एउटै सिटामोलले ज्वरो ठीक पारेको प्रधानमन्त्री ओलीको भनाई



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू एकछिन बिरामी भएर आराम गर्दा विनाकारण हल्ला फैलिएको बताउनुभएको छ । शुक्रबार बालुवाटारमा झापाका जनप्रतिनिधि तथा पार्टी कार्यकर्ताहरुसँग भउको भेटमा ओलीले आफूलाई सामान्य ज्वरो मात्र आएको बताउनुभएको छ । प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएपछि बिहिबार बस्ने भनिएका सचिवालय बैठक स्थगित भएको थियो ।

झापाली कार्यकर्तालाई ओलीले ताजगी मुद्रामा सोध “म सिकिस्तै भएँ कि भन्ने लागेर भेट्न आउनुभएको हो कि क्या हो ” उहाँले ती कार्यकर्तालाई आफू स्वास्थ्य रहेको तर बाहिर बढी प्रचार भएको जनाउनुभएको उहाँका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले बताउनुभयो ।

झापा ५ नं निर्वाचन क्षेत्र र समग्र जिल्लाको विकास निर्माणका सम्बन्धमा चर्चा गर्न बालुवाटार पुगेका नेकपाका अगुवा कार्यकर्तासँग प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यको विषयमा चलाइएका निराधार हल्लाको प्रसङ्ग उल्लेख गर्दै भन्नुभयो, “हिजो मलाई एकछिन ९९ देखि १०० डिग्री ज्वरो आएको थियो । एउटा सिटामोल खाइदिएपछि सबै निको भयो । बाहिर म सिकिस्त भएजस्तै अफवाह फैलाइयो ।”

प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यका सम्बन्धमा सरोकार राख्ने शुभचिन्तकसँग भन्नुभयो, “गत हप्ता सिङ्गापुरमा आँखा, कान, घाँटी र बूढीऔँलादेखि कान्छीऔँलाका नङसम्म परीक्षण गरेर आएको छु । डाक्टरले सबै अङ्ग ठीक छ भनेका छन् । अब २०–२५ वर्ष केही हँुदैन भन्छन् । त्यस कारण म बिरामी होइन ।”

प्रतिक्रिया दिनुहोस्