म कहिल्यै बूढो हुन्न



राजाराम पौडेल

तस्वीर : रंगराज आचार्य

हास्य अभिनेता राजाराम पौडेल भन्नासाथै लामो परिचय दिइरहनै पर्दैन। उनलाई सम्झिने बित्तिकै, देख्ने बित्तिकै हर कोही ओठ अनायसै हास्न थाल्छन्। प्रहसन, सिरियल वा फिल्म जेसुकै होस्, उनी अगाडि आउनासाथै दर्शक आफसेआप हास्न थाल्छन्, रमाउन थाल्छन्। यो नै उनको हास्य अभिनय क्षमताको नमुना हो। न अनुहार बिगार्छन्, न रूप फेर्छन्। र पनि दर्शक उनको अभिनय देखेर खित्का छोडेर हास्न थाल्छन्। यो उनको स्वाभाविक अभिनयको कमाल हो।
एउटा प्रहसन प्रस्तुतिका क्रममा उद्घोषण गर्दै जाँदा ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई मह जोडी भनेर सम्बोधन गर्दै जोडी जुराइदिएका राजाराम झन्डै ४ दशक लामो अभिनय यात्रा क्रममा दर्जनौं प्रहसन, सिरियल र फिल्ममार्फत दर्शकको मन जित्दै आए पनि सुनौलो भविष्यको खोजीमा अमेरिकातिर लागे। निरास भएर स्वदेश फर्की फेरि कलायात्रालाई नै निरन्तरता दिए। कार्यकारी निर्माता रहेर सय कडा दश नामक फिल्म निर्माण पनि गरे। उनै हास्य अभिनेता पौडलसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ:

-रश्मी थापा

हजोआज के गर्दै हुनुहुन्छ ?

करिब २ महिना जति केही पनि गरिनँ, अबचाहिँ व्यस्त हुँदै छु। शिवहरि पौडेलको निर्देशनमा बन्ने फिल्म लक्का जवान, धुर्मुस–सुन्तलीको सेन्टी भाइरसलगायत ३/४ वटा फिल्ममा अभिनय गर्ने तयारीमा जुटेको छु।

झन्डै दशक लामो कलायात्रालाई कसरी सम्झिनुहुन्छ ?

हो मैले अभिनय गर्न थालेको झन्डै चार दशक हुल लाग्यो। २०३९ सालमा फिल्म वासुदेवमा सानो भूमिका गरेर क्यामेरा फेस गरेको थिएँ। उक्त फिल्म २०४२ मा प्रदर्शनमा आयो। त्यो बेलादेखि लगातार टेलिफिल्म, फिल्म प्रहसनहरूमा काम गरिरहेको छु। वासुदेवभन्दा अघि विभिन्न स्टेजमा कार्यक्रम गरिन्थ्यो। सानो छँदा गीत गाउने, नाच्थे गर्थें। टोलका ठूला दाइहरू यो राजारामले रमाइलो गर्छ भनेर पिकनिकमा मलाई बोलाई–बोलाई लानुहुन्थ्यो। ९ वर्षको उमेरमा नै रेडियो नेपालमा गएर नाटक खेलेको थिएँ। यस क्रममा मैले कलाको छुट्टै हाँगा समाएछु। अहिले कमेडी र क्यारेक्टर रोल गरिरहेको छु। कमेडी र क्यारेक्टर आर्टिस्टको काम जुन कहिल्यै बूढो हुँदैन र मरुञ्जेल पनि काम पाइरहेको हुन्छ। यो हिसाबले म पनि कहिल्यै बूढो हुन्न। यस हिसाबले यो क्षेत्रमा लागेर खुसी छु।

प्रहसन, सिरियल र फिल्म केमा काम गर्दा सन्तुष्टि महसुस हुन्छ ?

नढाँटी भन्नुपर्दा स्टेजमा काम गरेको जस्तो जीवन्त अरू केहीमा पनि लाग्दैन। स्टेजमा कलाकारले राम्रो गरे राम्रो, नराम्रो गरे नराम्रो भन्ने दर्शकको फिडब्याक तुरुन्तै पाइन्छ। लाइभ हुने भएकाले तुरुन्तै ताली र गाली खाइन्छ। स्टेजमा काम गर्दा ३÷४ पेज डाइलग कण्ठ पारेर पानी बनाउनुपथ्र्यो। त्यसमा मजा पनि बेग्लै हुन्थ्यो। तर, फिल्म र सिरियल भनेको क्यामेराको ट्रिक हो। यसमा सुटिङको केही समयअघि आफ्नो भागको डाइलग हेर्ने र क्यामेराको अगाडि बोल्ने हो। यदि मिलेन भने रिटेक लिने हो। दर्शकको फिडब्याक पनि तुरुन्तै आउँदैन। यस कारण मलाई त स्टेजमा नै काम गर्दा आनन्द महसुस हुन्छ।

 

आर्थिक हिसाबले चाहिँ यी तीनमध्ये कुनचाहिँ फलदायी छ ?

हिजोआज स्टेज कार्यक्रम त विस्थापित नै जस्तो भइसक्यो। पहिले–पहिले प्रज्ञा भवनमा गाईजात्रे कार्यक्रम हुन्थ्यो। त्यसमा काम गरिन्थ्यो। तर, त्यो पनि पोहोरदेखि हुनै छोड्यो। हुन त यसपालि पनि गाईजात्रा कतै–कतै महोत्सव भइरहेको छ भन्ने कुरा फेसबुकमार्फत थाहा पाएँ। तर, मलाईचाहिँ कसैबाट खबर आएन। यदि आएको भए पनि फिल्मको काममा व्यस्त हुनुपर्ने भएकाले भ्याउँदैनथें। हिजोआज टेलिफिल्म पनि त्यति खेलेको छैन। यस कारण अहिलेका लागि फिल्म नै फलदायी छ।

फिल्मका कलाकारको त हिजोआज निकै भाउ सुनिन्छ। तपाईंको कस्तो छ ?

मैले पनि सुनिरहेको हुन्छु हिरोहिरोइनले २०/३० लाख लियो भनेर। तर, खै उनीहरूको भाउ समाचारमा बढेको हो कि या साँच्चिकै बढेको हो मलाई थाहा छैन। किनभने म कलाकारलाई पनि सोद्धिनँ, प्रोड्युसरलाई पनि सोद्धिनँ। आफ्नो हकमा भने कामको उचित पारिश्रमिक माग्छु प्रोड्युसरसँग। कुरा मिल्यो भने काम गर्छु, नमिले गर्दिनँ। तर, प्रोड्युसर नै डराउने गरेर माग्दिनँ। त्यसरी मागेर एउटा फिल्ममा काम गर्यो, अनि २÷३ वर्ष यत्तिकै बस्ने गरी काम गर्न मलाई मन लाग्दैन। किनभने म यो क्षेत्रमा लामो समयदेखि छु र अझै लामो यात्रा गर्र्नुछ। मैले जुन हाँगो समातें, त्यसले मलाई अहिलेसम्म डोहोर्याइरहको छ। म पनि हिरो हुन आएको भए उहिले नै थन्की सक्थें होला। तर, मेरो कलाकारिताको आयु म नमरुञ्जेल छ। हिरोहिरोइनको आयु भनेको २÷४ वर्षसम्मको हो। त्यसपछि हिरो या हिरोइन बन्छु भनेर पाइँदैन। कलाकारितामा टिक्नु छ भने हिरोहिरोइन बन्ने पालो सकिएपछि अरू रोल पनि गर्छु भनेर आउनुपर्छ।

सिरियलमा जम्दाजम्दै बीचमा अमेरिका जानुभयो। किन ?

हो सिरियलमा जमिरहेको थिएँ। दिनमा ३/४ वटा सिरियलमा काम गर्थें र निकै व्यस्त पनि थिएँ। तर, एउटा सिरियलमा काम गर्दा जम्मा ४÷५ हजार दिन्थे। बढी दिए भने ७/८ हजार दिन्थे। त्यति आम्दानीले गाह्रो हुन्थ्यो। पछि २ जना बच्चा पनि भए। उनीहरूको स्कुल फि पनि तिर्नुपर्यो त्यसका लागि मलाई निकै गाह्रो भयो। अभिभावक भएपछि सन्तानलाई उचित शिक्षादीक्षा दिनुपर्छ। आफ्नो यही कर्तव्य पूरा गरौं भन्ने सोचले म अमेरिका गएको हुँ। मेरो काकाको छोरो उतै थिए र नाशामा काम गर्थें। बच्चाहरूलाई उतै लगेर छोडिदिन्छु र एक÷डेढ वर्षपछि फर्किन्छु भन्ने हिसाबले गएको थिएँ। अर्को कुरा यहाँ दिनदिनै जस्तो बन्द–हड्ताल हुने भएकाले नेपालमा भविष्य देखिन र उता ७ वर्ष बसेर नेपाल फर्कें।

अमेरिका बसाइलाई कसरी सम्झिनुहुन्छ ?

सबैको सपनाको मुलुक अमेरिकाको जीवनलाई मैले त्यहाँ पुगेपछि भित्रबाट बुझें। बाहिरबाट हेर्दा त्यहाँको जीवन जति झिलीमिली देखिन्छ, त्यति नै शहरभित्रको कोठाको जीवनलाई त्यो झिलीमिलीले काम दिँदैन। त्यहाँ मान्छेले मान्छेलाई होइन, उसको कामलाई माया गरिछ। कामको सम्मान गरिन्छ। त्यहाँ काम ठूलो सानो भन्ने नै हुँदैन। अमेरिकामै जन्मेका मानिसले मागिरहेको पनि देखेको छु। तर, माग्ने तरिका भने बेग्लै। कसैले बियर खान माग्थे, कसैले गिटार बजाएर माग्थे। जे भए पनि त्यहाँको लाइफस्टाइल हामीले सोचेर जाने भन्दा बेग्लै छ। त्यहाँ जाने बित्तिकै पैसा आउँदैन। हार्डवर्क गरेपछि मात्र बल्ल पैसा कमाइन्छ। अमेरिका जान चाहने सबैले यी कुरा बुझेर मेन्टल्ली प्रिपियर भएर जान जरुरी छ।

ग्रिनकार्ड पाएको भए नेपाल फर्कनुहुन्थ्यो ?

म आफ्नो लागि भन्दा पनि बच्चाको भविष्यका लागि अमेरिका गएको थिएँ। जाने बेलामा नै डेढ वर्षमा फर्किन्छु भनेर गएको थिएँ। तर, अलि बढी बसें। अमेरिकाको मोह थिएन, त्यसैले फर्कें। त्योभन्दा अघि पनि तीनपटक गइसकेको थिएँ। अमेरिकाबाहेक पनि जापान, कोरियालगायत धेरै देश घुमेको छु, तर कुनै पनि देशमा बसौं जस्तो लागेन। अमेरिामा ग्रिनकार्ड पाएको भए पनि आफ्नै देश फर्किन्थें।

केही समयअगाडि कार्यकारी निर्माताका रूपमा सय कडा दश फिल्म निर्माण गर्नुभयो। फिल्म निर्माण कत्तिको गाह्रो विषय रहेछ ?

त्यसमा मैले अलि–अलि मात्र पैसा लगानी गरें। कहाँ कति खर्च भयो भन्ने हिसाबमा ध्यान दिइनँ। हाम्रो रामशरण पाठकजी पैसा र कामको मामलामा निकै विश्वासिलो हुनुहुन्छ। त्यसैले मैले हेर्नुपर्ने आवश्यक पनि ठानिनँ। फिल्मको कथा मन पर्यो भनेपछि उहाँले लगानी गरौं न त भन्नुभयो र केही पैसा लगानी गरेको हुँ। तर, फाइदा भने भएन। म त्यसमा कलाकारका रूपमा मात्र जोडिएँ, त्यस कारण मलाई यसबारे अनुभव पनि भएन।

यत्रो वर्ष कलाकारितामा लागेर पनि अझैसम्म स्कुटर चढ्छु। फिल्ममा लगानी गर्नका लागि पर्याप्त पैसा पनि छैन। त्यसैले पनि पूरै पैसा हालेर त फिल्म निर्माण गर्दिनँ। फिल्म निर्देशन गर्न एउटा फिल्मका लागि डेढ÷दुई वर्ष समय दिनुपर्छ। त्यो समयसम्म त म १२/१५ वटा फिल्म नै खेल्छु नि।

अब फेरि फिल्म निर्माण गर्नुहुन्छ कि हुन्न ?

फिल्म निर्माण गर्ने सोच छैन। म एउटा साधारण कलाकार हुँ। यत्रो वर्ष कलाकारितामा लागेर पनि अझैसम्म स्कुटर चढ्छु। फिल्ममा लगानी गर्नका लागि पर्याप्त पैसा पनि छैन। त्यसैले पनि पूरै पैसा हालेर त फिल्म निर्माण गर्दिनँ, तर अहिले लक्का जवान र योभन्दा अघिको दाल भात तरकारीमा पनि कार्यकारी निर्माताका रूपमा नाम थियो। यसमा चाहिँ नाफाको एक पर्सेन्ट पाइने रहेछ। नत्र पैसा हालेर निर्माता बन्ने सोच छैन। कलाकारिता छोड्न नसकेर मात्र काम गरिरहेको हो।

अब निर्देशनबारे पनि सोच्नुभएको छ कि ?

छैन। गरौं न त भनेर गर्ने हो भने मेरो झन्डै चार दशक बढीको अनुभव छ, सक्छु पनि। तर, फिल्म निर्देशन गर्नका लागि त्यति अनुभवले पुग्दैन। एउटा फिल्मका लागि डेढ÷दुई वर्ष समय दिनुपर्छ। कथा पटकथा, कलाकार, गीत–संगीत, फाइट, पोस्ट प्रोडक्सन गरेर धेरै नै समय दिनुपर्छ। त्यहीअनुसारको खट्नुपर्छ। त्यो समयसम्म त म १२/१५ वटा फिल्म नै खेल्छु नि। यस्तोमा एउटा विधाबाट अर्को विधामा उफ्रेर नगएकै राम्रो।

हिजोआज हास्य फिल्मको बाढी नै आएको छ। किन होला ?

सबै कुरा समयम हो। कुनै बेला लभस्टोरी फिल्म चल्थ्यो, कुनै बेला एक्सन र धार्मिक फिल्म मात्र चल्थ्यो तर अहिले त्यस्तो फिल्म नै बन्दैन। अहिले हास्य फिल्मले सफलता पाइरहेको छ। यो नेपालमा मात्र नभई विश्वभर नै भइरहेको छ। अहिले दर्शक पैसा तिरेर हलभित्र गएपछि हास्न र इन्जोए गर्न खोज्छन्। यस कारण पनि यस्ता फिल्मले सफलता पाइरहेका छन्।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

अहिले देशमा धेरै आपराधिक गतिविधि बढिरहेको छ। हामी बेग्लै विधामा छौं। तर पनि देशको यस्तो अवस्था देख्दा चित्त दुख्छ। अहिले हत्या हिंसा भनेको निकै सस्तो भयो। दिनदिनै यस्ता समाचारले स्तब्ध हुन्छु। यस्ता क्रियलाप देशका लागि घातक भइरहेको छ। यसलाई सरकारी निकायले नियन्त्रण गर्ने हो कि २०४६ सालमा जस्तो टोल–टोलबाट मानिस उठेर रातभर आ–आफ्नो टोलको रक्षा गर्नुपर्ने हो? यो कुरामा सबै जना बेलैमा सचेत हुन जरुरी छ भन्न चाहन्छु।

 

 

प्रतिक्रिया दिनुहोस्