महिला भलिबलको लक्ष्य स्वर्ण



फिरोज राजोपाध्याय, काठमाडौं ।
नेपालमै डिसेम्बरमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि नेपाली महिला भलिबल टोलीले तयारी जोडतोडका साथ गरिरहेको छ। जसमा युवा र अनुभवी गरी २५ जना खेलाडीले दशरथ रंगशालाको कभर्ड हलमा प्रशिक्षणमा लिइरहेका छन्।
हरेक साँझ करिब साढे २ घन्टा जति उनीहरूले प्रशिक्षणलाई समय दिइरहेका छन्। उनीहरूले बिहान पनि यसरी नै कडा अभ्यास गरिरहेका छन्।

प्रशिक्षक जगदीश भट्ट र महेश महर्जनले नेपाली महिला भलिबल टोलीलाई प्रशिक्षण दिइरहनुभएको छ। यसपालि नेपालमै साग हुने भएकाले पनि प्रशिक्षक भट्टले स्वर्ण जित्ने लक्ष्य लिनुभएको छ। गत संस्करण १२औं साग भारतको गुवाहाटीमा भएको थियो। जसमा नेपाली टोलीले कांस्य पदक जितेको थियो। यसपटक नेपालको मुख्य प्रतिस्पर्धा भनेको भारतसँगै हुने सम्भावना छ। यसैले पनि प्रशिक्षक भट्ट स्वर्ण दिलाउन निकै मेहनत गरिरहनुभएको छ।

प्रशिक्षक भट्ट भन्नुहुन्छ– ‘गत संस्करणमा हाम्रो टोली श्रीलंकालाई हराएर तेस्रो भएको थियो। पुरुषको दाँजोमा हेर्ने हो भने नेपाली महिला टोलीको स्वर्ण जित्ने सम्भावना बढी छ। हामीसँग खेलाडी एक से एक छन्। उनीहरूले मेहनत पनि गरिरहेका छन्। आफ्नै घरेलु कोर्टमा स्वर्ण जितिन्छ भन्ने विश्वास छ। पहिलो त स्वर्णका लागि हामी फाइनल पुग्नुपर्छ।’

प्रारम्भिक चरणमा २५ जना खेलाडीले प्रशिक्षण गरिरहेकोमा दोस्रो चरणका लागि १८ जना खेलाडी रहनेछन्। सात खेलाडी पहिलो चरणबाट बाहिरिने छन्। यसबाट अन्तिममा १२ खेलाडीको टोली सागका लागि छनोट हुनेछन्। यसैले पनि हरेक खेलाडी टोलीमा रहन आफ्नो फिटनेस र क्षमता प्रस्तुत गरिरहेका छन्।

प्रशिक्षक भट्टले प्रशिक्षण राम्रो भइरहेको भन्दै बताउनुभयो– ‘हामीले दुई सिफ्टमा प्रशिक्षण गरिरहेका छौं। साउनदेखि नै प्रशिक्षण शुरू भएको छ। हामीसँग करिब ४ महिनाको प्रशिक्षणको समय छ। यो भनेको प्रशिक्षणका लागि पर्याप्त समय हो।’

नेपाली महिला टोलीमा सेटरको भूमिकामा रहेका विनीता बुढाथोकी र कृपा अधिकारी यो टोलीमा छैनन्। उनीहरूको अनुपस्थितमा टोलीमा सेटरका लागि कमला पुन, जानकी भण्डारी, सरस्वती कट्टेल र अरूणा शाहीले सम्हाल्न पनि सक्ने छन्। यदि उनीहरू अन्तिम १२ टोलीमा अटाउँछन् भने यो सम्भव छ।
प्रशिक्षक भट्टले उनीहरूको सेटरसँगै ब्लकमा दक्षता भएको बताउनुहुन्छ। उहाँले भन्नुभयो– ‘यी चारैजनामा सेटरसँगै ब्लक गर्नेमा पनि क्षमता छ। ब्लकले पनि टोलीलाई अंक प्राप्त हुन्छ। दुबै विधामा उनीहरू सक्षम छन्। त्यसैले त्योभन्दा फाइदा अर्को के होला ?’
नेपाली महिला भलिबल टोलीको अन्तर्राष्ट्रिय खेल कमै भएको छ। टोलीले २०१५ देखि अहिलेसम्म दुईवटा खेल खेलेको थियो। २०१५ मा गुहावाटीमा र २०१७ मा मालदिभ्समा खेलेका थिए। प्रशिक्षक भट्टले यसबारे बताउनुभयो– ‘पछिल्ला वर्षमा राम्रो खेलेको छ। अन्तर्राष्ट्रियमा कम खेले पनि हाल प्रशिक्षण लिइरहेका खेलाडी सबै प्रतिभावान् छन्। त्यसैले पनि यसबाट बन्ने टोलीमा विश्वास छ कि हामी स्वर्ण जित्छौं भनेर।’
प्रारम्भिक चरणमा प्रशिक्षण लिइरहेकामा मात्र ५ खेलाडीसँग अन्तर्राष्ट्रिय खेलमा धेरै अनुभव छ। ती हुन् सरस्वती चौधरी, रेशमा भण्डारी, अरूणा शाही, कमला पुन र प्रतिभा माली। पुराना खेलाडी कम भएकाबारे प्रशिक्षक भट्टले स्पष्ट पार्नुभयो– ‘पुराना खेलाडीलाई छाडेको पनि होइन। यदि भविष्यमा एउटा होनहार बलियो टोली बनाउनु छ भने नयाँलाई मौका दिनुपर्छ। यो विकासको मूल आधार पनि हो। भविष्यमा राम्रो टोली बनाउन अनुभवलाई हेर्ने कि नयाँ प्रतिभा खोज्ने त्यो प्रमुख कुरा हो। यदि भविष्यमा एउटा सशक्त टोली बनाउने हो भने नयाँलाई मौका दिनुपर्छ नै। यसले फाइदा त खेललाई नै हुन्छ।’
फोटोः उज्जोल डंगोल

प्रतिक्रिया दिनुहोस्