भक्तपुरमा यसरी मनाइयो गाईजात्रा (फोटोफिचर)



पुष्कर बुढाथोकी, भक्तपुर । भाद्रकृष्ण प्रतिपदादेखि अष्टमीसम्म सात दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ विभिन्न कार्यक्रमसहित मनाईदै छ । भक्तपुर तलेजुस्थानबाट भक्तपुरका नगरवासीले बिहान कुखुरा नबास्दै तलेजुको ताहामचा बनाई देश परिक्रमा गराएपछि सातदिनसम्म मनाईने यसवर्षको गाईजात्रा पर्व सुरु भएको हो । दिवङ्गत आफन्तहरूको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक बर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म गाईजात्रा मनाईन्छ । बिहानदेखि जिउँदो गाई, कुमारी कन्या तथा माटोको गाई निर्माण गरी टोलटोल घुमाईन्छ ।

भक्तपुरको गाईजात्राको प्रमुख आकर्षण भनेको घिन्ताङकिसी नाच  र माक प्याख नाच भएकाले गाईजात्रा हेर्न उपत्यकालगायत विभिन्न क्षेत्रका मानिस यहाँ आउने गर्दछन् । सात दिनसम्म घिन्ताङकिसी नाच र व्यङ्ग्य प्रदर्शन गरि पर्व मनाईने परम्परा छ ।जात्रा बिहानैबाट सुरु भएपनि मध्यान्ह पछि जात्रा आकर्षक हुने टोलटोलबाट एकसाथ आकर्षक घिन्ताङकिसी नाच सहित गाईजात्रा निकाल्ने एवं बिभिन्न नाँच एवं व्यङ्य प्रर्दशन गर्ने भएकाले मध्यान्ह पछि जात्रा आकर्षक हुने गर्दछ ।

हिन्दुधर्मग्रन्थ पद्मपुराणमा उल्लेख भएअनुसार यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र मत्र्यलोक अर्थात पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतआत्माहरुले यमलोक प्रवेशपाई मुक्ति पाउने उल्लेख गरिएको संस्कृतकर्मी बताँछन् । गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ।

पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले “जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु” भनी आज्ञा दिएपछि गाईजात्रा सुरु भएको ऐतिहासिक मान्यता रहेको छ । घरघरबाट गाईजात्रा निकाले पछि पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम समेत गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो भन्ने जनविश्वास रहेको छ ।

यद्यपी भक्तपुरका संस्कृतकर्मी भने गाईजात्रा पर्व विक्रमको १४ आंै शताब्दीभन्दा अगाडि लिच्छवीकालको अन्त्यमा सुरु भएको बताउँछन् । भक्तपुरमा गाईजात्राका दिन धार्मिक परम्परा अनुसार परालबाट निर्मित भैरब र परालबाट बनेको तमाचा निकालेर नगर परिक्रमा गराई सो दिनको गाईजात्रा विसर्जन गरिने प्रचलन रहिआएको छ । गाईजात्रा हेर्न उपत्यकालगायत विभिन्न क्षेत्रका मानिस यहाँ आउने गर्दछन् ।

आजको दिन नौ जोर लुगा लगाउनुपर्ने, नौ थरी खाने कुरा खानुपर्ने र नौ पटक टोल घुम्नुपर्ने परम्परा रहिआएको छ । यसदिन पाप गरे मृत्युपश्चात पनि सोही कर्म भोग्नुपर्छ भन्ने विश्वासका आधारमा बिशेषगरी आजको दिन कसैले पापकर्म गर्न नहुने भनाई रहेको छ । आजका दिन दिवङ्गत भएका आफन्तहरूको सम्झनामा गाईजात्राका सहभागीलार्ई श्रद्धालुहरूद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा रहेको छ ।

भक्तपुरमा मनाइने गाईजात्राको प्रमुख आकर्षण घिन्ताङघिसी नाच बनेको छ । घिन्ताङघिसीको साथै माँक प्याखँ अर्थात् बाँदर नाच यहाँको अर्को विशेषता हो ।स्थानीय भन्छन्–‘परम्परादेखि नै जनैपूर्णिमाको दिन प्रर्दशन गरिने घिन्ताङ्गघिसी नाच लक्षणको नाच हो भन्ने मान्यता छ, बुढापाकाहरुले यो नाच हेर्नुपर्छ मान्यता राखेकाले पनि नाच हेर्न साँझसम्म टोलटोलमा स्थानीयबासिन्दा उभिएर बस्ने गर्छन् ।’

यो नाचका क्रममा मृतकको सुकीर्ति झल्काउने करुण रसयुक्त गीति लीला रामायणसमेत प्रदर्शन गर्ने चलन छ । गाई वा ताहामचा वनाई नगर परिक्रममा गराउनेलाई श्रद्धालुहरुले फलफूल, रोटी, चिउरा दहीका साथै अन्न र द्रव्य दान गर्ने प्रचलन रहेको बुढापाका बताउँछन् । एक वर्ष्भित्र दिवङ्गत आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना इलाकामा परिक्रमा गराइने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरि उक्त पर्व मनाईएको छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहि आएको छ । गाईजात्रा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्व हो ।

भक्तपुरमा गाईजात्राको औपचारिक शुरुवात जनैपूर्णिमाको साँझ नै गरिन्छ । गाईजात्राको पूर्व सन्ध्यामा जनैपूर्णिमाको साँझ गुठी संस्थानले सुकुलढोकास्थित नाट्येश्वरीको पूजा गरी निकालेको घिन्ताङ्घिसी नाचले नगर परिक्रमा गरेसँगै भक्तपुरमा गाईजात्रा सुरु हुन्छ । भक्तपुरको गाईजात्रालाई मुलुकका अन्य भागमा मनाउने गाईजात्राभन्दा भिन्न र मौलिक शैलीका रुपमा लिइन्छ ।

मृतात्माको प्रतीकस्वरुप नगर परिक्रमा गरिने तहामचा अर्को आकर्षण हो । तहामचा बाँसबाट बनाइन्छ । हरियो, करिब १५ फिट लामा चारवटा बाँसलाई ठाडो पारेर आयताकारमा बाँधेर त्यसलाई कपडाले बेरेर तहामचा बनाइने प्रचलन रहेको उनले जानकारी दिए । तहामचाको शिरमा गाईको चित्र, परालको सिङ राख्ने र त्यसलाई छाता ओढाइन्छ ।

तहामचालाई बाँसको नोल लगाएर मृतकका आफन्तले काँधमा बोकेर नगर परिक्रमा गराइन्छ । तहामचामा मृतकको तस्बिरसमेत राखिन्छ । त्यसले जात्रा हेर्न आएकाहरुलाई कसको तहामचा निकालेको त्यो स्पष्ट हुने गर्छ । तहामचालाई नगर परिक्रमा गराउनु पूर्व मृतकको घरको मूलढोका अगाडि पुरोहितले किरियापुत्रीद्वारा संकल्प गराई विधि बमोजिम पूजा गर्ने प्रचलन रहेको छ ।विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने जात्राको प्रचलन चलेको संस्कृतविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ ।
त्यतिबेलादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिले पनि कायमै छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइए पनि काठमाडौं उपत्यकामा यसको विशेष रौनकता हुन्छ । भाद्र कृष्णाष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा ‘रामायण’का करुण रसका गीत पनि गाउने चलन छ ।

व्वस्थाप्रति व्यङ्ग्य गरेको भन्दै विसं २०१७ पुस १ गतेको ‘शाही कू’ पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो । आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना गर्ने गरेको देखिन्छ ।

गाईजात्रा पर्व काठमाडौं उपत्यकालगायत दैलेख, सुर्खेत, बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली बजार, चरीकोट, दिक्तेल, विराटनगर, वीरगन्ज, हेटौँडा, भोजपुर, चैनपुर, इलाम, धरान र पोखरालगायत स्थानमा धुमधामका साथ मनाउने गरिन्छ । गाईजात्राका अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्