राजनीति हावी भएर नै खेलकुद उचाइमा पुग्न सकेन



राजीवविक्रम शाह
अध्यक्ष
नेपाल एथ्लेटिक्स संघ

नेपाली राजनीति तथा खेलजगत् दुवैमा दख्खल भएका व्यक्तित्व हुन् राजीवविक्रम शाह। यति मात्र होइन, समाजिक कार्यमा पनि उहाँको गतिविधि सराहनीय छ। करिब एक दशकअघि नेपाल एथ्लेटिक्स संघको उपाध्यक्ष बन्नुभएका उहाँपूर्वमाननीयसमेत हुनुहुन्छ। केही समयअघि नेपाल एथ्लेटिक्स संघको अध्यक्ष पदमा लगालग दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएका उहाँयसै साता इन्टरनेसनल एसोसियसन अफ एथ्लेटिक्स फेडेरेसन (आईएएएफ)अन्तर्गत फाइनान्स एन्ड मार्केटिङ सदस्यमा समेत नियुक्त हुनुभएको छ। वर्तमान नेपाली एथ्लेटिक्ससँग सम्बन्धित विषयवस्तुमा केन्द्रित रहेर उहाँसँग नेपाल समाचारपत्रका लागि यदुप्रसाद भट्टकविरस शर्माले गरेको कुराकानीको सारसंक्षेप :

कति भयो खेलकुदसँग जोडिनुभएको ?

सानैदेखि खेलकुदमा मेरो रुचि रहँदै आएको छ। म दार्जिलिङको सेन्ट जोसेफ र दिल्लीको अमेरिकन एम्बेसी स्कुलमा पढ्दा नै बास्केटबल, हकी र भलिबलको टिममा थिएँ। खेलमा धेरै रुचि भए पनि नेपालमा चाहिँखेलिनँ। पढाइ पूरा गर्दासम्म उमेर छिप्पिसकेको थियो।

नेपाल एथ्लेटिक्स संघमा कसरी प्रवेश गर्नुभयो ?

१० वर्ष अगाडि किशोरबहादुर सिंह सदस्य–सचिव हुँदा उहाँले मलाई नेपाल एथ्लेटिक्स संघको उपाध्यक्षमा नियुक्त गर्नुभएको थियो। त्यति बेला हामीले ९ महिनाभित्र १९ वटा प्रतियोगिता गरेका थियौं। त्यसपछि भने म राजनीतितिर लागें। अनि सांसद पनि बनें। त्यस समयमा नेपाल एथ्लेटिक्स संघ विवादको भुमरीमा फसेको थियो। एथ्लेटिक्स संघसम्बद्ध व्यक्तिले नै मलाई पुनः संघमा आउन आग्रह गरेपछि चुनाव लडेर म पहिलोपटक अध्यक्ष बनेको हुँ। अहिले भने यो मेरो दोस्रो कार्यकाल हो।

यहाँलाई राजनीतिबाट पुनः एथ्लेटिक्समा आउने सोच कसरी आयो होला ?

खेलकुद पनि कुनै न कुनै कोणबाट राजनीतिसँग जोडिएको छ। राजनीति गर्न र खेलकुदमा राजनीतिलाई भित्राउन भनेर म खेलकुदमा आएको होइन। खेलकुद मेरो सोख हो र खेलकुद विकास गर्न म आएको हुँ।

राजनीतिज्ञले गर्दा नै खेलकुदमा राजनीति हावी हुने गरेको हो ?

कुनै न कुनै कोणबाट खेलकुदले राजनीतिलाई छुने गरेको छ। तर, खेलकुदमा राजनीति हावी हुनु पक्कै पनि राम्रो कुरा होइन। नेपालमा मात्र होइन, विदेशमा पनि खेलकुदको सम्बन्ध राजनीतिसँग जोडिएको हुन्छ। त्यहाँखेलकुदको हितका लागि राजनीति गरिन्छ। तर, नेपालमा व्यक्तिगत स्वार्थका लागि खेलकुदमा राजनीति हावी हुने क्रम बढ्दो छ। राजनीति हावी भएर नै नेपालको खेलकुद क्षेत्र उचाइमा पुग्न नसकेको मेरो ठम्याइ छ।

नेपाल एथ्लेटिक्स संघमा कत्तिको राजनीति हावी छ ?

विगतमा १२ वर्षसम्म चुनाव नै हुन नसकेको अवस्थामा थियो नेपाल एथ्लेटिक्स संघ। त्यस्तो अवस्थामा राज्यले समेत चासो देखाएको थिएन। आईएएएफले एक पक्षलाई मान्यता दिएको थियो। तर, राज्यले भने संघलाई सुधार्न कुनै पहल नै चालेको थिएन। त्यति बेला आईएएएफको मान्यता प्राप्तले विदेशमा खेल्न पठाउनका लागि केही समय टुँडिखेलमा प्रशिक्षण गराएर भए पनि खेलाडी पठाउँथे। संघ भनेको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता मात्र गराउने होइन। खेलाडी उत्पादन गर्ने, आधुनिक प्रशिक्षण गराउने, कोच र रेफ्रीको स्तरोन्नतिका लागि रिफ्रेसर तालिम, कोच र रेफ्री तालिमलगायतका विभिन्न काम गर्ने हो। यदि १२ वर्षसम्म यो संघमा किचलो नभएको भए म यतातिर आउने नै थिइनँहोला।

एथ्लेटिक्स संघले विवादकर्तालाई समेट्न नसकेको हो ?

यो मेरो दोस्रो कार्यकाल हो। यसभन्दा अघिको कार्यकालमा म अध्यक्षमा निर्वाचित भए पनि निस्क्रिय नै भएर बसेको थिएँ। दुई वर्षसम्म निस्क्रिय रहँदा एथ्लेटिक्सका जानकर र अनुभवीहरूलाई नै एथ्लेटिक्स विकासको जिम्मा दिएको थिएँ। तर, उहाँहरूले त्यस क्रममा नातावाद र कृपावादको भरणपोषण गर्नुभयो। त्यस्तो क्रियाकलापविरुद्ध मैले कारबाही अघि बढाएपछि उहाँहरू अहिले मविरुद्ध नै खनिनुभएको छ। तीमध्येका कतिपय त राष्ट्रिय खेलकुद परिषद्को कारबाहीमा समेत परिसकेका छन्। मेरो ठाउँमा उनीहरू हुँदा केही नगर्ने, अनि अहिले मैले केही राम्रो गर्न खोज्दा मविरुद्ध नै लागेका छन्। खेलको बारेमा मलाई उहाँहरूलाई जति प्राविधिक ज्ञान नहोला, तर एथ्लेटिक्समार्फत देशका लागि म केही गर्छु।

वर्तमान कार्यसमितिसंग रुष्ट हुनेहरूले नै अहिले मुख्य समस्या खडा गरेका छन्। संघलाई असहयोग गरिरहेका छन्। अनि संघलाई जानकारी नै नदिई अनाधिकृतरूपमा विदेशमा खेल्न जानेसम्मको क्रियाकलापलाई बढावा दिएका छन्। यसमा अन्तर्राष्ट्रिय समन्वय गर्ने आधिकारिक निकायले समेत त्यस्ता व्यक्तिहरूलाई साथ दिइरहेका छन्।

चुनाव भएको केही महिना बितिसक्दा पनि कार्यसमितिले पूर्णता नपाउनुको कारण के होला ?

सरकारको सहयोग चाहिने भएकाले संघले पूर्णता नपाएको हो। जति चाँडो हुन्छ सरकारले हामीलाई सहयोग गर्छ भन्ने आशा गरेका छौं। यसका लागि सरकारले अलि बढी समय लिएको छ।

वर्तमान कार्यसमितिमा महिला नहुनुको कारण के होला ?

यसको मूल कारण भनेको संघले पूर्णता पाएको छैन। पूर्णता पाउनेबित्तिकै हामीले कार्यसमितिमा अनिवार्य ३३ प्रतिशत महिलालाई स्थान दिन्छौं।

पूर्वघोषणा गरिएअनुसार अजितकुमार यादवले मासिक भत्ता पाएनन् भन्ने सुनिन्छ नि ?

यो विषयमा संघले भरमग्दुर प्रयास गरिरहेको छ। उहाँलाई नबिल बैंक, गोल्छा अर्गनाइजेसन, गोल्डस्टार कम्पनी, जावलाखेल डिस्टिलरी र होटल अन्नपूर्णले सहयोग गर्ने भनेका हुन्। ती संस्थाले मासिक १२ हजार दिने घोषणा गरेका हुन्। जसका लागि कागजी प्रक्रिया पूरा गर्न अलि ढिलो मात्र भएको हो। अजित यादवले पाउनुपर्ने रकम कहीं जाँदैन। उहाँले पाउनुहुन्छ, केवल प्रक्रिया नमिलेको मात्र हो। बितेका केही महिनाको पनि एकमुष्ट रकम पाउनेछन्।

तपाईंले करोडौं लगानीमा जाजरकोटमा अस्पताल बनाउनुभयो, खेलकुदसँगै समाजसेवा गर्ने सोच कसरी आयो ?

मान्छेले विविध सोच राख्नुपर्छ जस्तो मलाई लाग्छ। अध्ययनका क्रममा धेरै वर्ष विदेशमा नै बिताए पनि म आफूलाई नेपाली हुनुमा सबैभन्दा ठूलो गर्व महसुस गर्छु। म पहिलेदेखि नै नेपालमा आफूले केही गर्नुपर्छ भनेर सोच्थें। खेलकुदमार्फत नेपाललाई गौरवान्वित गर्न सक्छु कि भनेर नै यो क्षेत्रमा आएको हुँ। शुद्ध मनले काम गर्ने हो भने राजनीति पनि एक प्रकारले समाजसेवा नै हो। त्यसैले राजनीतितिर पनि म लागेको हुँ। जाजरकोट मेरो पुख्र्यौली थलो हो। एउटा स्तरीय अस्पताल अभावका कारण झाडापखाला, हैजाजस्ता महामारीबाट त्यहाँवर्षेनी थुप्रै मान्छेले ज्यान गुमाउने गरेका छन्। केही वर्षअघि फैलिएको झाडापखालाले जाजरकोटलाई आक्रान्त पा¥यो। म होलिकोप्टरमा औषधि तथा विशेषज्ञ डाक्टरहरू लिएर त्यहाँपुगें, सकेको सहयोग गरें। केही गर्नुपर्छ भन्ने सोच ममा पलायो। अनि त्यसैलाई मध्यनजर गरी मैले अस्पताल बनाएको हुँ।

१३औं सागका लागि कसरी तयारी गर्दै हुनुहुन्छ ?

खेल प्रशिक्षण भनेको रातभरि घोकेर भोलिपल्ट परीक्षा दिएजस्तो होइन। यसका लागि क्रमिकरूपमा शारीरिक क्षमताको विकास आवश्यक छ। शारीरिक क्षमता विकासका लागि महिनौंअघिबाट प्रशिक्षण शुरू गर्नुपर्छ। तर, अहिले भर्खर तयारी शुरू भएको छ। प्रशिक्षण अवधि छोटो छ। त्यति मात्र होइन, उपलब्ध प्रशिक्षणस्थलको अवस्था पनि राम्रो छैन। अनि कोच र रेफ्रीहरूलाई पनि ‘अप टु डेट’ गर्न सकिरहेका छैनौं। उपलब्ध रेफ्रीहरूको संख्या पनि अफिसियल खेल सञ्चालन गर्नका लागि अपुग छ।

एथ्लेटिक्सले वैदेशिक प्रशिक्षणमा जाने योजना बनाएको छ ?

हामीसँग अब समय धेरै छैन। बाहिर गयौं अथवा विदेशी प्रशिक्षक झिकायौं भने प्रशिक्षणको पद्धति नै फरक ढंगको हुन्छ। यसले खेलाडीको शारीरिक क्षमतालाई वृद्धि गर्न समय पनि लाग्न सक्छ। त्यसैले अनुकूल वातावरण मिलाएर नेपालमा नै प्रशिक्षण गर्छौं।

१३औं सागमा एथ्लेटिक्सको कतिवटा इभेन्ट्स खेलाइनेछ ?

हामीले १८ वटा इभेन्ट्स राख्ने प्रस्ताव गरेका छौं। जसमध्ये १६ इभेन्ट्स पक्का भइसकेको छ। बाँकी दुई इभेन्ट्सका लागि भने सदस्य राष्ट्रबीच सहमति जुटाउन बाँकी नै छ। त्यसमा पनि सहमतिका लागि सम्बन्धित पक्षसँग मैले सक्दो प्रयास गरिरहेको छु।

आठौं राष्ट्रिय खेलकुदका स्वर्णधारी अनिश थापा मगर र रजतधारी दुर्गा बुढा क्लोज क्याम्पमा अनुपस्थित हुनुका कारण के होला ?
त्यो उनीहरूको स्वेच्छाको कुरा हो। हामीले उनीहरूलाई बोलाएका छौं। यी दुवै भारतीय सेनामा कार्यरत छन्। संस्थाको नियम र अनुशासनअनुसार उनीहरू बस्नुपरेको छ। उनीहरूलाई क्याम्पमा ल्याउन हामीले प्रयास गरिरहेका छौं। भारतीय सेनामा जागिरे भए पनि उनीहरू नेपाली नागरिकतावाहक नै भएकाले आठौं राष्ट्रिय खेलकुदमा खेलेका हुन्।

 

खेल प्रशिक्षण भनेको रातभरि घोकेर भोलिपल्ट परीक्षा दिएजस्तो होइन। यसका लागि क्रमिकरूपमा शारीरिक क्षमताको विकास आवश्यक छ। शारीरिक क्षमता विकासका लागि महिनौंअघिबाट प्रशिक्षण शुरू गर्नुपर्छ। तर, अहिले भर्खर तयारी शुरू भएको छ। प्रशिक्षण अवधि छोटो छ। त्यति मात्र होइन, उपलब्ध प्रशिक्षणस्थलको अवस्था पनि राम्रो छैन।

 

आगामी महिना हुने वल्र्ड एथ्लेटिक्स च्याम्पियनसिपका लागि खेलाडी छनोट गर्नुभएको छ ?

यसमा हामी वाइल्डकार्डमार्फत सहभागी हुने हो। उत्कृष्ट टाइमिङ रहेको एक जना खेलाडी वाइल्ड कार्डमार्फत सहभागी हुनेछ।

इन्टरनेसनल एसोसिएसन अफ एथ्लेटिक्स फेडेरेसन (आईएएएफ)ले नेपाललाई कसरी सहयोग गरेको छ ?

विभिन्न शीर्षकमा खर्च गर्नका लागि आईएएएफले वार्षिक १५ हजार अमेरिकी डलर सहयोग प्रदान गर्दै आइरहेको छ। यसैबाट अफिसदेखि खेलाडी बाहिर पठाउनेसम्मको खर्च चलाउनुपर्छ। त्यस्तै एथ्लेटिक्ससम्बद्ध विभिन्न कोर्सहरूमार्फत पनि सहयोग गरेका छन्। तर, त्यस्ता कोर्समा सहभागी हुनका लागि अंग्रेजी राम्ररी बुझ्ने र लेख्ने प्रशिक्षक सीमित भएकाले हामीले सोचे जति फाइदा लिन सकिरहेका छैनौं। जसका कारण हाम्रो प्रशिक्षण पनि समयसापेक्ष हुन सकिरहेको छैन। राम्रा खेलाडी राम्रो प्रशिक्षक नै बन्छ भन्ने ग्यारेन्टी छैन। यसको विकल्पका रूपमा यदि हामीले शैक्षिक योग्यताको आधारमा खेलकुदमा रुचि भएकाहरूलाई पनि त्यस्तो तालिममा सहभागी गराउन सक्यौं भने भविष्यमा रोजगारीका साथै उनीहरूले राम्रो खेलाडी उत्पादनमा समेत टेवा पु¥याउनेछ भन्ने मलाई लागेको छ।

एथ्लेटिक्स विकासका लागि कस्तो योजना तयार पार्नुभएको छ ?

मुख्य कुरा हामीसँग पर्याप्त बजेट छैन। त्यसैले विभिन्न व्यापारिक संस्थानसँग साथ र सहयोग मागी वार्षिक क्यालेन्डर र ६ वटा कमिसनसहितको योजना बनाउन खोजिरहेका छौं। जसमा डेभलपमेन्ट, मार्केटिङ, कम्पिटिसन, एथिक्स एन्ड लिगल, युथ एन्ड स्कुल र प्रेस एन्ड मिडिया कमिसन रहनेछ। एथ्लेटिक्समा राम्रो दख्खल भएका एक जनालाई सीईओ नियुक्त गर्ने सोच छ। त्यसभित्र हाम्रा संघका सदस्यहरूलाई संयोजक बनाइनेछ भने आवश्यकताअनुसार मान्छे पनि थपिनेछ। मैले आफ्ना बोर्ड सदस्यलाई राम्रा खेलाडी उत्पादन गर्न केन्द्रमा मात्र भर नपरी स्थानीय प्रतियोगिताहरू पनि सञ्चालन गर्न भनेको छु। स्थानीय तहमा पनि प्रतियोगिता गर्न बजेटका लागि प्रायोजकहरू खोज्नुस् भनेको छु। गाउँपालिका, नगरपालिका तथा प्रदेश सरकारले पनि खेलकुदलाई उकास्न बजेट छुट्याउनुपर्छ। सरकारले पनि खेलकुदलाई प्राथमिकतामा राखेर पर्याप्त बजेट विनियोजन गर्नुपर्छ। थाइल्यान्डमा चुरोट, रक्सीबाट उठ्ने सबै कर खेलकुदमा लगाइन्छ। त्यस्तै नीति नेपालमा पनि लागू गर्ने हो भने खेलकुदलाई धेरै फाइदा पुग्नेछ।

केही वर्ष अगाडि आईएएएफद्वारा नेपालमा अन्तर्राष्ट्रियस्तरको ट्र्याक बनाउने प्रोजेक्ट असफल हुनुका कारण के थियो ?

यो म आउनुभन्दा अगाडिको कुरा हो। उक्त प्रोजेक्टका लागि प्रस्ताव आउँदा नेपाल एथ्लेटिक्स संघ स्थिर थिएन। जसका कारण तोकिएको समयसीमाभित्र हामीले जग्गा उपलब्ध गराउन सकेनौं। अहिले त्यो प्रोजेक्ट भुटानमा गइसकेको छ। तर, अहिले पनि हामीलाई नयाँप्रोजेक्ट दिने कुरा उठेको छ। हामी त्यसका लागि लबिङ गर्दै छांै। आईएएएफ त्यति धनी संस्था भने होइन। कुनै देशले कुनै प्रोजेक्ट आईएएएफलाई हस्तान्तरण गरेपछि मात्र त्यो कुन देशलाई दिने भनेर तय गरिने हो।

हालसालै तपाईं आईएएएफअन्तर्गतको फाइनान्स एन्ड मार्केटिङ कमिसनको सदस्य नियुक्त हुनुभएको छ, यसबाट नेपाली एथ्लेटिक्सले कस्तो आशा गर्न मिल्छ ?

अहिले नै यो गर्छु भनेर भन्दिनँ। ‘टर्म अफ रिफरेन्स’ अनुसार काम गर्नुपर्ने हुन्छ। तर, आईएएएफबाट प्राप्त हुने स्रोत र साधनलाई सकेसम्म नेपाली एथ्लेटिक्स विकासका लागि लबिङ गर्नेछु। डेभलपमेन्ट प्रोजेक्टलाई नेपालमा भित्तयाउन सक्दो प्रयास गर्नेछु।

नेपाल एथ्लेटिक्स संघमा अहिलेको मुख्य समस्या के हो ?

वर्तमान कार्यसमितिसँग रुष्ट हुनेहरूले नै अहिले मुख्य समस्या खडा गरेका छन्। संघलाई असहयोग गरिरहेका छन्। अनि संघलाई जानकारी नै नदिई अनाधिकृतरूपमा विदेशमा खेल्न जानेसम्मको क्रियाकलापलाई बढावा दिएका छन्। यसमा अन्तर्राष्ट्रिय समन्वय गर्ने आधिकारिक निकायले समेत त्यस्ता व्यक्तिहरूलाई साथ दिइरहेका छन्।

 

 

 

प्रतिक्रिया दिनुहोस्