प्राधिकरणले साढे ८ अर्ब नाफा गर्ने प्रक्षेपण



नेपाल समाचारपत्र, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणलाई सरकारी संस्थानमध्ये एक नम्बरको बनाउनको घोषणा गर्नुभएको छ। उहाँले चालू आर्थिक वर्षमा प्राधिकरणलाई साढे ८ अर्ब रुपियाँभन्दा बढी नाफामा लैजाने घोषणासमेत गर्नुभयो।

प्राधिकरणको ३४औं वार्षिकोत्सवको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री पुनले गत आर्थिक वर्ष प्राधिकरणको उपलब्धि र गौरबको वर्ष भएको बताउनुभयो। ‘कार्यकारी निर्देशकको व्यवस्थापकीय क्षमता, कर्मचारीको मेहनत, राजनीतिक नेतृत्वको निरन्तरको सहयोगलगायतले प्राधिकरण इतिहासकै उत्कृष्ट बन्न सफल भएको छ,’ प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेनुभएका पुनले भन्नुभयो।

तीन वर्षअघि ८ अर्ब ८९ करोड रुपियाँ खुद घाटामा रहेको प्राधिकरणले त्यसपछि निरन्तर नाफा कमाउँदै आएको छ। आर्थिक वर्ष २०७५÷०७६ मा प्राधिकरण ७ अर्ब २० करोड रुपियाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। सञ्चित नोक्सानी करिब १५ अर्बमा झरेको छ।

गत आर्थिक वर्षमा विद्युत् चुहावटलाई १५ दशमलव ३२ प्रतिशतमा झार्न प्राधिकरण सफल भएको छ। आव २०७४÷०७५ मा २० दशमलव ४५ प्रतिशत रहेको चुहावटलाई गत आवमा ५ दशमलव १३ प्रतिशत विन्दूलाई घटाएर १५ दशमलव ३२ प्रतिशतमा झारिएको हो।

नियमित विद्युत् आपूर्ति हुन थालेपछि मुलको अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको उल्लेख गर्दै मन्त्री पुनले आगामी दिनमा मुलकमा पर्याप्त विद्युत् उत्पादन भई भारत बंगलादेशसँग विद्युत् व्यापारका लागि सौदाबाजी गर्न सक्ने अवस्था पुग्ने बताउनुभयो। ऊर्जा सचिव एवम् प्राधिकरण सञ्चालक समितिका सदस्य दिनेश कुमार घिमिरेले विद्युत्को खपत बढाउनु अब चुनौतीपूर्ण रहेको बताउनुभयो।

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेसनहरू निर्माण गरी विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्ने, खाना पकाउने ग्यासलाई विद्युतीय चुल्होले प्रतिस्थापन गर्ने लगायतका कार्यक्रम कार्यान्वयन गरी स्वदेशमा विद्युत्को आन्तरिक खपत वृद्धि गर्नेतर्फ विशेष जोड दिइने बताउनुभयो।

‘उत्कृष्ट सेवा प्रवाहको माध्यमबाट आर्थिक अवस्थामा सुधार ल्याउन सके प्राधिकरणप्रति सबैको विश्वास अभिवृद्धि हुने र यसबाट संस्थाको विकास र सुदृढीकरणका लागि पर्याप्त अवसरहरू सिर्जना हुनेमा विश्वस्त छौं।’ उहाँले भन्नुभयो। कार्यक्रममा गत वर्ष उत्कृष्ट कार्यसम्पादन गर्ने १५ कर्मचारी, कार्यालय लगायतलाई सम्मान गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्