएका थिए। आर्थिक वर्ष ०७०–०७१ मा २८ हजार २५, ०७१–०७२मा ३० हजार ६ सय ९६, ०७२–०७३मा ३२ हजार ४ सय ८९, ०७३–०७४मा ५१ हजार ६ सय ५९ र ०७४–०७५मा ५८ हजार ७ सय ५८ जना विद्यार्थीले एनओसी लिएका थिए।

शिक्षा मन्त्रालयले जापानमा भाषा सिक्ने विद्यार्थीका लागि एनओसी दिने व्यवस्था रद्द गरेको थियो। लगत्तै शैक्षिक परामर्श संघ(ईक्यान)ले सर्वोच्च अदालतमा रिट दायर गरे पनि अदालतले उल्ट्याएपछि जापान जान एनओसी लिने विद्यार्थीको संख्या पुन बढ्न थालेको शाखाले जनाएको छ। कक्षा १२ को अध्ययन सक्नासाथ विदेश जाने चाहना बढेका अधिकांश विद्यार्थीले एनओसी लेटर लिने गरेका छन्।

विदेशमा सूचना प्रविधि, इन्जिनियरिङ, चिकित्साशास्त्र, होटेल व्यवस्थापन, व्यवस्थापन, जनस्वास्थ्य, वाणिज्य शिक्षा, कम्प्युटर विज्ञान, नर्सिङ, सत्कार व्यवस्थापनलगायतका विषय विद्यार्थीको रोजाइ बन्ने गरेको छ। विदेशमा गई अध्ययन गर्न विषय र विश्वविद्यालय हेरी १० लाखदेखि ५० लाख रुपियाँसम्म तिर्ने गरेका छन्। नेपाली विद्यार्थीहरूले शुरूमा छ महिनाको शुल्क बुझाउने र पछि उतै रोजगारीबाट कमाएर अध्ययन गर्ने गरेका छन्। त्यसो गर्दा पनि विद्यार्थीले कम्तीमा २० लाख रुपियाँको जोहो गरेरमात्र विदेशिनु राम्रो हुन्छ।

पछिल्लो समयमा सिभिल इन्जिनियरिङ, नर्सिङ र व्यवस्थापन विषय अध्ययन गर्न भारततर्फ जाने क्रम बढेको छ। भारतमा नेपालभन्दा तुलनात्मकरूपमा सस्तो मानिएको छ। नर्वे, स्वेडेन, फिनल्याण्ड जस्ता मुलुकमा सित्तैमा अध्ययन गर्न पाइने भएकाले त्यसतर्फ पनि विद्यार्थीहरूको गन्तव्य बनेको छ। थुप्रै कलेजहरू बन्द भएको र विद्यार्थीलाई काम गर्नमा कडाइ गरिएपछि यूके जानेको भीड घट्न पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्