पर्सामा प्यान नम्बर लिने बढे



कृष्णउदास खनाल, वीरगन्ज ।   पर्सामा व्यक्तिगत र संस्थागत प्यान नम्बर लिने सेवाग्राहीको संख्या ह्वात्तै बढेको छ। जिल्लामा रहेको आन्तरिक राजस्व कार्यालयको साउन महिनाको तथ्यांकले यस्तो देखाएको हो।

चालू आर्थिक वर्षको पहिलो महिनासम्ममा पर्साको आन्तरिक राजस्व कार्यालयमा मात्र व्यक्तिगत स्थायी लेखा (प्यान) नम्बर लिनेको संख्या ५ हजार ४४६ पुगेको छ। शुरुका दिनदेखि गएको असारसम्ममा भने पर्सामा कुल २६ हजार ९ जनाले मात्र व्यक्तिगत पान लिएका थिए।

तर, एकै महिनामा ५ हजार ४४६ जनाले प्यान नम्बर लिएपछि भने एक्कासी यो संख्या बढेर कुल ३१ हजार ४५५ जना पुगेको छ। यसमा ११६ जनाको प्यान नम्बर भने निश्क्रिय रहेको आन्तरिक राजस्व कार्यालय पर्साका प्रमुख गोपीकृष्ण कोइरालाले बताउनुभयो।

व्यापार, उद्योग व्यवसाय (आइ ट्याक्स) तर्फ दर्ता हुने संस्थाको संख्या पनि साउनको २७ दिनमा मात्र ३०१ पुगेको छ। भ्याटतर्फ पनि चालू महिनामा १२४ संस्था दर्ता भएका छन्। भ्याटतर्फ साउन महिनाको समेत गरी अहिलेसम्म पर्सामा मात्र ९ हजार ९०३ वटा उद्योग प्रतिष्ठान दर्ता भइसकेका छन्।
आइ ट्याक्सतर्फ ३१ हजार ३७९ वटा कुल संस्था दर्ता भएका छन्। भ्याटतर्फ दर्ता भएका कुल संस्थामध्ये १ हजार ४४ वटा हाल बन्द भएका छन् भने ३४६ पुनः सञ्चान समेत नहुने गरी दर्ता नै खारेजीमा परिसकेको कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ।

त्यसैगरी समग्रमा पान नम्बर (आइ ट्याक्स) लिने व्यापारिक फर्म, उद्योग र व्यवसायतर्फ पनि ६०६ वटा संस्था हाललाई बन्द भएका र १ हजार ७४० वटा संस्थाको पनि दर्ता नै खारेज भइसकेको कार्यालयका प्रमुख कोइरालाले जानकारी दिनुभयो।

एक हजार २ सय ३१ अन्तःशुल्क तर्फ सक्रिय संस्थाहरू रहेको पर्सामा २ वटा हाल बन्द छन् भने ८६ वटा खारेजीमा परिसकेको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्