अभिनयको उचाइमा चिनो गाड्ने भद्र सुभद्रा



विदुर गिरी, काठमाडौं । थुप्रै विधाको अभिनय गरिसके पनि चिनो नामक फिल्मबाट चिनिएकी अभिनेत्री सुभद्रा अधिकारी अब हामीबीच रहनुभएन। लामो समयदेखि दम तथा निमोनियाबाट पीडित भई हिँडडुल गर्न असहज महसुस गर्दै आएकी अभिनेत्री अधिकारीले शनिबार बिहान ८ बजे डल्लुस्थित आफ्नै निवासमा ७२ वर्षको उमेरमा संसार छोड्नुभयो।

‘केही दिनअघि मात्र टिचिङ हस्पिटलमा उपचार गरेर घर फर्किनुभएको थियो। परिवारका अन्य सदस्य मनकामना जानुभएको थियो। घरमा म मात्र थिएँ।’ –अभिनेत्री अधिकारीका पुत्र सुमनले नेपाल समाचारपत्रसँंग भन्नुभयो। सुभद्राका एक छोरा र एक छोरी हुनुहुन्छ।

बाल्यकालमै नेवारी नाटक कचि मचाबाट अभिनय यात्रा शुरू गरेकी सुभद्राले मुनामदन, नालापानी, बुहार्तन, पलाँसको फूललगायत दर्जनौं नाटक तथा टेलिफिल्ममा अभिनय गर्नुभएको छ। मनको बाँधबाट फिल्म क्षेत्रमा प्रवेश गरेकी उहाँ फिल्म कन्यादानको छुच्ची सासूको भूमिकाका लागि चर्चित हुनुहुन्थ्यो।

जीवनरेखा, बदलिँदो आकाश, वासुदेव, पिरती, मायाप्रीति, भाउजू, मंगलसूत्र, बेहुली, वसन्ती, कर्जा, सौभाग्य, मुनामदन, चोर–सिपाही, स्वर्ग, कन्यादान, काठमाण्डु, बाटोमुनिको फूल, दशगजालगायत करिब सय फिल्मका विभिन्न भूमिकामा अभिनय गरेर दर्शकको मन जित्दै आएकी सुभद्राको विशेष पहिचान अभिनेता सुनिल थापालाई राते काइँलाका रूपमा चिनाउने फिल्म चिनोमा ‘लेडी हिरो’को भूमिकाबाट बन्यो।

चिनोका निर्देशक तुलसी घिमिरेले सुभद्राको भूमिकामा भारतीय नायिका माला सिन्हालाई खेलाउने सोच बनाउनुभएको थियो। मालाले समय दिन नसक्ने भएपछि घिमिरेले सुभद्रालाई छान्नुभएको हो।

काठमाडौंको असनमा २००४ साल भदौ २० गते आमा नुरादेवी र बुबा बलरामको परिवारमा एक्ली छोरीका रूपमा जन्मिएकी सुभद्राले पारिवारिक वातावरणमा नै आफ्नो प्रतिभा उजागर गर्नुभयो।

छोरीचेलीलाई घरबाहिरी काममा नलगाउने त्यस बेलाको समाजलाई चुनौती दिँदै ५ वर्षको उमेरदेखि नै नृत्यविधा अँगाली अघि बढ्नुभयो। कुशल नृत्यांगना सुभद्राले पिताको निधनपछि इन्द्रचोकमा रहेको मावलीघरमा बसेर आप्mनो कलायात्रालाई निरन्तरता दिनुभयो।

गायिका तारादेवीको संगतले रेडियो नेपालमा गएर गीतसमेत गाएकी सुभद्राले महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदनमा मदनकी दिदी बनेर सर्वाधिक लामो समय ६–७ महिनासम्म अभिनय गर्नुभयो। २०६६ सालमा अभिनेता पति कृष्णप्रसाद अधिकारीलाई गुमाएपछि शोकसन्तप्त सुभद्राले ६ दशक लामो फिल्मी यात्रामा कहिल्यै हार्नुभएन।

तर, यस क्षेत्रमा लागेर सम्मान पाउन नसकेको अनुभूति सुनाउने उहाँमा केही अघिमात्र चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट ३ लाख ५१ हजार १ सय ११ रुपियाँसहित चलचित्र दीर्घ साधना सम्मान पाएपछि प्रसन्नता छाएको थियो।

‘मनको बाँध’ बाट सुरु भएको भद्र सुभद्राको फिल्मी यात्राले तीव्र गति पाइरह्यो। उहाँको गति रोक्न केबल यमराज नै आउनुप¥यो।

प्रतिक्रिया दिनुहोस्