सार्वजनिक जग्गा ‘हडप्न’ मुद्दा



मोतीराम तिमल्सिना, काभ्रे ।

बनेपा नगरपालिका वडा नम्वर २ साविक टुकुचा नाला गाविस वडा नम्वर ८ को कित्ता नम्वर ३२६ को ५ रोपनी ९ आना सार्वजनिक जग्गा हडप्न स्थानीय विरुद्ध जग्गा खिचोला र लुटपिटमा मुद्दा दर्ता गरिएको छ ।

अदालतबाट खटिएको अमिनले दिएको जग्गा नापको प्रतिवेदनले सरकारी जमिन ब्यक्तिका नाममा दर्ता गर्ने बाटो खुलेको भन्दै स्थानीयले खिचोला र लुटपिटको मुद्दा दर्ता गर्ने कृष्णराज गिरी विरुद्ध अदालत र मालपोत कार्यालयमा उजुरी दिएका छन् ।

कित्ता नम्वर ३२६ को साँध सिमानामा रहेका जग्गा धनी कृष्णराज गिरीले कित्ता नम्वर ३२८ र ३२९ सँगै ३२६ को जग्गा हडप्दै आएका थिए ।

२०५२ साल देखि २०७३ सालसम्म सार्वजनिक जग्गा हडप्दै आएका गिरीले २०७५ साल असार २६ गते बनेपा नगरपालिका वडा नम्वर २ घर भएका ४० बर्षिय निलबहादुर गौतम, ३२ बर्षिय सन्तोष भन्ने दिलप्रसाद गौतम, ५० बर्षिय बलबहादुर मिजार, ५० बर्षिय टंकप्रसाद गौतम, वर्ष ४९ का काजिमान मिजार र वर्ष २८ का जिवन मंग्राती विरुद्ध लुटपिट विरुद्ध जिल्ला अदालत काभ्रेपलाचोकमा मुद्दा दर्ता गराएका थिए ।

कित्ता नम्वर ३२६ मा रहेको सार्वजनिक जग्गामा क्रिया पुत्री आवास निर्माण तथा गहुँ चुट्ने खला ट्रस निर्माणका लागि बनेपा नगरपालिकाले २ लाख रकम विनियोजन गरेको थियो । २०७४ माघ १ गते स्थानीयको भेलाले निलबहादुर गौतमको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेको थियो । स्थानीयको सहभागिता समेत गरी २ लाख ४८ हजार ८ सय २६ रुपैया उक्त ट्रस्ट निर्माणका लागि खर्च गरिएको छ ।

कृष्णराज गिरीले राधाकृष्ण मन्दिर निर्माण भएको स्थान र चौतारा लगायत सार्वजनिक जग्गामा भकारो सहितको फोहोरमैला थुपारेकाले सरसफाई गर्न र उक्त भकारो तत्काल हटाउन २०७५ भदा १० गते ब्यवस्थापन समितिका अध्यक्ष कविप्रसाद घिमीरेले वडा कार्यालयमा उजुरी दिनु भएको थियो । २०७५ साल जेष्ठ २६ गते स्थानीयहरु ४१ जनाको हस्ताक्षरमा कित्ता नम्वर ३२६ को ५ रोपनी ९ आना जग्गा संरक्षण गर्न बनेपा नगरपालिकाको ध्यानाकर्षण गराईएको थियो ।

कित्ता नम्वर ३२८ मा ०–१२–३–१÷२ र कित्ता नम्वर ३२९ को ४–४–३–० समेत गरी ५ रोपनी १ आना २ दाम १÷२ जग्गा भित्रै कित्ता नम्वर ३२६ को सार्वजनिक जग्गा १७ आना समेत पर्ने प्रतिवेदन जिल्ला अदालत भक्तपुरका सर्भेक्षक जीवन कार्कीले बुझाएका छन् । कृष्णराज गिरीले आफ्नो ब्यक्तिगत नाममा भएको २ रोपनी जमिन स्थानीयहरुले अतिक्रमण गरी सार्वजनिक जग्गामा ट्रष्ट निर्माण गरेको भन्दै लुटपिटमा मुद्दा दर्ता गरेका हुन् । आफै सार्वजनिक जग्गा हडप्ने र आफै स्थानीय विरुद्ध मुद्दा राखी दुख दिएको भन्दै स्थानीयहरुले त्यस विरुद्ध प्रतिउत्तर लगाउँदै सार्वजनिक जमिन जोगाउन देउसी भैलो खेल्दै मुद्दाका लागि रकम संकलन गरेका छन् ।

३ सय वर्ष पुरानो पुरातात्विक महत्वको राधाकृष्ण मन्दिर, चौतारो, पोखरी तथा कुवा समेत मासेर कृष्णराज गिरीले स्थानीय दलितहरुलाई समेत हेप्ने र अक्षुतको ब्यवहार गर्ने गरेको स्थानीयहरुको आरोप छ । जग्गा खिचलो र लुटपिट विरुद्ध स्थानीयले प्रतिउत्तर दर्ता गरी उक्त कित्ता सार्वजनिक भएको प्रमाण पेश गरेका छन् ।

नापी कार्यालयका विजयकुमार मानन्धरले ३२६ कित्ता नम्वर सबै सार्वजनिक भएकोे प्रतिवेदन २०७५ जेष्ठ १६ गते बुझाएका थिए । बनेपा नगरपालिकाका अमिन विपिन दुलालले समेत उक्त जग्गा सार्वजनिक भएको निश्कर्ष सहितको प्रतिवेदन बुझाएका छन् । तर अदालतका सर्भेक्षक जीवन कार्कीले फिल्डमा ठिकै छ भनेर गएको जग्गाको प्रतिवेदन १७ आना कृष्णराज गिरीको कित्तामा पर्छ भन्दै उल्टो प्रतिवेदन बुझाए पछि न्यायाधीश दुर्गा खड्काले पुनः नाप नक्साका लागि आदेश दिनु भएको छ ।

यस अघि न्यायाधीश दीपकुमार कुमार खरेलले लुटपिट र जग्गा खिचलो मुद्दामा दर्ता श्रेस्ता र ब्लु नक्सा प्रिन्ट प्रमाणित प्रतिलिपि झिकाउन आदेश गर्नु भएको थियो । नापि कार्यालय काभ्रेका नापि अधिकृत एवं सुचना अधिकारी सुरेश मानन्धरले कित्ता नम्वर ३२६ सार्वजनिक भएकाले कसैको हकभोग लाग्न नसक्ने बताउनु भयो ।

सार्वजनिक जग्गा हडप्दै आएका कृष्णराज गिरीले आफ्नो नाममा भएकोे लालपुर्जा अनुसारको जग्गा पाउनु पर्ने बताउँदै कित्ता नम्वर ३२६ नम्वर आफुले प्रयोग नभएको बताउनु भयो । गिरीले सार्वजनिक जग्गा २०५२ साल देखि प्रयोग गरेको भए पनि त्यस्तो नभएका बताउँदै बरु स्थानीयहरुले आफ्नो जग्गामा डोजर चलाएर लुटपिट गरेको आरोप लगाउनु भयो ।

स्थानीयहरुले नापिको प्रतिवेदन अनुसार वर्षाै देखि सार्वजनिक रहेको जग्गामा डोजर चलाएको बताएका छन् । सार्वजनिक जग्गा बचाउन स्थानीयहरु समिति गठन गरेरै मुद्दाको प्रतिउत्तरमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्