खुल्यो ढोका…



ईश्वरराज ढकाल । कक्षा १२ सम्पन्न गरेका विद्यार्थी उच्चशिक्षाको खोजीमा छन्। कुन विषय लिएर कस्तो कलेज छनोट गर्ने ? भन्ने विषयमा विद्यार्थीलाई बुझाउनु जरुरी छ। विद्यालय तह पूरा गरेपछि मात्र मात्रै आफ्नो भविष्यको चाहना पूरा हुने भएकाले विद्यार्थी नयाँ कलेज खोज्न थालेका छन्। विद्यार्थीका लागि उच्चशिक्षा भविष्यको गन्तव्य हो।

उच्चशिक्षा अध्ययन पूरा गरेपछि उनीहरूको पहिलो चाहना पूरा भएको महसुस गर्छन्। त्यसैले अहिले त्यस्ता विद्यार्थीले विद्यार्थीले कक्षा १२ सक्नासाथ आफू यो विषय पढ्ने भन्ने विषयको खाका कोर्न थालिसकेका हुन्छन्। भन्छन् १२ कक्षा पास भएपछि मात्र विषय छनोट गरेर पढ्छु। हुन त विद्यार्थीले प्लस टुमा भर्ना हुँदा नै भविष्यको लक्ष्यका बारेमा सोचिसकेका हुन्छन्, तर प्लस टुको नतिजाले मात्र उनीहरूको सोचाइले सार्थकता पाउन सक्दैन।

हुन त कक्षा १२ सक्नासाथ म डाक्टर बन्छु, पढेर ठूलो भएपछि बैंकमा काम गर्छु, इन्जिनियर बनेर देशको सेवा गर्छु। यस्ता यस्तै विषयले विद्यार्थीको मनोबल बढेको पाइन्छ। विद्यार्थीको सोचाइअनुसार विषय छनोट गर्दा उनीहरूले आफ्नो भविष्य हेरेका हुन्छन्। भनिन्छ विद्यार्थीले आफ्नो उद्देश्य पूरा गर्न विभिन्न विषय छनोट गरेका हुन्छन्। जुन विषय लिएर स्नातक तह अध्ययन गरे पनि उनीहरूले आफूले लिएको विषयमा उत्कृष्टता हासिल गर्न सफल हुन्छन्।

चाहे मानविकी होस् वा व्यवस्थापन, एमबीबीएस होस् वा इन्जिनियरिङ जस्तो विषय अध्ययन लिएर पढे पनि उनीहरूले पढाइलाई विशेष ध्यान दिनुपर्छ। आफ्नो गन्तव्य पहिचान गर्न विद्यार्थीले सुदूर भविष्यको यात्रालाई सोच्नुपर्छ।

त्यसका लागि स्नातक तहमा राम्रो गर्नुपर्छ भन्ने सोच बढ्न थालेको छ। जुन विषय लिएर जुन संकायमा अध्ययन गरे पनि सबै संकायमा आ–आफ्नो स्कोप रहेको छ। चाहे चिकित्सा शिक्षा होस् वा इन्जिनियरिङ, मानविकी होस् वा व्यवस्थापन, कानुन होस् वा शिक्षा जुन संकाय लिएर अध्ययन गरे पनि आफूले अध्ययन गरेको विषयमा अब्बल भए विद्यार्थीले सफलता पाउन गाह्रो छैन। नेपालमा स्नातक तहमा चिकित्सा विज्ञान, इन्जिनियरिङ, मानविकी, व्यवस्थापन, विज्ञान तथा प्रविधि, शिक्षाशास्त्र, कृषि, वन, आयुर्वेदिक, संस्कृत र कानुन संकाय छन्। तर, आफू अध्ययन गर्न लागेको कलेज कस्तो छ भन्ने विषयमा गहन अध्ययन गर्नु जरुरी छ। कलेजको भौतिक अवस्था, विगतमा कलेजले गरेको प्रगति, वर्तमानको अवस्थालगायतका विषयमा जानकारी लिएर मात्रै कलेज छनोट गर्नु आवश्यक हुन्छ।

स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीले आफूले कुन विषय लिएर पढ्ने भन्ने विषयमा सजिलै निर्णय गर्न कठिन छ। किनभने अहिले नयाँ–नयाँ विषय आएकाले विद्यार्थी अन्योलमा पर्ने गरेका छन्। निश्चय पनि स्नातक तहमा समेत विषय छनोटको विषय विद्यार्थीका लागि च्युरा चपाएसरह हुन सक्दछ। सही सुझाव वा परामर्शको अभावमा विद्यार्थीले गलत निर्णय लिन पनि सक्दछन्। स्वदेशमै पढ्ने वा विदेशतर्फ लाग्ने ? होटेल व्यवस्थापन विषय लिने वा बीबीएमा भर्ना हुने ?

नर्सिङ पढ्ने वा बीएससीका लागि भर्ना हुने ? शिक्षाशास्त्र विषय लिएर अध्यापक बन्ने वा व्यवस्थापन विषय लिएर कुशल व्यवस्थापक बन्ने ? सरकारी क्याम्पसतर्फ लाग्ने वा निजी शिक्षण संस्थामा भर्ना हुने ? लगायतका विषयमा निर्णय लिन विद्यार्थीलाई पक्कै पनि सजिलो हुँदैन।

यी कुराहरू विद्यार्थीको बौद्धिक तथा आर्थिक क्षमतामा निर्भर गर्दछ। नेपालमा स्नातक तहमा चिकित्सा विज्ञान, इन्जिनियरिङ, मानविकी, व्यवस्थापन, विज्ञान तथा प्रविधि, शिक्षाशास्त्र, कृषि, वन, आयुर्वेदिक, संस्कृत र कानुन संकाय छन्।सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालय हो। यहा धेरै विद्यार्थी अध्ययन गरिरहेका हुन्छन्।

तथ्याङ्क अनुसार गत वर्ष त्रिविमा करिव २ लाख ५० हजार विद्यार्थीहरू स्नातक तहमा भर्ना भएका थिए। त्रिविले स्नातक तहमा नर्सिङ, आयुर्वेद (बीएएमएस), एमबीबीएस, बीफार्मेसी, बीफर्मा, बीएन, बीई (सिभिल, आर्किटेक्ट, इलेक्ट्रिकल, मेकानिकल, कम्प्युटर, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन्स¬), बीटेक, बीएस्सी टी टेक्नोलोजी एण्ड म्यानेजमेन्ट, बीएस्सी न्यूट्रिसन एण्ड डाइटिटिक्स), बीएस्सी एजी, बीएस्सी फरेस्ट, बीबीए, बीए, बीएड लगायतका विषय सञ्चालन गर्दै आएको छ। त्रिविमा सबैभन्दा बढी शिक्षाशास्त्रका विद्यार्थी छन्।

काठमाडौँविश्वविद्यालयले बीएस्सी ईन एप्लाइड फिजिक्स, बीएस्सी फार्मेसी, बीएस्सी इन इन्भारोमेन्टल साइन्स, बीएस्सी इन हुमन बाइलोजी, बीई (सिभिल, कम्प्युटर, मेकानिकल, जियोम्याटिक्स), बीए बुद्धिस्ट इस्टडिज, बीए फाइन आर्टस्, एमबीबीएस, बीएस्सी नर्सिङ, बीडीएस लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ। तर केयुले स्नातक तहमा व्यवस्थापन विषयमा अध्यापन शुरु गरिसकेको छैन।

पूर्वाञ्चल विश्वविद्यालयले बीए एलएलबी, बीबीए, बीएचएम, बीटीटी (ट्राभल एण्ड टुरिज्म), बीएफडी (फेसन डिजाइ), बीएमटी (मेडिया टेक्नोलोजी), बीजेएमसी (जर्नलिज्म एण्ड मास कम्युनिकेसन्स), बीई (सिभिल, कम्प्युटर, आर्किटेक्ट, बायोमेडिकल), बीएस्सी बायोटेक्नोलोजी, बीपीएच, बीएस्सी नर्सिङ, बीफार्मेसी लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

पोखरा विश्वविद्यालयले बीई (सिभिल, सिभिल एण्ड रुरल, सफ्टवेय, आर्किटेक्ट), पब्लिक हेल्थ, नर्सिङ, फर्मास्युटिकल्स साइन्स, बीबीए, बीएचएम, बीसीआईएस, ब्याचलर अफ हेल्थ केयर म्यानेजमेन्ट, ब्याचलर अफ डेभलपमेन्ट स्टडिज लगायतका विषयमा पठनपाठन गर्दै आएको छ।

कृषि तथा वन विश्वविद्यालयले बीएस्सी एजी, बीएस्सी फरेस्ट्री तथा बीएस्सी भेटनरी साइन्स एण्ड एनिमल हस्वेन्डरी, मध्यपश्चिमाञ्चल विश्वविद्यालयले बीबीए, बीबीएस, बीए, बीएस्सी तथा बीएड र सुदुरपश्चिमाञ्चल विश्वविद्यालयले बीबीए, बीएड, बीबीएस, बीए र बीएस्सी कम्प्युटर साइन्स विषयमा पठनपाठन शुरु गरेका छन्। सूप विश्वविद्यालयले बीबीएस र बीए चार वर्षे अनर्स कार्यक्रम चलाएको छ भने गत वर्षबाट बीएस्सी र बीई सिभिल कार्यक्रम शुरु गर्दैछ।

शुल्क र छात्रवृत्ति

विश्वविद्यालय र विषय पिच्छे शुल्क फरक फरक हुन्छ। आङ्गिक क्याम्पसमा तुलनात्मक रूपमा कम खर्चमै अध्ययन गर्न सकिन्छ। सम्बन्धन लिएका निजी कलेजहरू बढी महंगा छन्। इन्जिनियरिङ विषय अध्ययन गर्दा सरदर सात लाख रुपियाँ लाग्छ। इन्जिनियरिङमा विद्यार्थीको सबैभन्दा बढी चाप सिभिल, आर्किटेक्ट र कम्प्युटरमा छ।

निजी इन्जिनियरिङ कलेजहरूले विषय हेरेर ४ देखि १० लाख रुपिया सम्म लिने गरेको छ। सबैभन्दा कम खर्चिलो शिक्षा त्रिविको मानविकी र शिक्षाशास्त्र हो।

विज्ञान, व्यवस्थापन लगायतका संकायमा विषय र कलेज हेरी १ लाख हजारदेखि पाँच लाख रुपियाँसम्म खर्च लाग्न सक्दछ। कलेज अनसार फरक फरक शुल्क भएकोले यति लाग्छ भनेर निक्र्योल गर्न सकिदैन। तर निजी भन्दा सरकारी कलेजमा रकम सस्तो पर्छ। अहिले समेष्टर अनुसार कक्षा संचालन गर्नुपर्ने भएकोले विद्यार्थीहरूले सेमेष्टर अनुसार नै शुल्क तिर्ने गरेका छन्।

विदेशी सम्बन्धनका कलेज

नेपालमा विदेशी विश्वविद्यालय तथा संस्थाबाट सम्बन्धन लिएर सञ्चालित कलेजहरू पनि थपिदैछन्। विदेशी विश्वविद्यालयमा भर्ना भई पढ्ने चाहनालाई घर परिवारमै बसेर पूरा गर्न सकिन्छ। अझ विदेशमा गई अध्ययन गर्दा लाग्ने कुल खर्चको सरदर १० प्रतिशत रकममा नेपालमा खुलेका विदेशी सम्बन्धन प्राप्त कलेजमा अध्ययन गर्न सकिन्छ। त्यस्ता शिक्षण संस्था ७२ वटा पुगे पनि स्नातक तहको कार्यक्रम सञ्चालन गर्ने कलेजहरू २४ वटा छन्।

यी कलेजहरूले बीसीए, बीबीए, बीकम, बीएस्सी एफडी, बीटीएम, बीएस्सी बीटी, बीएचएम, बीएजेएम, बीएस्सी आईटी, बीएस्सी कम्प्युटिङ, बीएस्सी मल्टिमिडिया टेक्नोलोजी, बीबीएम लगायतका विषयहरू उपलब्ध गराएका छन्। शिक्षा मन्त्रालयले मलेसिया, सिंगापुर, भारत, युके, अमेरिका, स्वीट्जरल्याण्ड, अस्ट्रिया, अष्ट्रेलिया, फिलिपिन्स, थाइल्याण्डका विश्वविद्यालयहरूका सम्बन्धन प्राप्त कलेजहरूलाई अनुमति दिएको छ।

यस्ता कलेजहरूमा अध्ययन गर्न विषय र विदेशी संस्था अनुसार तीनदेखि १२ लाख रुपियाँसम्म खर्च लाग्छ। यी कतिपय कलेजहरूमा भर्ना हुन टोफल, आईईएलटीएस, स्याट, जीम्याट जस्ता अङ्ग्रेजी भाषामा स्कोर ल्याउनुपर्छ।

चारवर्र्षे स्नातक

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायको विद्यापरिषद्ले चालू शैक्षिक सत्रदेखि चारवर्षे स्नातक तहको पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ। यसै गरी बैठकले उक्त चारवर्षे स्नातक तहको नयाँ पाठ्यक्रमको स्वीकृतिसमेत गरेको छ।

विद्यापरिषद्को उक्त बैठकलाई सम्बोधन गर्नुहुँदै त्रिविका रजिस्टार डिल्लीराम उप्रेतीले त्रिभुवन विश्वविद्यालयले बहुउद्देश्यीय र वहुविषयगत पाठ्यक्रम निर्माण गर्दै समाजका सम्पूर्ण माग एवं आवश्यकतालाई सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

एक्काइसौं शताब्दीको उच्चशिक्षाले समाजका विविध पक्षलाई सम्बोधन गर्नुपर्ने भन्दै उहाँले विषय समितिलगायतका सम्बन्धित क्षेत्रमा पर्याप्त प्राज्ञिक बहस एवं चिन्तन हुनुपर्ने बताउनुभएको थियो। विद्यापरिषद्मा आएका प्रस्तावका बारेमा केही संस्थागत अस्पष्टता देखिएकाले नियम संशोधन गरेरै क्षेत्राधिकारका बारेमा स्पष्टता पारिने बताउनुभयो।

मानविकी तथा सामाजिकशास्त्र संकायका डीन प्राडा शिवलाल भुषालले चारवर्षे स्नातक तहलाई व्यवस्थित पार्न सम्पूर्ण प्राज्ञिक समुदायको महत्वपूर्ण सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभयो। उहाँले यस वर्षदेखि बीएलाई चारवर्षे बनाउन लागेको जनाउनुभयो। स्नातक तहमा मानविकी संकायमा ३६ वटा कार्यक्रम लागू भएको छ।

 

प्रतिक्रिया दिनुहोस्