आईटीमा ज्ञान नभए निरक्षर जस्तै



अर्जुन कार्की ।  

आईटी अर्थात् सूचना प्रविधि भनेको सूचना दिने प्रविधि हो। हाम्रोसामु भएका जुनसुकै प्रविधिले कुनै न कुनै रूपमा सूचना दिएकै पाइन्छ तर ती सबैलाई सूचना प्रविधि भने भनिन्न। सूचना दिनकै लागि आविस्कार भएको र सूचना निर्माण तथा प्रसार–प्रचारकै लागि प्रयोग भएका वस्तु वा सेवा मात्र सूचना प्रविधिभित्र पर्दछन्। सूचना प्रविधिमा कम्प्युटर अत्यधिक प्रचलित माध्यम हो। कम्प्युटरको प्रयोग गर्न नजान्ने व्यक्ति आईटीको ज्ञाता हुन सक्तैन, ऊ निरक्षरजस्तै बन्नपुग्छ।

नेपालमा कम्प्युटरको प्रयोग २०२८ सालदेखि सुरु भयो, जनगणनाको लागि सर्वप्रथम यसको प्रयोग भएको हो। यो करिब आधा शताब्दीको दौरानमा यसको महत्व सबै क्षेत्रमा फैलिएको सर्वादितै छ। अहिलेको युगमा कम्प्युटर ज्ञान भएन भने बौधिक रूपमा पक्षधातसरह हुनु हो। नेपालमा आममानिसले कम्प्युटरको महत्व बुझेको पाइएता पनि सरकारले शिक्षामा समता र समाताको सिद्धान्त पालना गरेको पाइन्न।

केही निजी स्कुलहरूले कम्प्युटर शिक्षा प्राथमिक तहदेखि नै लागु गरेको पाइन्छ भने केहीले माध्यमिक तहदेखि। तर सरकारी तथा गैरसरकारी स्कुलहरूमा भने पढाइ हुने र नहुने छन्। माध्यमिक स्कुल र स्नातक स्तरको पढाइमा पनि यस्तै अवस्था देखिन्छ। कम्प्युटरको प्रयोग अत्यन्त कम भएको भनेको सरकारी कलेज तथा स्कुलहरू हुन् जहाँ गरिब जनताका छोराछोरी पढ्छन्।

स्नातक स्तरको शिक्षामा त झन् धेरै कम्प्युटर प्रविधि प्रयोग हुनुपर्छ र केही हदसम्म निजी कलेजहरूमा भएको पनि पाइन्छ। विद्यार्थीले शोधपत्र तयार पार्नुपर्ने हुन्छ। शोधपत्र तयार पर्ने क्रममा आफ्नो विषयमा दक्षता हासिल गर्नुपर्छ। कम्प्युटरको प्रयोगले सैद्धान्तिक तथा व्यावहारिक दुवै खालको ज्ञान  लिनको लागि अत्यधिक आवश्यक हुन्छ। विश्वमा भएका कार्य, उपलव्धि र उत्पादनसम्मको पहुँचका लागि कम्प्युटरको माध्यम आधारभूत हुन्छ।

तर, विडम्वना के छ भने, कम्प्युटरका आधारभूत कुराहरू (जस्तो कसरी खोल्ने, कसरी चलाउने) नै थाहा नपाई स्नातक पढाइ सकेका जनशक्ति पनि हाम्रासामु सरकारी तथा सामुदायिक कलेजबाट धेरै उत्पादन हुन्छन्। जबकि लोकसेवा आयोगले अधिकृतको लागि कम्प्युटर सीप अनिवार्य तोकेको छ भने, राज्यले आफ्नै कलेजबाट यस्ता जनशक्तिको किन उत्पादन गर्छ ? त्यसो त, नेपाल सरकारले कम्प्युटरको महत्व राम्रोसँंग बुझेको देखिन्छ किनभने संघीय मन्त्रालयदेखि स्थानीय तहसम्म कम्प्युटर दक्ष जनशक्तिको लागि विज्ञापन गरिरहेको पाइन्छ।

आम नागरिकले आफूसम्बन्धी सूचना विद्युतीय तथा अन्य जुनसुकै माध्यमबाट लिन पाउने अधिकार दिएको छ। त्यसरी नै सूचनाको हक सुनिश्चित गर्न सबै निकायहरूको वेबसाइट निर्माण गरिसकेको छ र सोसल मिडियामा हेलो सरकार प्रभावकारी रूपमा केही वर्षयता सञ्चालनमा छ। सोसल मिडिया विधेयक पनि ल्याइएको छ।

कम्प्युटर माध्यमले यो आधुनिक जमानामा नागरिकको सूचनाको हक उपभोगमा सहजीकरण गरेको पाइन्छ। पढ्न चाहने विद्यार्थीलाई सूचनाको कमी छैन। पढ्ने उपकरण, औजार तथा सूचनास्रोतको कमी छैन। कम्प्युटरले सबैकुरा आफ्नो टेबलमा ल्याइदिएको छ। मात्र फकर के छ भने कसरी प्रयोग गर्ने भन्ने मात्र हो। यदी यही सूचना तथा संचार माध्यमलाई उचित प्रयोग गर्न जानियो भने आफ्नो तथा सम्पूर्ण समाजको हित हुन्छ भने त्यही सूचना तथा संचार माध्यम अनुचित प्रयोग गरियो भने आफ्नो मात्र नभएर सम्पूर्ण समाज कै घातक हुन्छ। उदाहरणका लागि सामाजिक सन्जाललाई नै लिन सकिन्छ।

व्यक्ति अनुसार, संस्था अनुसार यसको प्रयोग फरक–फरक हुन्छ। कसैले ठग्ने, अरूलाई दुख दिने, तथा अरूको मानमर्यादा हत्या गर्नको लागि प्रयोग गरेका छन् भने कसैले आफ्नो कार्य देखाउने, पैसा कमाउने, समाजमा जनचेतना फैलाउने र समाजलाई दिशानिर्देशन दिने काममा प्रयोग रहेका छन्। अझ नेपालको परिपेक्षमा हेर्दा त सामाजिक सन्जालमा मानमर्यादा हनन हुने खालका पोस्ट, कमेन्ट तथा फोटोहरू प्रचार–प्रसार गरेका कारणले धेरैलाई कारवाही पनि गरिसकिएको छ। तसर्थ नेपाल सरकारले यसको महत्व नबुझेको भन्न मिल्दैन।

केही निजी स्कुलले कम्प्युटर शिक्षा प्राथमिक तहदेखि नै लागू गरेको पाइन्छ भने केहीले माध्यमिक तहदेखि। तर, सरकारी तथा गैरसरकारी स्कुलहरूमा भने पढाइ हुने र नहुने छन्। माध्यमिक स्कुल र स्नातकस्तरको पढाइमा पनि यस्तै अवस्था देखिन्छ। कम्प्युटरको प्रयोग अत्यन्त कम भएको भनेको सरकारी कलेज तथा स्कुलहरू हुन् जहाँ गरिब जनताका छोराछोरी पढ्छन्।

आधुनिक संसारमा शिक्षित हुनुभनेको भइरहेका सञ्चार माध्यमलाई कसरी उचित प्रयोग गर्नसकिन्छ र धेरैभन्दा धेरै मानिसको हितमा प्रयोग गर्न सकिन्छ भनेर जान्नु पनि हो। विद्यार्थी भाइ–बहिनीहरू बिहानदेखि बेलुकी अबेरसम्म सामाजिक सञ्जालमा अल्झिरहेके भेटिन्छन्। यदि उचित रूपमा प्रयोग गर्न जानियो र राम्रो सोचले प्रयोग गरियो भने त्यो राम्रो हुन्छ। तर यसको प्रयोग पनि कसको लागि कति भन्ने हुन्छ।

नेपालको शिक्षामा कसरी सोसल मिडिया चलाउनुपर्छ भन्ने कुरा पनि सिकाउने खालको हुनुपर्छ। विदेशमा सोसल मिडिया कसरी चलाउने र समाजलाई कसरी अघि बढाउने भनेर विश्वविद्यालय नै खडा भइसकेको छ। उदाहरणका लागि अक्सफोर्ड इन्टरनेट इन्टिच्युड भन्ने अक्सफोर्डले सन् २००८ देखि सोसल मिडियाको विद्यावारिधि स्तरको शोधसम्बन्धी विश्वविद्यालय नै चलाइरहेको छ।

त्यस विश्वविद्यालयमा विद्यावारिधधि गर्ने विद्यार्थी संसारभरिका मानिसहरूको सबै कुराको ज्ञानराख्ने क्षमता राख्दछ। त्यो किनभने सामाजिक सन्जाल अहिले समाजको ऐनाको रूपमा लिइन्छ। यसको उचित प्रयोगबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चुनाव जितेका थिए। त्यसरी नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सामाजिक सन्जालकै प्रयोगका कारण राष्ट्रपतिको चुनाव जितेका हुन्। सामान्य जनजीवनदेखि उच्च पदसम्मका व्यक्तिका लागि सामाजिक सन्जालको प्रयोग अत्यन्तै महत्वपूर्ण हुन्छ। विश्वभर हेर्ने हो भने धेरै मानिस रातारात सामाजिक सन्जालका कारण चर्चित भएका छन्– कसरी र कस्तो रूपमा प्रयोग गर्ने भन्ने पक्ष महत्वपूर्ण छ।

अन्त्यमा, कम्प्युटर शिक्षा आजको आवश्यकता हो। नेपाल सरकारले सरकारी तथा गैरसरकारी स्कुल÷कलेजमा कम्प्युटर शिक्षा अनिवार्य बनाउनुपर्छ। अहिलेको युगमा सामान्य कम्प्युटरको ज्ञान पनि नहुनु भनेको त समाजको आवश्यकता तथा पद्धतिबाट वञ्चित नै हुनु हो जसको कारण जीवनयापन कष्टकर मात्र हैन कतिपय अवस्थामा त जागिरबाट नै वञ्चित हुनुपर्ने हुन्छ। लोकसेवाको अधिकृतको जुनसुकै विधाको विज्ञापनमा कम्प्युटर शिक्षा माग्न थालिएको छ। अधिकृतको योग्यतामा स्नातक स्तरसम्मको शिक्षा चाहिन्छ अनि त्यसमा थप कम्प्युटरको ज्ञान तथा सीप आवश्यक पर्छ। तसर्थ, कम्प्युटरको शिक्षा भनेको जुनसुकै जागिरको लागि योग्य उम्मेदबार तयार पार्ने आधारभूत शिक्षा नै भएको छ।

यसअतिरिक्त, जुनसुकै विधामा अनुसन्धानको महत्व हुन्छ अनि अहिलेको संसारमा कम्प्युटर विनाको अनुसन्धान अधुरो हुन थालेको छ। खोज–अनुसन्धान गर्नु भनेको भइरहेको परिप्रेक्षलाई बुझेर, समस्याको पहिचान गरेर, समाधान दिनु हो। परिवेशलाई बुझ्न, समस्या पहिचान गर्न र त्यसको समाधान निकाल्न यदि कम्प्युटरको प्रयोग गर्न जानियो भने धेरै नै सहज हुन्छ, नत्र अनुसन्धान नै अधुरो हुन्छ।

स्नातकको शिक्षा भनेको समाजमा भएका सम्पूर्ण कुराहरू पहिचान गर्ने, त्यसलाई मूल्यांकन गर्ने, हितमा प्रयोग गर्न जान्ने हुने र अरूलाई पनि बाटो देखाउने शिक्षा लिने स्तर हो। हाम्रो समाज, हाम्रो देश र हाम्रो समुदाय कुन स्तरमा छ, उनीहरूको जीवनलाई सूचना प्रविधिको प्रयोगले कसरी अझ हित गर्न सकिन्छ भनेर शिक्षित हुनु हो। हामीलाई सूचना प्रविधिको उचित प्रयोग गरी समाजलाई दिशा निर्देशन गर्ने मानिसको खाँचो छ। यस्ता जनशक्ति यदि हाम्रो शिक्षाले उत्पादन गर्नुहो भने जागिरको लागि विदेशतिर भौतारिनु पर्ने थिएन। आफू र समाजका युवाहरूका लागि रोजगारी आफै सृजना गर्नसक्ने हुन्थे र उनीहरू स्वरोजगार हुनेथिए।

(कार्की पत्रकारिता तथा आमसञ्चारका एमफिल स्कलर हुनुहुन्छ)

 

प्रतिक्रिया दिनुहोस्