चार वर्षको स्नातक र त्रिवि प्रशासन



 

देवराज अर्याल

त्रिभुवन विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत स्नातक तहको शैक्षिक कार्यक्रमलाई चारबर्से बनाउने भएको छ। शिक्षा, व्यवस्थापन, विज्ञान तथा प्रविधि संकायका शैक्षिक कार्यक्रमहरू यसअघि नै चारबर्से रहेको पृष्ठभूमिमा सबै संकायका शैक्षिक कार्यक्रमहरूमा एकरूपता ल्याउन मानविकी संकायको कार्यक्रमलाई चारबर्से बनाइएको हो। यसबाहेक नेपालको उच्च शिक्षाको स्तरलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप स्थापित गर्नका लागि स्नातक तहको शैक्षिक कार्यक्रम सामान्यतः चार वर्षको बनाइनु सान्दर्भिक थियो।

जसअनुसार नयाँ शैक्षिक सत्रदेखि स्नातक तहको शैक्षिक कार्यक्रम पहिलो वर्ष, दोस्रो वर्ष, तेस्रो वर्ष र चौथो वर्ष गरी २ हजार पूर्णाङ्कको हुने भएको छ। २ हजार पूर्णाङ्कमा ४ सय पूर्णाङ्क अनिवार्य विषयका लागि छुट्याइएको छ भने २ सय पूर्णाङ्क इलेक्टिभ विषय र बाँकी १४ सय पूर्णाङ्क मेजर विषयका लागि व्यवस्था गरिएको छ। अनिवार्य विषयअन्तर्गत २ सय पूर्णाङ्कको अंग्रेजी विषय, एक सयको नेपाली विषय र एक सयको नेपाल अध्ययन विषय राखिएको छ। स्नातक तहमा विगतमा जसरी नै विद्यार्थीले दुईवटा मेजर विषय लिनुपर्नेछ। प्रत्येक मेजर विषयको सात–सातवटा पेपर हुनेछन्।

विश्वविद्यालयहरूले आफ्नो शैक्षिक कार्यक्रम कति समय अवधिको बनाउने भन्ने विषय उसको अधिकार क्षेत्रभित्र पर्ने विषय हो। फेरि पनि कहीँ न कहीँ एकरूपताको सन्दर्भ उठ्ने गर्दछ। त्रिभुवन विश्वविद्यालयमा स्नातक तहको कार्यक्रम लामो समयसम्म दुई बर्से थियो। पछि यसलाई तीन वर्षको बनाइयो। अहिले आएर चार वर्षको बनाउने तयारी भएको छ। अमेरिकामा स्नातक तहको शैक्षिक कार्यक्रम पहिलेदेखि नै चार वर्षको थियो। बिटेन मोडेलअनुसार स्नातक तहको कार्यक्रम तीनबर्से मानिन्छ। कतिपय युरोपियन देशहरूमा अहिले पनि स्नातक तहको कार्यक्रम तीन वर्षको नै छ। वर्ष तीन र चार हुनुमा त्यस्तो ठूलो समस्याको विषय हुन सक्दैन।

तर, एउटै विश्वविद्यालयमा सञ्चालन हुने विभिन्न विषय, संकाय र संस्थानका शैक्षिक कार्यक्रमहरूमा अवधिको अन्तर हुँदा त्यसले एक प्रकारको अन्योलको अवस्था सिर्जना गर्दछ। यस सन्दर्भमा मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गतको स्नातक कार्यक्रमलाई चार वर्ष बनाउने कदम स्वागतयोग्य भएको छ। यसले आगामी दिनमा उच्च शिक्षाको प्राज्ञिक गरिमालाई माथि नै लैजान्छ भन्ने विश्वास लिइएको छ।

 

एउटै विश्वविद्यालयमा सञ्चालन हुने विभिन्न विषय, संकाय र संस्थानका शैक्षिक कार्यक्रमहरूमा अवधिको अन्तर हुँदा त्यसले एक प्रकारको अन्योलको अवस्था सिर्जना गर्दछ। यस सन्दर्भमा मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गतको स्नातक कार्यक्रमलाई चार वर्ष बनाउने कदम स्वागतयोग्य भएको छ। यसले आगामी दिनमा उच्च शिक्षाको प्राज्ञिक गरिमालाई माथि नै लैजान्छ भन्ने विश्वास लिइएको छ।

त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक संकायअन्तर्गत स्नातक तहमा अध्ययन गराइने विषयको संख्या ३५ रहेको छ। मानविकी संकायमा हाल स्नातक तहमात्र होइन स्नातकोत्तर, एमफिल र विद्यावारिधिसम्मको अध्ययन–अध्यापन भैरहेको छ। यहाँनेर स्नातक तहको कार्यक्रमलाई नयाँ ढंगले व्यवस्थापन गर्ने कुरा भैरहँदा यसको पाठ्यक्रम निर्माणको विषयलाई पनि उत्तिकै गम्भीरताका साथ ध्यान दिनुपर्ने हुन्छ। एकातिर सम्बन्धित तहको पाठ्यक्रमलाई उपयुक्त बनाउनुपर्ने चुनौती रहेको हुन्छ भने अर्कोतिर त्यो भन्दा तल्लो तहको शैक्षिक कार्यक्रम र माथिल्लो तहको शैक्षिक पाठ्यक्रमको विषयवस्तुसँग संगति मिलाउनुपर्ने हुन्छ। अर्थात् ‘भर्टिकल एन्ड होरिजन्टल लिंकेज’ मिलाउनुपर्ने हुन्छ।

अनि मात्र त्यसले समग्र शैक्षिक पाठ्यक्रमको उद्देश्य र लक्ष्यलाई सम्बोधन गर्न सक्दछ। यसतर्फ सबै विषयका विषयविज्ञहरूले ध्यान दिनुपर्ने बेला आएको छ।
वास्तवमा पाठ्यक्रमहरू भनेको कुनै पनि औपचारिक शिक्षाको प्रमुख आधार हो। पाठ्यक्रम सम्बन्धित तहको मुख्य मार्गदर्शक दस्ताबेज पनि हो। यसको लक्ष्य, उद्देश्य, पाठ्य विषयवस्तु, शिक्षण विधि, शैक्षणिक क्रियाकलाप, सामग्री र मूल्याङ्कन पद्धतिका बीचमा संगति मिल्नुपर्ने हुन्छ। उल्लिखित विषयवस्तुहरूमा संगति अर्थात् तारतम्य मिलेको पाठ्यक्रम भयो भने मात्रै निश्चित तहको शैक्षिक कार्यक्रमअनुरूपको सिकाइ उपलब्धि हासिल गर्न सकिन्छ। अन्यथा लगामविनाको घोडाको हालतजस्तो हुन्छ। त्यस्तै नियति यो क्षेत्रमा पनि लागू हुन पुग्दछ।

खासगरी निश्चित तहको शैक्षिक कार्यक्रमलाई कुन स्तरको उपलब्धि प्राप्त गराउने भन्ने विषयको निर्धारण पाठ्यक्रम निर्माण गर्दाखेरि नै आँकलन गरिएको हुनुपर्दछ। ज्ञान प्राप्त एउटा उपलब्धिको अवस्था हुन सक्छ, त्यो भन्दामाथि जाँदा बोध र व्याख्याको तह हुन्छ। यसै गरी प्रयोग, विश्लेषण, मूल्याङ्कन र सिर्जना त्यो भन्दा माथिका उपलब्धिका अवस्थाहरू हुन्। यो उपलब्धिको स्तरलाई समेत ख्याल गरेर निर्माण गरिएको पाठ्यक्रमले मात्रै शैक्षिक कार्यक्रमको निर्धारित उद्देश्य प्राप्त हुन सक्छ। चारबर्से स्नातक कार्यक्रमको यात्रा अगाडि बढ्दै गर्दा यो पक्षलाई गम्भीरताका साथ लिनुपर्ने हुन्छ।

जसले गर्दा त्रिभुवन विश्वविद्यालयको शाख र गरिमालाई माथि लैजान्छ। त्रिभुवन विश्वविद्यालय नेपालको एउटा प्रमुख शैक्षिक धरोहर हो। सबैभन्दा पुरानो भएको हुनाले मात्र होइन, सबैभन्दा धेरै उच्च शिक्षाको भारवहन गरेको हिसाबले पनि त्रिभुवन विश्वविद्यालयको गरिमा नेपालमा उच्च स्थानमा रहको छ। अहिलेको तथ्याङ्कलाई नियाल्ने हो भने त्रिभुवन विश्वविद्यालयको ६० वटा आफ्नै आङ्गिक क्याम्पस छन् भने सम्बन्धन प्राप्त क्याम्पसको संख्या १२ सयको हाराहारीमा पुगिसकेको छ।

नेपालमा उच्च शिक्षा अध्ययन गर्नेहरूमध्ये ९० प्रतिशत विद्यार्थी त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्दछन्। विगतमा यो संख्या अझ बढी थियो। यो नेपालको उच्च शिक्षाको यथार्थ तस्वीर हो। संख्यात्मक हिसाबले मात्र होइन, शैक्षिक गुणस्तरको दृष्टिकोणबाट विश्लेषण गर्ने हो भने यसको स्थान तुलनात्मकरूपमा उच्च स्थान रहेको छ। केही अपवादलाई छोडेर भन्दा त्रिभुवन विश्वविद्यालयको शैक्षिक गुणस्तर निकै माथि रहेको छ। एकाध अपवादका घटना र प्रकरणहरूलाई मात्र प्रस्तुत गरेर सामान्यीकरण गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै लैजानुपर्दछ। त्रिभुवन विश्वविद्यायको गरिमा, साख, विश्वसनीयता र वैधतासँग आमनेपालीको इज्जत र प्रतिष्ठा पनि जोडिएको छ।

विगत केही महिनायता त्रिभुवन विश्वविद्यालयको विषयमा विभिन्न प्रकारका समाचार आइरहेका छन्। त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा एकजना विद्यार्थीको वास्तविकरूपमा प्राप्त गरेको प्राप्ताङ्कमा अंक थप गरिएको प्रकरण र सेवा आयोगको प्रतियोगितात्मक परीक्षामा नातागोता र बिचौलियाका मानिसहरूलाई पास गराइएको भन्ने प्रकरणले प्रश्नचिह्न उत्पन्न गराएको छ। वास्तवमै यो देशकै लागि दुःखद समाचार हो। यति धेरै विश्वसनीयता र वैधता रहेको संस्थामा भएको उल्लिखित अनियमित प्रकरणले गर्दा एक प्रकारको लज्जाबोध पनि गराएको छ। यद्यपि यो विषय न्यायिक छानबिनको दायरामा आइसकेको छ। न्यायिक निरूपणको प्रक्रिया अगाडि बढिसकेको छ।

एउटा विशिष्ट घटना, केही व्यक्तिहरूको मात्र संलग्नता रहेको हुनाले तत्–तत् क्षेत्रमा कार्यवाही हुनेबित्तिकै यो समस्या समाधान हुन्छ। यो प्रकरणले विश्वविद्यालयको समग्र प्रणालीलाई खासै प्रभाव पार्न सक्दैन। उल्लिखित प्रकरणहरू प्रणालीभन्दा बाहिरबाट भएको हुनाले नै वास्तवमा डिस्कोजको अवस्थामा आइपुगेको हो। यस्ता प्रकारका अनियमितताका प्रकरणहरू सार्वजनिकीकरण हुनुपर्ने थियो, भयो, राम्रै भयो। यो प्रकरणले गर्दा विश्वविद्यालयको प्रशासनिक क्षेत्र र व्यवस्थापकीय क्षेत्रमा एक प्रकारको सजगता, सतर्कता र दायित्वबोध हुनुपर्छ भन्ने भावना सञ्चार गराएको पनि छ।

तर दुःखको कुरा के छ भने, यो विश्वविद्यालय अहिले पनि वास्तविकरूपमा संस्थागतरूपमा विकास हुन सकेको महसुुस सेवाग्राहीले पाउन सकेका छैनन्। क्याम्पसहरूमा नियमितरूपमा पठनपाठन हुन्छ। परीक्षा हुन्छ, त्यसको नतिजा पनि प्रकाशित हुन्छ। यी कामहरू नियमितरूपमा प्रणालीगतरूपमा भएका छन्। तर विश्वविद्यालयको केन्द्रीय प्रशासन सेवा जुन ढंगबाट चुस्त, दुरुस्त, नियमितरूपमा हुनुपर्ने हो त्यो हुन सकेको छैन। ऐन कानुनहरूको सही कार्यान्वयन, अभिलेखीकरण, लेखा व्यवस्थापन, प्रविधिमैत्री कार्यसम्पादन र जवाफदेहिताको सवालमा विश्वविद्यालय प्रशासन नेपालका अन्य संस्थाहरूको तुलनामा निकै तल रहेको छ।

विश्वविद्यालयका वर्तमान पदाधिकारीहरूको कार्यावधि पूरा भई नयाँ पदाधिकारी प्रवेश हुन लागेको पृष्ठभूमिमा यो पक्षलाई खासरूपमा हेक्का राख्न सक्यो भने यसले नयाँ गति प्राप्त गर्ला भन्ने अपेक्षा राख्न सकिन्छ।

 

प्रतिक्रिया दिनुहोस्