म जनताको नोकर हुँ



 

प्रकाशचन्द्र दवाडी
प्रदेश सांसद, गण्डकी प्रदेश

गोरखामा तीनवटा निर्वाचन क्षेत्रलाई खुम्च्याएर दुईवटा बनाइयो। यसरी निर्वाचन क्षेत्रलाई मिलाउँदा साविका ३ नं. निर्वाचन क्षेत्रमा रहेका आधा २ नं. मा र आधाजति १ नं. मा मिसाइयो। साविकको २ नं. क्षेत्रका दुई गाउँपालिका र ३ क्षेत्रको एक गाउँपालिका मिलेर गोरखा क्षेत्र नं २ मा दुई प्रदेश निर्वाच क्षेत्र बने। त्यसमा प्रदेश क्षेत्र नं. २ ‘ख’ बाट निर्वाचन जित्नुभएको प्रकाशचन्द्र दवाडी नेपालीको कांग्रेस पार्टीको हुनुहुन्छ। विकासप्रेमी तथा समाजसेवीका रूपमा आफ्नो परिचय स्थापित गर्नुभएका दवाडीसँग राजनीतिक, समाजिक तथा विकास निर्माणका बारेमा नेपाल समाचारपत्रका लागि यदुप्रसाद भट्टले गरेको कुराकानीको सारसंक्षेप ः

तपाईं प्रदेश सांसद भएपछिको पहिलो अनुभव कस्तो रह्यो ?

मैले जे सोचेर संसद्भित्र छिरेँ, त्यो अलि फरक पाइयो। फरक कुराहरू र जनतालाई दिने बोलेको कुरा व्यवहारमा आएको मैले पाइनँ। पहिलो बहुमत नेताले राजनीतिलाई पेसा बनाएको कुरा पाएँ। राजनीतिलाई पेसा बनायो भने जनताले दुःख पाउँछन्। विकासका काम पछि पर्छन्। दोस्रोे निर्माण व्यवसायी नेताहरूको जत्था छ जसले विकास निर्माणका काममा बाधा पारेको छ। मैले एउटै निर्माण व्यवसायीले ११ वटा ठेक्का हातमा लिएको काम गरेको पाएको छु। पहिलो ठेक्काको काम चाहिँ शरू भएको छ। तर निर्माणले गति लिन सकेको छैन। तेस्रो प्रत्येक ठाउँमा भ्रष्टाचारको गतिविधि भएका छन्। कताबाट पैसा आउँछ अनि कति कमिसन खान पाइन्छ भन्ने प्रवत्ति बढेको छ। जनतामुखी कार्यक्रम आउँदैनन्, नेता तथा कार्यकर्तामुखी कार्यक्रम आएकाले समस्या भएको छ। जनतालाई जे काम चाहिएको छ, त्यो काम नेता तथा कार्यकर्तामुखी भएपछि पुग्ने कुरै भएन।

प्रदेश सभामा कुनै त्यस्तो तीतो अनुभव छ कि तपाईंसँग ?

मैले जायज कुरो बोल्न नपाउने तीतो अनुभव गरेको छु। जे छ यथार्थ बोल्यो त्यसको कार्यान्वयन नहुने समस्या भोगेको छु। आफ्नो पार्टीले जितेको ठाउँमा मात्र विकासका कार्यक्रम दिने विपक्षी पार्टीले जितेको स्थानमा विकासका काम नगर्ने परिपाटीले मलाई पीडा बोध गराएको छ। यहाँ त विकासमा राजनीति भइरहेको छ। जो भए पनि जसले जिते पनि पहिलो योजना कुन हुने र कसरी धेरै जनताले फाइदा पाउँछन् भन्ने कुरामा ध्यान दिनुपर्छ। धेरै जनतालाई फाइदा हुने काम पहिलो प्राथमिकता परोस् भन्ने मेरो चाहना हो।

प्रदेशमा तपाईंको दल विशेषबाट कत्तिको साथ सहयोग पाउनुभएको छ ?

हामी गण्डकी प्रदेशमा प्रतिपक्षी सांसद १५ जना छौं। हामीबीच आपसी सरसल्लाह छलफल हुन्छ। केही कुरो तलमाथि हुन सक्ला। नत्र सल्लाहबमोजिम नै हुन्छ। हामी एक छौं हाम्रो निर्णय सदर हुनुपर्छ भन्ने हाम्रो मान्यता हो। आ–आफ्नो क्षेत्रमा बढी बजेट परोस् भन्ने चाहनाचाहिँ हुन्छ। निर्वाचनताका जनताका माझ बोलेका कुरा पूरा गर्ने चाहना सबैमा हुन्छ। जस्तो गण्डकी प्रदेशको नामकरण सम्बन्धमा हाम्रो पहल सकारात्मक नै भयो। राजनीतिलाई पेसा बनाउने काम कांग्रेसले गरेको छैन। होला दुई चार जनाले त्यसो गरेका होलान्। जनताको भलोभन्दा विकल्प अरु कुरा गर्दैनौं भनेर हामी गण्डकी प्रदेशका माननीयहरू एकजुट भएर लागेका छौं।

आफ्नो क्षेत्रमा प्रदेश बजेट कति पार्नुभयो ?

आफ्नो क्षेत्रमा बजेट मैले पारेको होइन, मेरो आवाज हो। मैले आवाज उठाएँ, त्यो आवाजलाई सरकारले मान्यो वा देख्यो या त बाध्यता भएर दियो। मेरो यो कर्तव्य हो मेरो आवाजअनुसार काम भएको छ। दुई चार ठाउँमा राम्रो बजेट परेको छ। केही ठाउँमा राजनीतिकरूपमा लागेर दलगत आग्रह पूर्वाग्रहका कारण योजना झिकिएका पनि छन्। जस्तै पहिलो ऐतिहासिक मार्गका सवालमा यो कांग्रेसको बाटो हो भन्ने गरियो। सुलीकोटको रातोमाटे–ग्याजी–खारचोक भञ्ज्याङको बाटो विवादित बन्यो। जनता एक ठाउँमा त्यहाँका गाउँपालिकाका निर्वाचित पदाधिकारी अर्को ठाउँमा भए। यो विवादित पनि बन्यो। आखिर जनताको जित भयो, राजनीतिको हार भयो। जनताले कसलाई भोट दिए कहाँ भोट दिए भन्ने कुरा विकास निर्माणका सवालमा जोडिनुहुन्न भन्ने मेरो मान्यता हो। यस विषयमा विवाद भए पनि मेरोे आवाज जनताको आवाजले काम ग¥यो। यो आवाजलाई मर्न दिनुहुन्न भन्ने मेरो मान्यता हो। यो बाटोलाई खारचोक भञ्ज्याङ जोड्नुपर्ने अझै पूरा भएको छैन। यो विषयमा मलाई ज्यादै नै पीडा भएको थियो। त्यहीका निर्वाचित साथीहरूले यहाँ चाहिँ पैसा राख्यो भने हाम्रो राजनीति सकिन्छ भनेर मन्त्रालसम्म गएर बजेट झिकिएको छ। दोस्रो बारपाकको दुम्सिका हुँदै धनशिरा जोड्ने बाटो वैकल्पिक मार्गको पनि पैसा झिकियो। यो वर्षामा बारपाक पुग्ने वैकल्पिक मार्ग थियो। तेस्रो पालुङटारबाट चेपे हुँदै दूधपोखरी पुग्ने मार्ग हो। यो लमजुङ र गोरखा दुवै वारिपारि हुँदै दूधपोखरी पु¥याउने योजना थियो। यसमा चाहिँ थोरै बजेट हालिएको छ। चौथो चाहिँ जौबारी–चनौटे–कालीमाटी–फिनाम हुँदै भच्चेक जाने बाटोमा ठेक्का लागेको छ। बजेट तलै सकिन्छ। माथि पुग्दै पुग्दैन।

तपार्इंको पार्टीमा धनी भनी चिनिनुहुन्छ नि ? के कति समाजसेवा गर्नुभयो ?

पहिलो कुरा म गरिबको छोरा, गरिब नै हो। अहिले मलाई खानलाई पुगेकै छ, अरूसँग हात थाप्न परेको छैन। यसैमा सन्तुष्ट छु। दोस्रो म नेताभन्दा पनि सामाजिक मान्छे भनेर चिनिन चाहन्छु। कसैले पार्टीमा धनी भन्दैमा धनी हुने र गरिब भन्दैमा गरिब हुने होइन। साँच्चै म धनको होइन मनको धनी बन्न चाहन्छु। म गाउँमा गोरु जोतेको, भारी बोकेको पीडा मेटाउन जापानबाट फर्केको हुँ, पैसाकै लागि त मैले जापानमा कमाएकै थिएँ नि। किन राजनीति गर्नुप¥यो। तर मैले निर्वाचन अघि पनि विभिन्न ठाउँमा सहयोग गर्दै आएको थिएँ। अहिले पनि गरेकै छु। कुनै दलविशेष मात्र नभएर समाजसेवा मेरो पहिलो प्राथमिकता र कर्तव्य दुवै हो। जुन अहिले पनि निरन्तर चलिरहेको छ। १० वर्ष पहिलेदेखि नै मैले विद्यालय भवन बनाएको थिएँ। जबसम्म नेपालबाट बाहिर जाँदा पासपोर्ट मेसिनबाट हेर्ने व्यवस्था हट्दैन त्यति बेलासम्म नेपाल धनी भयो भन्न सकिन्न।

तपाईंले सांसद भएबापतको पाउने पारिश्रमिक जनताको सेवामा खर्च गर्ने घोषणा गर्नुभएको थियो, कहाँ पुग्यो अहिले यो कुरा ?
मैले मेरो सांसद भएबापतको पैसा हरेक वर्षको मैले शपथ लिएको दिन या भोलिपल्ट बैंकको स्टेटमेन्ट नै ल्याएर सार्वजनिक गर्ने गरेको छु। जुन पैसा मैले जनताको सेवामा नै लगाएको छु। यसमा एक पैसा पनि तलमाथि गरेको छैन। गत साल बरु मेरै घरायसी आयआर्जनबाट कमाएको पाँच÷सात लाख रुपियाँ बढी गएको रहेछ। पत्रकार सम्मेलनमार्फत् बैंक स्टेटमेन्ट निकालेर सार्वजनिक गर्ने पहिलो व्यक्ति मै हुँ। अहिलेसम्म कसैले पनि यस्तो काम गरेको मैले देखेको पाएको छैन्। यो प्रक्रिया निरन्तर चलिरहन्छ र चलिरहेको छ।

विशेष गरी कुन क्षेत्रमा सहयोग गरिहरनुभएकोे छ ?
गाउँमा रहेका आमा समूह, युवा क्लब, सामुदायिक भवन, सिँचाइका लागि सानो कुलो, खानेपानीको पाइप, आर्थिक अभावका कारण विद्यालय जान नसकेका विद्यार्थीलाई कापीकलम खरिद, दश बीस मिटर डोजर लगाएर सडक खुलाउने, उपचार गर्न नसकेकाहरूलाई उपचारको व्यवस्था मिलाउने नै मेरा सहयोगको क्षेत्रचित्र पर्दछ। व्यक्तिभन्दा पनि समुदायलाई फाइदा पुग्ने काममा बढी हात फेलाएको छु। मैले सुरूआत गर्ने काम मात्र गरेको हुँ अन्यथा अरू केही होइन।

गण्डकी प्रदेश सरकारले उपप्रमुखलाई पनि गाडी दिने घोषणा गरेको छ, यस विषयमा तपाईंको धारणा के होला ?
यस विषयमा हामी दिनुपर्छ भनेर पनि लागेनौं र दिन हुन्न भनेर पनि लागेनौं। दुर्गमका पालिका प्रमुखलाई भएको गाडी सुविधा उपप्रमुखलाई पनि हुनु चाहिँ राम्रो पक्ष हो। दुर्गममा गाडी सुविधा अनिवार्य छ। तर मैले कता कता प्रदेशका माननीयलाई पनि गाडी दिने भन्ने कुरा सुनेको छु यसमा चाहिँ म पूरै विपक्षमा छु।

अन्त्यमा यहाँको भन्नु केही छ कि ?
हामी जनताको कामदार हो, सेवक हो, नोकर हो, अझ म त नोकर नै हो भन्न रुचाउँछु। जनताभन्दा ठूलो अरू कोही हुन सक्दैन। वैशाखको अन्तिम वा जेठको १५ भन्दा पछि गण्डकी प्रदेशमा बजेट खर्च गर्न दिनुहुँदैन भन्ने मेरो मान्यता छ। पहाडी भूभागमा वर्षायाममा बजेट खर्च गर्दा गुणस्तरीय काम हुन सक्दैन। सदुपयोगभन्दा दुरुपयोग बढी हुन्छ। निर्माण व्यवसायीलाई पनि बढी संरक्षण दिनुहुँदैन। अझ राजनीतिक संरक्षण त दिनै हुँदेन भन्ने मेरो मान्यता छ।

प्रतिक्रिया दिनुहोस्