चीनमा निमेशलाई तेस्रो स्वर्ण



नेपाल समाचारपत्र, काठमाडौं ।  चीनको छेन्दुमा भइरहेको विश्व पुलिस एन्ड फायर गेम्समा नेपाली धावक निमेश गुरुङले तेस्रो स्वर्ण जितेका छन्। सिंगापुर पुलिस फोर्समा कार्यरत निमेशले सहभागी तीनै विधामा स्वर्ण जितेका हुन्।

आइतबार भएको १० हजार मिटर दौडमा उनले ३१ मिनेट १७ सेकेन्ड समय लिएर चीन र भारतका खेलाडीलाई पछाडि पार्दै पहिलो स्थान प्राप्त गरे। रेलवे पुलिस चीनका जेनुफेङ दाइले ३१ मिनेट ३५ सेकेन्डमा रजत तथा भारतीय राष्ट्रिय पुलिसका गोभा रामले ३२ मिनेट २१ सेकेन्डसहित कांस्य पदक हासिल गरेका थिए।

सिंगापुर पुलिस फोर्समा कार्यरत भए पनि निमेश नेपाली पासपोर्ट बोक्छन्। जसकारण पदक तालिकामा उनको परिचय नेपाली भनेर उल्लेख गरिएको छ। उनले गत आइतबार भएको १० हजार मिटरको क्रस कन्ट्री इभेन्टमा पनि स्वर्ण जितेका थिए। त्यसअघि उनले हाफ म्याराथनमा १ घन्टा ९ मिनेट २६ मिनेटमा निर्धारित दूरी पार गरेर स्वर्ण जितेका थिए।

पुलिस फायर गेम्समा विश्वभरका प्रहरीमा कार्यरत खेलाडीहरूको प्रतिस्पर्धा हुने गरेको छ। सन् १९८५ मा अमेरिकाबाट शुरू भएको प्रतियोगिताको चीनमा १८औं संस्करण भइरहेको हो।

एक दशकदेखि सिंगापुर पुलिस फोर्समा कार्यरत निमेशले सन् २०१७ मा अमेरिकाको लस एन्जलजसमा भएको अघिल्लो संस्करणमा पनि हाफ म्याराथन र १० हजार मिटर दौडमा स्वर्ण जितेका थिए।

संखुवासभामा जन्मिएका निमेश सिंगापुरका नाम चलेका धावकमा पर्छन्। विना प्रशिक्षकका धावक निमेशले सन् २०१३ देखि दौडिन थालेका हुन्। उनले सन् २०१४मा ५ हजार मिटर दौडमा सिंगापुरको २५ वर्ष पुरानो कीर्तिमान भंग गरेका थिए भने १० हजार मिटरको राष्ट्रिय कीर्तिमान पनि भंग गरेका थिए।

सिंगापुर हुने स्थानीय प्रतियोगितमा हरेक साता जस्तो पदक जित्ने निमेशले २०१४देखि हालसम्म झन्डै ६ दर्जन स्वर्णसहित ३ सयभन्दा बढी पदक जितिसकेका छन्। यस वर्ष उनले विभिन्न खेलका खेलाडीलाई पछि पार्दै सिंगापुर पुलिसको पीएसए उत्कृष्ट खेलाडीको अवार्ड पनि जितेका थिए।

 

प्रतिक्रिया दिनुहोस्