भारले सिटीको खुशीयाली छिन्यो



लन्डन, (एजेन्सी) । गेब्रियल जिससले अन्तिममा गरेको गोल भार (भिडियो एसिस्टेन्ट रेफ्री) द्वारा अमान्य भएपछि टोटनह्यामले म्यानचेस्टर सिटीलाई उसकै मैदान इटिहाड स्टेडियममा २–२ मा रोकेको छ।

प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा ब्राजिलियन खेलाडीले गोल गर्ने वित्तिकै सिटी र समर्थकले जितको खुशीयाली मनाएका थिए। तर रेफ्री माइकल ओलिभरले खेल रोकेर भारको सहायता लिए। लामो प्रतिक्षापछि एमेरिक लापोर्टेको ह्यान्ड भएको भन्दै जिससको गोल अमान्य घोषित गरियो। यसले सिटीको खुशी छिनेको थियो।
गत सिजनको च्याम्पियन्स लिगअन्तर्गत अन्तिम आठको खेलमा यस्तै नाटकीय समापन भएको थियो।

सोही स्टेडियममा यी दुवै टोलीले खेलेका थिए। सो खेलमा अन्तिममा गरेको गोल भारद्वारा अमान्य घोषित गरिएपछि सिटी टोटेनह्यामसँग पराजित भएर बाहिरिनु परेको थियो। केभिन डी ब्रुएनले रहीम स्टर्लिङ र सर्जियो अग्वेरोलाई गोल गर्न सहयोग गरेपछि सिटीले पहिलो हाफमै दुई पटक अग्रता बनाएको थियो। डी ब्रुएनले २०औं मिनेटमा क्रस गरेको बलमा स्टर्लिङले गोल गरेका थिए। उनको यो दोस्रो प्रिमियर लिग खेलमा चौथो गोल हो।

तर इरिक लामेलाले २३औं मिनेटमा गोल फर्काएर टोटनह्यामलाई १–१ बराबरीमा पुर्याए। गोलकिपर एडरसन पोजिसनमा नभएको फाइदा लिँदै लामेलाले बक्सको छेउबाट गोल गरेका थिए। १२ मिनेटपछि अग्वेरोले डी ब्रुएनकै लो पासमा क्लोज रेन्जबाट गोल गरेर सिटीलाई २–१ को अग्रतामा राखे। योसँगै पहिलो हाफमा सिटी २–१ को अग्रतामा रहेको थियो। दोस्रो हाफमा मौरा ५६औं मिनेटमा मैदान आएर पहिलो टचमै गोल गर्न सफल भए।

सिटीका मेनेजर पेप गार्डियोलाले ६६औं मिनेटमा अग्वेरोलाई गेब्रियल जिससद्वारा रिप्लेस गराए। आफूलाई फिर्ता बोलाएको झोंकमा अग्वेरोले गार्डियोलामाथि चिच्याएर मैदान छाडेका थिए। उनीहरूबीच करिब ४४ सेकेण्डसम्म भनाभन भएको थियो। सहायक मेनेजर मिकेल अर्टेटाले छुट्टयाएपछि मात्रै झगडाले उग्ररूप लिन पाएन। पछि यी दुवै जना हाँस्दै अंगालो मारेका थिए।

प्रतिक्रिया दिनुहोस्