औषधिको मात्रा मिलाउन प्रम सिंगापुर जाँदै



भगवती तिमल्सिना,काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली फेरि सिंगापुर जाने हुनुभएको छ। उहाँ गत साउन १८ गते सिंगापुर गई २७ गते नेपाल फर्कनुभएको थियो।
प्रधानमन्त्री कार्यालयका अनुसार अघिल्लोपटक बदलिएको औषधिको डोज पूरा गर्न उहाँ पुनः सिंगापुर जान लाग्नुभएको हो।

१८ गते सिंगापुर जाँदा ज्वरो आएकाले शुक्रबार फर्कने कार्यक्रम भए पनि तीन दिन थपी २७ गते मात्रै फर्कनुभएको थियो। चिकित्सकको सल्लाहअनुसार पुनः अन्तिम अर्थात् तेस्रो डोज औषधि लिन सिंगापुर जान लाग्नुभएको भए पनि फर्कने मिति तय नभएको स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओलीले परिवर्तन गर्नुभएको औषधि तीन साइकल भएकोमा दुई डोज लिएपछि ज्वरो आएकाले केही समयपछि लिन चिकित्सकहरूले सल्लाह दिएका थिए। उहाँमा मृगौलाको समस्या रहेको छ।

नयाँ औषधि थपिनुका साथै डोज पूरा नभएकाले उहाँको शरीरमा क्रियाटिनिन अनियन्त्रित देखिएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्। उहाँले यसपटक पनि सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य जाँच गर्नुहुनेछ।

प्रतिक्रिया दिनुहोस्