महाकाली करिडोरको १२५ किलोमिटर ट्रयाक खुल्यो



किरन धामी, दार्चुला ।
आर्थिक वर्ष २०७५/०७६ मा महाकाली करीडोर अन्तरगत २५ किलोमिटर नयाँ ट्रयाक खोल्ने कार्य सम्पन्न भएको महाकाली करीडोर दार्चुला तिंकर सडक योजनाले जनाएको छ । जस अन्तरगत दार्चुलाको धनथला सर्मोली खडक खण्डमा ५ किलोमिटर र उकु, अम्तोला सडक खण्डमा ३ किलोमिटर गरि कुल ८ किलोमिटर सडक खण्डमा नयाँ ट्रयाक खोलिएको छ । यस्तै करीडोर अन्तरगतको डडेल्धुराको सादनी देखी कराली गाँउ सम्मको ५ किलोमिटर तथा बैतडीको बाराकोट बठ्ठा खण्डमा ४ किलोमिटर, गाजरी कडाडी खोला सडक खण्ड ४ र सिल्लेक कसाडी खोला सडक खण्डमा ४ किलोमिटर गरी १२ किलोमिटर नयाँ ट्रयाक खोलीएको योजना प्रमुख अच्युत विलास पन्तले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमै ३८ किलोमिटर सडकखण्ड चौडा गर्ने कार्य सम्पन्न भएको मा २७ किलोमिटर दार्चुलामा मात्रै सडक चौडा गरिएको उहाले बताउनु भयो । सडको ब्याक कटिङ्ग अर्थात चौडा गरिएको वेत उकु सडक खण्डमा ६ किलोमिटर, राताकाठा क्षेत्रमा १ किलोमिटर र पिपलचौरी तुसरपानी सडक खण्डमा २० किलोमिटर चौडा गरिएको प्रमुख पन्तको भनाई छ । महाकाली करीडोरको हाल सम्म ट्रयाक खुलेको १२५ किलोमिटर मध्ये डडेल्धुरमा ११ किलोमिटर, बैतडीमा ५२ र दार्चुलामा ६२ किलोमिटर रहेको उहाले बताउनुभयो । महाकाली करीडोरको लम्बाई कञ्चनपुरको ब्रम्हदेव देखी दार्चुलाको तिंकर सम्मको कुल ४२५ किलोमिटर रहेको छ । जस मध्ये सबै भन्दा बढी अर्थात २१२ किलोमिटर सडक खण्ड दार्चुलामा पर्दछ भने १४४ किलोमिटर बैतडीमा ५८ किलोमिटर डडेल्धुरा र ११ किलोमिटर कञ्चनपुरमा पर्दछ ।

करीडोरको हाल सम्म ठेक्का व्यवस्थापन भएको कुल १५१ किलोमिटर मध्ये धनथला धरमघर ७ किलोमिटर, ढक्या अम्तोला १० किलोमिटर, धाप खलंगा ७ किलोमिटर, खलंगा घाटी बगर ६८ किलोमिटर गरि ९२ किलोमिटर सडक दार्चुलामा रहेको योजना प्रमुख पन्तले बताउनुभयो । यस्तै नयाँ ठेक्का लगाउन बाकी रहेको २७४ किलोमिटर सडक खण्ड मध्ये घाटीबगर तिंकर ६६ किलोमिटर, धरमघर अम्तोला ३९ किलोमिटर वेत खलंगा १२ किलोमिटर र वेत जोलजिवी ३ किलोमिटर गरि १२० किलोमिटर सडक खण्ड दार्चुलामा मात्रै नया ठेक्का लगाउन बाकी रहेको उहको भनाई छ ।

बैतडीको रुपाल बठ्ठा ८९ किलोमिटर, सिल्लेक सल्सेना १३ किलोमिटर गरी बैतडीमा १०२ किलोमिटर, डडेल्धुराको सादनी त्रिसुलीधार ९ किलोमिटर, र सिमल्टा सुरनयाँ ३२ किलोमिटर गरि कुल ४१ किलोमिटर खण्डमा नयाँ ठेक्का लगाउन बाकी रहेको छ, भने कञ्चनपुरको ब्रह्मदेव त्रिशुलीधार खण्डमा मात्रै ११ किलोमिटरमा नयाँ ठेक्का लगाउन बाकी रहेको उहाले जानकारी दिनुभयो । योजनाको हाल सम्म १ अर्ब ३३ करोड रुपैया खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस्