अनुशासनहीन पैदल यात्री



ट्राफिकले केही महिनाअगाडि चलाएको जरिबाना अभियानले केही सर्वसाधारणलाई राम्रै पाठ सिकाएर गयो। त्यसले केही पैदल यात्री अनुशासित भए।

तर कोहीचाहिँ जहाँबाट मन लाग्यो त्यहीँबाट बाटो काट्ने, नजिकै जेब्रा क्रसिङ भए पनि त्यसको वास्ता नगर्ने, कैयौं आकाशे पुलहरू छन्, त्यसैको मुनिबाट बाटो काट्ने, ट्राफिक प्रहरी वा अन्य कसैले सम्झाउँदा पनि उल्टै गालीगलौज गरी नटेर्ने, ओभरहेड ब्रिजबाट नहिँडी सवारीसाधनको चाप भएको स्थानबाटै जबरजस्ती सडक पार गर्ने गरेको देखिन्छ।

ट्राफिकले २ सय रुपियाँ जरिबाना लगाएपछि केही पैदल यात्री अनुशासित भएको भने पक्कै हो। तर , यो नियम धेरै समय टिक्न भने सकेन। यहाँ नजानेर भन्दा पनि जानी–जानी बुझेर बुझ पचाउनेले भने नियम उल्लंघन गरेका छन्। प्रहरीले पनि टार्गेट गरेर पैसा उठाउन नहुने कुरा हो।

तर पनि थोरै समयभन्दा एकै वर्ष यस्तो अभियान चलाउने हो भने अझै धेरै अनुशासन बन्ने थिए होलान्। फेरि जरिबानाको व्यवस्था गरेर ट्राफिक व्यवस्थापन गर्न सरकारसँग अपिल गर्न चाहन्छु।

मनपरि गर्ने अनुशासनहीन पैदल यात्रीलाई अनुशासनपूर्वक सडक पार गर्न सिकाउने एकमात्र विकल्पका रूपमा २ सय रुपियाँ जरिबाना वा ती अटेरी पैदल यात्रीलाई जनचेतना जगाउन र सिकाउन केही समय ट्राफिक प्रहरीको कक्षामा राखी छाड्ने व्यवस्था फेरि गर्न जरुरी छ।

प्रहरीले पनि नीतिगतरूपमै कारबाहीको कुरा अगाडि बढाएमा पछि समस्या पर्दैन। तर हाल यस्तो नियमचाहिँ लागू गर्न सरकारलाई अथवा प्रहरीलाई कसैको रोकावट भने छैन।
– सरिता चापागाईं, काठमाडौं

 

प्रतिक्रिया दिनुहोस्