सवारी दुर्घटनाले निम्त्याएको पीडा



नेपालमा दैनिकजसो दुर्घटनाका खबरहरू आइरहेका हुन्छन्। सडकमा हुने यस्ता दुर्घटना प्रायः ट्राफिक नियमको पालना नगर्दा हुने गरेको छ। धेरै नेपालीले दुर्घटनामा परी अकालमा प्राण त्याग्न बाध्य छन्।

कतै चालकको लापरबाही त कतै साँघुरा सडक, दुर्घटनाको कारण जेसुकै भए पनि धेरैजसो लापरबाहीले हुने प्रस्ट छ। आफन्त, नातागोता, इष्टमित्र, छोराछोरी, श्रीमान्–श्रीमती गुमाएकाहरूको पीडा जीवनभरि नै उनीहरूको मनमा परिरहेको हुन्छ।

जसको काँधमा वृद्ध आमा, बुबा, श्रीमती र छोराछोरीको भविष्यको जिम्मेवारी हुन सक्छ। ऊ त मरेर गयो, उसको परिवार पनि मरेतुल्य नै हुन्छ। जुन परिवारमा यी घटनाहरू घटेका छन्, उनीहरूको भयावह अवस्था हुन्छ। एक त उनीहरू पीडामा हुन्छन्, त्यसमाथि थप पीडा दिने काम गर्छ घूसखोरी प्रशासनतन्त्र, पुलिस, कानुन अनि सरकारले।

नेपालमा हुने अधिकांश सडक दुर्घटनामा कम उमेरमा सवारीचालक, अनुमतिपत्र पाएका ट्यापे–फ्यापे, अत्यधिक मादक पदार्थ र लागूऔषध सेवन गरेर अनियन्त्रित ढंगले सवारी चलाउने युवा चालकहरूले गर्दा नै दुर्घटना दिनानुदिन बढ्दो क्रममा छ।

यहाँ सेटिङमा काम हुने भएकोले पनि चालकको लापरबाही बढी देखिन्छ। काठमाडौंमा एउटा ट्रकले ठक्कर दिएको घाइतेलाई आफैं ब्याक गरेर मारेको मैले देखें। उपचार गर्न भन्दा मारेर उम्कन खोज्ने मानवता नभएका ड्राइभरका कारण नै धेरै दुर्घटना हुन्छन्।

नेपालमा सवारी दुर्घटना बढ्नुको कारणमा धुवाँ फ्याँक्ने थोत्रा सवारीसाधन, दशकौँदेखि स्तरोन्नति हुन नसकेका मिनी तालयुक्त खाल्डाखुल्डी भएका सडक, सडकछेउमा बनाएका अव्यवस्थित भौतिक संरचना आदि पनि हुन्। सडक चौडा एवम् गतिमापन मेसिन लगाएर दुर्घटना न्यूनीकरणतर्फ लाग्न हामीले कत्ति पनि ढिला गर्नुहुँदैन।

केही समयअगाडि काठमाडौंको रिङरोडमा चल्ने सवारीसाधनको गति मापन गर्ने भनेर पनि भनियो। यसको बारेमा ट्राफिकहरूले पनि खूब फुके। तर पनि त्यस नियम व्यवहारमा लागू हुन सकेन। यसको व्यवस्था राज्य संयन्त्रले छिटोभन्दा छिटो गर्नु अत्यन्तै जरुरी छ। सरकारको यसमा पनि ध्यान जाओस्।

– सञ्जय श्रेष्ठ, बूढानीलकण्ठ, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्